४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिममा आज गौरा एकादशी मनाइँदै

सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ। हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ। जुन गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नुपर्ने मान्यता रहेको छ।

गौरापर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ। गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता भएकाले नयाँ व्रतालुहरुले समेत आज उपासना गर्ने प्रचलन छ। गौरा एकादशीदेखि गौरा पर्व सुरुवात भएको मानिने ज्योतिष बासुदेव जोशीले जानकारी दिए।

त्यहीँ समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यस पर्व मनाउने परम्परा चल्दै आएको बासुदेवले बताए। श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ। सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको उनले बताए। 

यो एकादशीको महत्वका बारेमा देवकी र वासुदेवलाई लोमष ऋषिले सुनाएका प्रसंग पूराणहरुमा उल्लेख गरिएको छ। यो एकादशीको व्रत उपासना गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रही आएको छ। गौरा पर्वमा पनि सन्तान सुख र पारिवारिक कल्याणका लागि महिलाहरुले व्रत लिने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशी भनिएको छ।

हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व सुरु हुने गर्दछ। त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा व्रत बस्ने चलन रही आएको हो। भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ। यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ। यो बर्षको गौरा भदौ ७ गतेदेखि सुरु हुँदैछ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। 

प्रकाशित: ३२ श्रावण २०८१ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App