२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटना भएको झण्डै आधा घण्टासम्म सौर्यको विमान बलिरह्यो...

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एरलाइन्सको विमान दुर्घटनामा पर्यो।

पोखराका लागि उडेको उक्त जहाज रनवे छोडेको केही सेकेन्डमा नै पुनः जमिनमा बजारिन पुग्यो। जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको थियो। 

नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज काठमाडौंबाट बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रन वेको पूर्वतिर रहेको खाली ठाउँनमा दुर्घटना भयो। जहाज त्रिभुवन विमानस्थलको परिषर् भित्रै बजारिन पुगेको थियो।

यो पनि पढ्नुहोस्

सौर्य विमान दुर्घटनामा एकै परिवारका तीन जनाले ज्यान गुमाए

दुर्घटनामा १८ जनाले ज्यान गुमाए। क्याप्टेन (पाइलट) मनिषरत्न शाक्यको उपचार भइरहेको छ।  मृत्यु हुनेमा एक जना यमन नागरिक रहेको प्रहरीले जनाएको छ। सो घटनामा १० वर्षका बालकसहित १७ जना पुरुष र एक जना महिलाको मृत्यु भयो।

घाइते क्याप्टेन शाक्यको काठमाडौंमै रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ। बोल्न सक्ने अवस्थामा रहेका शाक्यको अहिले आइसीयुमा राखेर उपचार भइरहेको छ। उनको आँखा र टाउकोमा चोट लागेको छ। मेरुदण्डको शल्यक्रिया भएको छ। टाउकोमा टाँचा लगाइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार, विमान दुर्घटना हुनासाथ अग्नि नियन्त्रण तथा खोज तथा उद्धारका लागि विमानस्थबाट दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको थियो।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो।

बिहान ११ः१५ मा दुर्घटनको खबर पाएको प्रहरीले ११ः३४ मा क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई सकुशल उद्धार गर्न सफल भएको थियो। उद्धार लगत्तै प्रहरीले उनलाई उपचारका लागि विमानस्थलको सबैभन्दा नजिक रहेको काठमाडौं मेडिकल कलेज पठाएको थियो। शरिर पनि नजलेको अवस्थामा उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा थिए।

बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो। आगो नियन्त्रणका लागि प्रहरी लागेपनि आगो आधा घण्टापछि मात्र नियन्त्रणमा आएको देखिन्छ।

समयमै आगो नियन्त्रण गर्न नसक्दा क्याम्टेन शाक्यबाहेक अन्यको जीवितै उद्धार गर्न नसकिएको देखिन्छ।

यो पनि पढ्नुहोस्

सौर्य एयरलाइन्स विमान दुर्घटनाः क्याप्टेन जोगिए, बाँकी १८ ले ज्यान गुमाए (नामावलीसहित)

प्रहरीका अनुसार उद्धार टोलीले जलेको विमानबाट १२ः३० मा तीन जना गम्भीर अवस्थामा रहेका व्यक्तिहरु निकालेको थियो। गम्भीर अवस्थामा रहेका उनीहरुलाई उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल पठाएको थियो। तर १२ः३९ मा उनीहरु सबैलाई चिकित्सकले मृत घोषणा गरे।

त्यस्तै अन्य १५ जनाको शव भने उद्धार टोलीले घटनास्थलबाटै १२ः४५ मा संकलन गरेको थियो। १५ सहित सबै १८ जनाकै शव त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्रै मृतकका आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ। अहिले शवको पोस्टमार्टम भइरहेको छ।

विमान दुर्घटनापछि भने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थल पुगेका छन्। उनले विमान दुर्घटनास्थलको अनुगमन समेत गरेका छन्। त्यस्तै गृहमन्त्री रमेश लेखक पनि विमान दुर्घटनास्थल पुगेका थिए। 

यो पनि पढ्नुहोस्

सौर्य एयरलाइन्सको विमान दुर्घटना (तस्बिरहरू)

प्रकाशित: ९ श्रावण २०८१ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App