२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीलाई ठक्कर दिएर फरार लागूऔषध कारोबारी पक्राउ

सुरक्षा जाँचका क्रममा भागेका दुई युवा उदयपुर सदरमुकामबाट ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ६ जलजलेस्थित ढाटमा नियमित चेकजाँच गर्न खोज्दा प्रहरीलाई नै ठक्कर दिएर भागेका उनीहरु ७ किलोमिटर टाढा पुगेपछि पक्राउ परेका हुन् ।  

आइतबार विहान लागूऔषध लिएर आईरहेको सुचनाका आधारमा खटेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले जलजलेमा चेकजाँच गर्न खोज्दा उनीहरु भागेका थिए । प्रहरी जनवान दीपक राईलाई ठक्कर दिइ भागेका उनीहरुलाई त्रियुगा नगरपालिका ११ चप्पनबाट नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट २ सय १ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको छ ।  

चेकिङबाट भागेका त्रियुगा नगरपालिका ११ का २७ वर्षीय चन्द्रबहादुर खत्री र त्रियुगा १० बोक्सेका २३ वर्षीय दीप मगर पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फेनारगन ६७ एम्पुल, बुप्रेनोर्फिन ६७ र डाइजेपाम ६७ गरी २ सय १ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए ।  

उनीहरुको साथबाट प्रहरीले मोवाइल फोन २ थान र निजहरु सवार प्रदेश १–०५–००१ प १०५९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।  

प्रहरीले आइतबार नै विभिन्न आरोपमा फरार थप ४ जना अभियुक्तलाई पनि पक्राउ गरेको छ । सार्वजनिक अपराध, कुटपिट र गाली बेइज्जत मुदामा अदालतबाट दोषी प्रमाणित भए पनि भाग्दै आएका ४ अभियुक्त पक्राउ परेको डिएसपी चापागाईले बताए ।  

प्रकाशित: २० श्रावण २०८१ १८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App