२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भत्ता लिन बैंक गएकी वृद्धाको खोलाले लियाे ज्यान

सामाजिक सुरक्षा भत्ता लिन गएकी एक वृद्धाको खोलाले बगाएर मृत्यु भएको छ। जिल्लाको पहाडी गाउँपालिका ताप्ली-१ ओख्ले मादलेकी ७१ वर्षीया पूर्णमाया राईको यारी खोलाले बगाएर मृत्यु भएको हो।

ताप्ली-१ का वडाध्यक्ष उद्धव हमालका अनुसार भत्ता लिन गाउँपालिका केन्द्र रुपाटार जाने क्रममा यारी खोलाले बगाएर उनको मृत्यु भएको हो। सोमबार घरबाट पैदलै रुपाटार हिडेकी राई साँझसम्म नफर्केपछि खोजी गर्दा मंगलबार मृत फेला परेकी हुन्।

गाउँपालिका केन्द्र रुपाटार र मादलेबीच बग्ने यारी खोलामा आएको बाढीकै कारण बगेर वृद्धाको निधन भएको वडाध्यक्ष हमालले बताए।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्तावापतको रकम गाउँपालिकाले रुपाटारस्थित बैँकमा निकासा गर्ने गरेको छ।

रकम जम्मा भएको खवर सुनेर घरबाट पैदलै गएकी राईको शव मंगलबार दिउँसो खोजी गर्ने क्रममा भेटिएको हो।

यस्तै,वृद्धाको शव वडा नं. ५ मा फेला परेकाले प्रहरी चौकी रुपाटारमार्फत वडा कार्यालयले नै घटनाको सर्जमिन मुचुल्का गरी पोष्टमार्टम गर्न अस्पताल पठाएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

इप्रका प्रमुख डिएसपी सुवास राईका अनुसार वृद्धाको शव कटारी अस्पतालमा पोष्टमार्टम गरी बुधबार साँझ आफन्तलाई बुझाइएको छ।

राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता बैँकमा लिन जाँदा वृद्धाले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले यस्तो झन्झटिलो व्यवस्था हटाएर सहज बनाउनुपर्ने माग गरेका छन्।

हिडडुल गर्न नसक्ने वृद्धवृद्धा, अपाङ्गता र अशक्तहरुलाई वृद्धभत्ता गाउँघरमै लगेर वितरण गर्नुपर्ने भन्दै स्थानीयले त्यसो गर्न नसके पनि वडा कार्यालयसम्म पुगेर दिनुपर्ने माग गरे।

‘सकेसम्म घरघर लगेर भत्ता वितरण गर्नुपर्ने हो, त्यसो गर्न नसके वडा कार्यालयसम्म लगेर दिए पनि हुन्छ’ एक स्थानीयले गुनासो गरे ‘बैँकमा जम्मा गरिदिएको पैसा लिन बुढाबुढी, अपाङ्गता र अशक्तलाई कति गाह्रो हुन्छ। त्यसमाथि वर्षायाममा पैदल हिड्नु पर्दा यसरी ज्यानै गुमाउनुपर्‍यो।’  

प्रकाशित: ५ श्रावण २०८१ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App