१५ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

निवृत्तिभरण नपाउँदा उपचार अभावमा गयो उदयपुर सिमेन्टका कर्मचारीको ज्यान

२७ वर्षको लक्का जवान हुँदा उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको कर्मचारी भएर छिरेका थिए अशोक चौधरी। नेपालकै पहिलो पूर्ण सरकारी स्वामित्वको उसिउलिमा सहायकस्तर पाँचौँ तह (प्राविधिक) को रुपमा ०४९ सालमा सेवा प्रारम्भ गरेका सप्तरी सुरुङ्गा नगरपालिकाका चौधरीले उमेर हदका कारण ०८० वैशाखमा अनिवार्य अवकाश पाए।

३१ वर्ष लामो जागिरे जीवनमा उनी बढुवा हुँदै आठौँ तहको इन्जिनियरको रुपमा सेवा गर्दै अनिवार्य अवकाश पाउँदा विभागीय प्रमुख समेतको जिम्मेवारीमा थिए। जागिर छाडेको एक महिनापछि नै उनलाई रोगले च्याप्यो। पेटसम्बन्धी रोगले ढलेपछि उनी उपचारार्थ जिल्ला अस्पताल गाईघाट पुगे। त्यहाँबाट विराटनगर हुँदै काठमाडौंसम्म गए। केएमसी अस्पतालमा उपचारकै क्रममा ०८० साउनमा उनको इहलीला समाप्त भयो।

अस्पतालले प्याङक्रियाजको बिरामी भएको प्रमाणित गरेपछि उनले उपचार गर्न थाल्दा पैसा अभाव भयो। तीन दशकसम्म जागिर खाएर ‘रिटायर्ड लाइफ’ मा उपचार गर्न चाहिने रकम निवृत्तिभरण (उपदान) बाट टर्ने ठूलो भरोसा उनमा थियो। तर, उपदानबापतको सेवा सुविधा उद्योगले बेलामा नदिँदा उपचार खर्च अभावकै कारण ज्यान गुमाउनु परेको उनका भाइ मनोज बताउँछन्।

उद्योगमै छैठौँतहका इन्जिनियर रहेका मनोजका अनुसार "दाजुको उपचारमा लाखौँ खर्च लाग्ने भयो, तर पाउनुपर्ने सेवा सुविधा उद्योगले दिएन। उपदानबापतको रकम कम्तीमा ६० लाखभन्दा बढी नै पाउनुपर्ने भए पनि समयमा नपाउँदा दाजुले अल्पायुमै ज्यान गुमाउनु पर्‍यो।" मनोजले गुनासो पोखे।

विगत तीन वर्षयता टाट पल्टेको उद्योगले बहालवाला कर्मचारीको तलब भत्तासमेत नियमित दिन नसकिरहेका बेला सेवानिवृत्त कर्मचारीलाई उपदान दिने आसा गर्नु पनि निरर्थक हुँदै गएको छ। पूर्व कर्मचारी अशोक त्यही नियतिको सिकार हुन पुगेको समकक्षी कर्मचारीहरू बताउँछन्।

सुरुमै स्थायी कर्मचारीको रुपमा छिरेका अशोकले आठौँ तहको अवकाश प्राप्त कर्मचारीले पाउनुपर्ने रकम लाखौँ छ। तर, बिरामी हुँदा उपचार गर्नसम्म नपाएर जीवन गुमाउनुले तीन दशकसम्म सेवा गरेको कुनै अर्थ नरहेको उनका सहकर्मी रामबहादुर जिसी बताउँछन्।

गत वर्ष आठौँतहबाटै स्वैच्छिक अवकाश लिएका जिसीका अनुसार पूर्व कर्मचारीहरुले पाउनुपर्ने निवृत्तिभरणको रकम उद्योगले करोडौँ दिनुपर्ने दायित्व पालेर राखेको छ। विगत तीन वर्षअघिदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाएका र स्वैच्छिक जागिर छाडेका गरी ६३ कर्मचारीले निवृत्तिभरण पाएका छैनन्।

उनीहरूमध्य अशोक चौधरीको निधन भइसकेको छ भने पाँच जना गम्भीर रोगका बिरामीसमेत रहेको जिसीले बताए। उनका अनुसार कसैलाई मुटु रोग छ भने कोही मधुमेह (सुगर), पक्षाघात (प्यारालाइसिस) र मिर्गौला (किड्नी फेलियर) पीडितहरू छन्।

आठौँतहबाट जागिर छाडेका राजेश्वर कानु पक्षाघात पीडित भएर ओछ्यानमा पल्टिइरहनु परेको छ भने जागिरमा छदै पक्षाघातको सिकार भएर थलिएका अर्का पूर्व कर्मचारी देवलाल लामा पाँचौतहका पूर्व कर्मचारी नियमित उपचारमा छन्।

छैठौँतहबाट अवकाश लिएका सागिर अहमद मुटु रोगले ग्रस्त छन्। पाँचौतहबाट बिदा भएका नेत्र आचार्य मिर्गौला रोगी भएकाले नियमित डाईलाइसिसमा छन्।

उद्योगमै उमेर र बल बैँस बिताएका यी दीर्घरोगी पूर्व कर्मचारीहरुलाई उपदानबापतको सेवा सुविधा पाए उपचार गरेर स्वास्थ्य जीवन ज्युने  चाहना छ। तर, उद्योगबाट कहिले पाइन्छ भन्ने कुनै ग्यारेन्टी छैन न त स्वामित्व लिने सरकार नै यसबारे केही बोल्छ।

‘लक्का जवानदेखि बुढेसकालसम्म यतिका वर्ष सेवा गरियो, सम्पूर्ण जीवन खर्लप्पै उद्योगलाई चढाइयो’ मिर्गौला पीडित नेत्र आचार्यले भने ‘तर, अहिले बुढेसकालमा उपचार गर्ने खर्चसम्म नपाउँदा कसको मन नरोला ?’

यति धेरै पूर्व कर्मचारीले पाउनुपर्ने सेवा सुविधा तीन वर्षसम्म नपाएपछि महिना दिनअघि ‘पूर्व कर्मचारी पीडित सङ्घर्ष समिति’ गठन गरेर आन्दोलन थालेका छन्। जागिर छाडेको लामो समयसम्म उपदानबापत सेवा सुविधा नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक जगरनाथ चौधरीले बताए। उनीहरुले पटकपटक उद्योग व्यवस्थापन र सम्बन्धित पक्षलाई ज्ञापन पत्र र मौखिक आग्रह गर्दा पनि चासो नदिएपछि आन्दोलनमा उत्रनु परेको बताएका छन्।

उद्योगका निमित्त महाप्रबन्धक (जिएम) महेश साहले सेवानिवृत्त ६३ कर्मचारीको उपदान दिन बाँकी रहेको पुष्टि गरे। उनका अनुसार उद्योग नियमावलीले अवकाश पाएको १५ दिनभित्र पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा दिनुपर्ने व्यवस्था गरेको छ। तर, उद्योग टाट पल्टेका कारण बहालवाला कर्मचारीकै तलबभत्ता दिन नसकिरहेको अवस्थाले उपदान दिने कुरा धेरै परको कुरा रहेको साहले बताए।

निमित्त जिएम साहले सरकारी स्वामित्वको उद्योग भएकाले उद्योग सञ्चालक समिति (बोर्ड) बैठकले उद्योग मन्त्रालयमा रकम माग गरेको र सो माग उद्योग मन्त्रालयले अर्थ मन्त्रालय पठाएको बताएका छन्।

साहका अनुसार सेवानिवृत्त कर्मचारीहरू श्रेणीविहीनदेखि अधिकृत स्तर १० औँसम्मका रहेका छन्। जसका लागि उद्योगले कम्तीमा ३३ देखि ४० करोड हाराहारी उपदानबापतको रकम भुक्तानी गर्नुपर्ने दायित्व छ। श्रेणीविहीनलाई १० लाखदेखि, सहायस्तरलाई १० देखि ३० लाख, अधिकृतस्तरलाई ३० देखि ८० लाखसम्म उपदान भुक्तानी दिनुपर्ने दायित्व उद्योगलाई रहेको बताइएको छ।

सबैभन्दा माथिल्लो स्तरका उमाकान्त साह र विजय ठाकुर १० औँतहबाट गत वर्ष स्वैच्छिक अवकाश लिएका अधिकृतहरू हुन्। नवौँ, आठौँ, सातौँ र छैठौँतहका २ दर्जन बढी छन् भने बाँकी अवकाश लिनेहरु सहायकस्तर र श्रेणीविहीन कर्मचारी उपदान नपाएर छट्पटिरहेका छन्। कम्तीमा तीन दशकदेखि बढी सेवा गरेका पूर्व कर्मचारीहरू स्वास्थ्य उपचार र परिवार चलाउन पनि पाउनुपर्ने सेवा सुविधा छिट्टै पाए हुन्थ्यो भन्ने चाहनामा छन्।

निवृत्तिभरणको माग गर्दै आन्दोलित उदयपुर सिमेन्ट उद्योगका पूर्व कर्मचारीहरू। तस्बिर महेश्वर 

प्रकाशित: ३ श्रावण २०८१ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App