नेपालगन्जमा रहेको कान्ति ताललाई ‘प्राकृतिक सिमसार’कै रुपमा रहन दिनुपर्ने पंक्षी विद्ले औल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालको प्राकृतिक अस्तित्व मेटाएर मोटर बोट चलाउने तयारी गरेपछि चौतर्फी रुपमा विरोध भइरहेको छ ।
नेपालगन्ज आई पुगेका पंक्षी विद्ले चिन्तित हुँदै यहाँ आश्रित स्थानीय, अति लोपोन्मुख र आगन्तुक चराको वासस्थान जोगाउन कान्ति ताललाई प्राकृतिक सिमसारकै रुपमा रहन दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । पंक्षी विद् रामबहादुर शाहीले बाँके र बर्दियामा रहेका प्राकृतिक सिमसार मध्ये कान्ति ताल सबैभन्दा राम्रो सिमसार क्षेत्र रहेको बताए ।
नेपालमा संरक्षित चरा मध्ये सारस प्रजातिको चरा पनि कान्ति तालमै पाइने भएकाले यो आफैमा महत्त्वपूर्ण सिमसार क्षेत्र रहेको उनले सुनाए । ‘कान्ति तालमा पुगेपछि हामीले तीन वटा सारस प्रत्यक्ष आँखाले देख्न पायौंं, यो एकदमै लोपोन्मुख प्रजातिको चरा हो, नेपाल सरकारले यसलाई संरक्षित सूचीमा राखेको छ,’ उनले भने ‘अफ्रिकाबाट आएको जुरे कोइली पनि कान्ति तालमै हामीले देख्यौँ ।’
उनका अनुसार तालमा सारससहित जल अप्सरा, हाँस लगायत विभिन्न प्रजातिका चराले आश्रय लिइरहेका छन् । तालमा कमलको फुलसहित विभिन्न प्रजातिका वनस्पति तथा जलचरको पनि राम्रो वासस्थान रहेको पाइएको पंक्षी विद् शाहीले सुनाए । उनका अनुसार तालमा सयौँ सङ्ख्यामा स्थानीय प्रजातिका चराको बसोबास पनि रहेको छ । यसका साथै जाडो र गर्मी याममा पनि विभिन्न देशबाट आगन्तुक चराहरू आउँछन् ।
प्रकृतिले वरदान दिएको यस्तो तालमा मोटर बोट चलाउनु चरा तथा जलचरहरूका लागि घातक भएको पंक्षी विद् शाहीले बताए । ‘मोटर बोट चलाएपछि जलचरहरूलाई असर गर्छ, पानीमा आउने पराकम्पनले उनीहरूको प्रजनन कार्यमा असर गर्छ, पानीलाई हलचल गर्न दिनु हुँदैन यसमा धेरै जीवजन्तु छन्, साना–साना जीवजन्तु छन्, यहाँ धेरै जीवजन्तु आश्रित छन्,’ उनले भने ।

उपमहानगरपालिकाले कुनै अनुसन्धान वा वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै ठेक्का दिएर मोटर बोट चलाउन दिन नहुने शाहीको तर्क छ । ‘तालमा झारहरू छ, प्रायः जसो चराहरू झारमा लुकेर बस्छन्, मोटर बोट चलाएपछि झारहरू सबै उखेलेर फाल्छन्, यो झारले पानीलाई धेरै दिनसम्म संचित गरेर राख्छ, झारले पानीलाई रिजर्भ गरेर राख्छ, झार नै भएन भने पानी छिट्टै सुक्छ र चराको वासस्थान नष्ट हुन्छ,’ उनले थपे ।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ८ सय ९५ प्रजातिका चराहरू पाइन्छन् । हिउँद महिनामा १ सय ५३ र गर्मी याममा ६२ प्रजातिका चरा आगन्तुक चरा देश बाहिरबाट आउँछन् । नेपाल पंक्षी संरक्षण संघका अभियन्ता हिरु डंगौरा प्राकृतिक सिमसार मासिँदै जाँदा नेपालभर सिमसारमा आश्रित चराहरू खतरामा रहेको बताउँछन् । आफूहरूले चराहरूको अनुसन्धान, खोज र चराहरूमा परेको अप्ठ्यारा र न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको उनले सुनाए ।
‘हरेक ठाउँको सिमसार क्षेत्र त्यतिकै महत्त्वपूर्ण हुन्छन्,’ उनले भने ‘कान्ति ताल त झन् नेपालगन्जको बिचमा अवस्थित छ, यहाँ कान्ति ताल हुनु नै महत्त्वपूर्ण कुरा हो, किनकि यहाँ विभिन्न प्रजातिका चरा छन् ।’ कान्ति तालमा डेढ घण्टा मात्रै बिताउँदा ३२ प्रजातिका चरा रेकर्ड भएको डंगौराले सुनाए । ‘यति सानो क्षेत्रमा ३२ प्रजातिका चराहरू डेढ घण्टामा रेकर्ड हुनु भनेको सानो कुरा होइन,’ डंगौराले भने ‘यहाँ धेरै सङ्ख्यामा जल अप्सरा चरा छ, साथै विश्वको दुर्लभ सारस प्रजातिको चरा पनि छ ।’ तालमा तीन प्रजातिको कमलको फुल पनि रहेको डंगौराले सुनाए । सिमसार क्षेत्र चराको लागि मात्र नभएर मानवसँग पनि प्रत्यक्ष रुपमा जोडिएको उनको भनाई छ ।
कान्ति ताललाई विकल्प दिएर ‘बर्ड पार्क’ वा ‘बर्ड वाचिङ साइड’का रुपमा पनि विकास गर्न सकिने उनको सुझाव छ । ‘सहरमा बस्नेहरू प्रकृतिसँग रमाउन चाहेका छन्, चरा हेर्न चाहेका छन्, हप्तामा एक दिन चरा हेराउने, त्यस्तो खालको क्रियाकलाप गर्यौँ भने एक खालको सिकाई अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिन्छ, स्कुल, प्लस टु, मन्टेश्वरीका भाइ बहिनीका लागि बाईलोजिकल, जिओलोजिकल पार्क, बाईडाइभरसिटी लर्निङ सेन्टरको रुपमा विकास गर्न सक्यौ भने त्यसबाट पनि स्थानीय सरकारलाई राम्रो आम्दानी प्राप्त हुन्छ,’ उनले भने ।

तालको अस्तित्व जोगाउन संरक्षणकर्मी अग्रसर
कान्ति तालको अस्तित्व जोगाउन यहाँका संरक्षणकर्मी तथा अभियन्ताहरू अग्रसर भएका छन् । उनीहरुले निरन्तर रूपले खबरदारी गर्दै तालमा कुनैपनि हालतमा मोटर बोट चलाउन नहुने र मोटर बोटको विकल्प खोज्नुपर्ने आग्रह गरिरहेका छन् ।
क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता डा. विनोद कर्णले कान्ति ताललाई सिमसार हो भनेर अब चिनाई राख्नु नपर्ने बताए । ‘कान्ति ताललाई जसले ठेक्कामा दिए, तिनीहरू नै दोषी हुन्, यिनीहरू नेपालगन्जको बारेमा सोच्ने मान्छे नै होइनन्,’ उनले भने ‘सिमसार क्षेत्रलाई जोगाउँदै गर्दा हामीले कसैको रोजगारी मास्न खोजेको होइन, सिमसार क्षेत्रलाई आड बनाएर कसैले आय–आर्जन गर्न खोज्छ भने त्यो पाइँदैन ।’ कान्ति ताल नेपालगन्जको मात्रै धरोहर नभएर विश्वको सम्पत्ति भएको डा. कर्णको दाबी छ । ‘यो ताल विदेशका आगन्तुक चराको वासस्थान बनेको छ, बरु यसलाई पर्यापर्यटनका रुपमा विकास गर्नुपर्छ, मोटर बोट चलाएरै सम्पूर्ण लगानी निस्किन्छ भन्ने छैन, ताललाई जोगाउने सबैको साझा कर्तव्य हो,’ उनले भने ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाही ‘प्रकृतिमैत्री पर्यापर्यटन प्रवद्र्धन’ गर्नलाई कान्ति ताल एकदमै योग्य ठाउँ रहेको बताउँछन् । डिभिजन वन कार्यालयले कान्ति ताल वरिपरिको पर्यावरणलाई अझ स्वस्थ बनाउन वृक्षारोपण लगायतका गतिविधि गर्दै आएको उनले सुनाए । संविधानले यस्ता सिमसार क्षेत्रलाई संरक्षण गर्ने जिम्मा तीनै तहका सरकारलाई दिएको बताउँदै भने, ‘कान्ति तालमा कुनैपनि पंक्षी आनन्दले घुम्न पाउँछन्, कान्ति ताल प्रकृतिमैत्री ताल हो, पर्यापर्यटनका हिसाबले एकदमै महत्त्वपूर्ण छ ।’ जिल्लामा रहेका कतिपय सिमसार मेटिँदै गएका बेला कान्ति ताललाई प्राकृतिक रूपमै सिमसारका रुपमा रहन दिनुपर्ने सहायक वन अधिकृत शाहीको सुझाव छ ।
फ्रेन्ड्स फर वाईल्ड लाईफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीले आगन्तुक चरा आएर बस्नलाई बाँकेमा कान्ति ताल बाहेक अरु कतै पनि सिमसार क्षेत्र नभएको बताए । ‘बाँकेका विभिन्न तालमा हामी गयौँ, बाँकेमा कान्ति ताल जस्तो ठुलो र यहाँ जतिको चरामैत्री वातावरण कहीँ कतै छैन,’ उनले भने ‘हामी प्रकृति प्रेमीले यहाँ मोटर बोट चल्नु हुन्न भन्दै आएका छौँ, किनभने यहाँ चराहरूले प्रजनन पनि गर्छन्, उनीहरूको वासस्थान मेटिन्छ ।’ ताललाई पर्यापर्यटनसँग जोडेर घुम्न जाने ठाउँका रुपमा विकास गर्न सकिने उनको सुझाव छ । उपमहानगरपालिकाले २०७८ सालमा स्थानीय ठेकेदारलाई माछा पालन लगायतका गतिविधि गर्ने प्रयोजनमा १० वर्षका लागि ठेक्का दिएको थियो । हरेक वर्ष माछा पालन गर्दै आएकोमा यस वर्ष भने मोटर बोट नै सञ्चालन गर्ने ठेकेदारको तयारी छ ।
प्रकाशित: ६ भाद्र २०८१ २०:१० बिहीबार





-600x400.jpg)