२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले पायो तीव्रता

चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको काम पुनः सुरु गरिएको छ। सङ्घीय, प्रदेश र स्थानीय तहले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा निर्माण कार्यलाई पुनः सुरु गरिएको हो।

भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रगंशाला निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको छ। अहिले निर्माण कम्पनीले दुई हप्तादेखि फिल्ड स्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद प्रसाद पौडेलले जानकारी दिए।

‘क्रिकेट रंगशाला निर्माणको काम तीव्र गतिमा अगाडी बढेको छ। अहिले प्यारापिटमा ढुङ्गा सोलिङ, मैदानमा माटो काट्ने, झाडी फाड्ने काम भइरहेको छ’, पौडेलले भने, ‘काम समयमै सक्नका लागि महानगरको चार जनाको प्राविधिक टोली कार्यस्थलमै अफिस राखेर बसेका छन्।’ अहिलेको गतिमा काम भए समयमा सक्ने उनको दाबी छ।

पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माणको काम फेरि सुरु गर्न लागिएको हो। तीन वर्षदेखि अलपत्र चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण नयाँ ढंगले अघि बढ्न लागेको छ।

निर्माण कम्पनी र महानगरले संयुक्तरुपमा स्थलगत निरीक्षण गरेपछि साउन २२ गतेदेखि निर्माण कम्पनीले काम थालेको थियो। सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्ने गरी निर्माण कार्यलाई अगाडि बढाइएको थालिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका प्रोजेक्ट हेड विजय ढकालले जानकारी दिए। उनका अनुसार अहिले फिल्डमा २ सय ५० जना कामदार खटिएका छन्।

पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज, २ वटा समान ३÷३ तलाको टावर बनाइनेछ। एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन्। दुवैतर्फ १५ हजार क्षमताको प्यारापिट निर्माण गरिने ढकालले जानकारी दिए। ‘हामीले दुई वटा टावरको निर्माणका लागि पानी फाल्ने काम गरिरहेका छौँ। प्याराफिटमा सोलिङ र माटो झिक्ने काम गरेका छौँ’, उनले भने ‘महानगरपालिकाले गुणस्तर परीक्षण र आवश्यक डिजाइन उपलब्ध गराएमा निर्माणको काम छिटो सक्छौँ।’

धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। अब भने पहिलो चरणमा १५ हजार क्षमताको बन्नेछ। फाउन्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो। अहिले भने नयाँ प्रविधिको प्रयोग गरी ५ वटा पिचसहितको मैदान बनाउन लागिएको छ। नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उनले बताए।

महानगरपालिकाले भ्याट र पीएससहित ७८ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा ठेक्का दिएको छ।  रंगशालामा हालसम्म धुर्मुस सुन्तली फान्डेसनले करिब ५ हजार दर्शक क्षमताको प्यारापेट बनाइसकेको छ। टावर १ को फुटिङको डन्डी बिछ्याउने काम सकिएको छ। टावर २ को खाल्डो खनेर छोडिएको छ। ड्रेनेजको काम सकिएर ढक्कन बिछ्याउने काम मात्रै बाँकी छ। अब १० हजार क्षमताको प्याराफिट निर्माण गर्ने ढकालले बताए।

फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको बताएको थियो। बजेट अभावका कारण पहिलो चरणमा खेल्न मिल्ने मैदान निर्माण गर्न लागिएको महानगरले बताएको छ। महानगरपालिकाको यस परियोजनालाई समापन्न गर्न अर्को चरणमा बजेट विनियोजन गर्दै जाने योजना छ।

सहयोग जुटाएर निर्माण गर्न लागेको रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले बजेट अभाव भएपछि काम रोकेको थियो। अहिले पनि रङ्गशालाको ऋण १२ करोड रहेको बताइएको छ। कानुनी प्रक्रियाको कारण फाण्डेशनले बजेट पाएको छैन। यसअघि सङ्घीय सरकारले ऋण तिर्नको लागि १२ करोड विनियोजन गरेपनि कानुनी प्रकृया अनुसार तिर्न नमिलेपछि रकम फिर्ता गएको थियो।  

त्यहाँ प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ। अहिलेसम्म ५४ करोड खर्च भएको फाउण्डेशनले महानगरपालिकालाई हस्तान्तरण गरेको कागजमा उल्लेख गरिएको छ। ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले तीन बर्ष अघि काम काम रोकेका थिए। २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि बढेको थियो। सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि रंगशाला निर्माणको काम अलपत्र थियो।

रंगशाला निर्माणका काम आगडि बढे पनि अझै जग्गा रङ्गशालाको नाममा छैन। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर–१५मा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण हुन लागेको हो। 

प्रकाशित: १३ भाद्र २०८१ १६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App