२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा नारी उत्सव सुरु

मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिको आयोजनामा विराटनगरमा तीन दिने नारी उत्सव सुरु भएको छ। सिटी प्यालेसमा आयोजना गरिएको नारी उत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले महिलाहरूलाई उद्यम गर्न प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको बताए। उनले महिलाहरू उद्यममा लागे चाँडै देशको आर्थिक विकास हुने धारणा राखे।

मुख्यमन्त्री कार्कीले महिलाहरूलाई उद्यममा प्रेरित गर्ने नीतिगत व्यवस्था प्रदेश सरकारले गर्ने पनि आश्वासन दिए। उनले उत्कृष्ट काम गर्ने महिला उद्यमीहरूलाई प्रदेश सरकारले पुरस्कृत पनि गर्न थालेको जानकारी दिए। प्रदेश सरकारले १४ वटै जिल्लाका महिला उद्यमीहरूलाई पुरस्कृत गरेको र उक्त कार्यक्रमलाई निरन्तरता दिने पनि बताए।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले महिलाहरूलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताइन्। उनले विराटनगर महानगरपालिकाले पनि महिलाहरूलाई लक्षित गरी स्टार्टअप कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्।

हाल ८ जना महिला उद्यमीहरूलाई स्टार्टअप कार्यक्रम मार्फत व्यवसाय विस्तारमा सहयोग पुर्‍याएको उपमेयर कार्कीले सुनाइन्।

महिला उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नारी उत्सवमा महिला उद्यमीहरूका ६० वटा स्टलहरू राखिएका छन्।

उत्सवमा शृङ्गारका सामाग्री देखि दैनिक उपभोग्य बस्तुहरूसमेत उपलब्ध रहेको छ। मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिका संयोजक महिला उद्यमी श्रुति शर्माले तीज पर्वका लागि चाहिने आवश्यक सामग्री एकै थलोबाट किनमेल गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ नारी उत्सवको आयोजना गरिएको जानकारी दिइन्।

उनले नारी उत्सवले महिलाहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको धारणा राखिन्।

नारी उत्सवमा एसी र नन एसी गरी ६० स्टल रहेका छन्। जसमध्ये ४० स्टलबाट लत्ताकपडा, कस्मेटिक सामग्री सहित चाँदीका गहना बिक्री भइरहेका छन्। नारी उत्सवमा खानाका १० र कृषिका १० स्टल रहेका छन्।

नारी उत्सव भदौ १६ गते सम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मिस नेपाल आश्माकुमारी केसी, मिस अर्थ सुमना केसीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १४ भाद्र २०८१ २०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App