२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित

नेकपा एकीकृत समाजवादी पार्टी बागलुङ नेकपा एमालेमा समाहित भएको छ। नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा पदाधिकारी सहित सिंगो जिल्ला समिति नेकपा एमालेमा समाहित भएको हो।

हिजोको दिनमा गलत नेतृत्वलाई विश्वास गर्न पुगेका कारण आफूहरू अहिले एमालेमै समाहित भएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए।

‘हिजोमा दिनमा हामीले जुन उद्देश्यका लागि विद्रोहको झण्डा उठाएका थियौं, जुन नेतृत्वमाथि विश्वास गरेका थियौं,’ उनले भने, ‘त्यो नेतृत्वले हामीले अपेक्षा गरे अनुसार अगाडि बढ्न सकेन। पार्टी नेतृत्व नै सङ्कीर्णतामा रमाउन थालेपछि हामीले नेतृत्व होइन पार्टी रोज्ने निर्णय गर्‍यौं। एमालेमा हामीले रगत पसिना बगाएका थियौं। त्यसैमा संघर्ष गर्ने र एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्नेछौं।’ पाँच बुँदे सहमति गर्दै एमाले र समाजवादी पार्टी समायोजन भएका हुन्।

एकीकृत समाजवादीका जिल्ला समिति र मातहतका सबै समिति नेकपा एमालेमा समाहित हुने, नेकपा समाजवादीका विभिन्न तहमा रहेका नेताहरुलाई विधानको परिधिमा रहेर पूर्ववत् जिम्मेवारीमा पुनस्थापित गर्ने, नयाँ जिम्मेवारी दिनुपर्नेलाई योग्यता र मापदण्डको आधारमा जिम्मेवारी दिने सम्झौता भएको छ।

पार्टीका नेता कार्यकर्ताहरूको व्यवस्थापनका लागि नेकपा एमालेबाट मनकुमारी केसी, डा. सूर्य पाठक, इन्द्रलाल सापकोटा, हिराबहादुर केसी, गणेश थापा र नेकपा समाजवादीको तर्फबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल निर्माण गरिएको छ।

समायोजन प्रक्रियामा हिजो मात्रै नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा पराजित श्रीप्रसाद शर्मा पनि एमालेमा समायोजन भएका छन्।

नेतृत्वको अकर्मण्यता र गुटगत मानसिकताले गर्दा आफूहरू एमालेमै फर्किने निष्कर्षमा पुगेको उनी सुनाउँछन्। ‘म हिजो पोलिटब्युरो सदस्यको उम्मेदवार थिएँ, आज यता देख्दा २४ घण्टामै कसरी भन्ने पनि भयो होला,’ उनले भने, ‘हामीले यो प्रक्रियाका लागि लामै समय खर्च गरेका छौं। हामीले बलियो कम्युनिष्ट शक्ति बनाउने अभियानका साथ पार्टी गठन गरेका थियौं। त्यसमा नेतृत्वले अग्रसरता देखाएन। म समाजवादीको पोलिटब्युरो सदस्य निर्वाचित भएको भए पनि आज यसैगरी समायोजन प्रक्रियामा सहभागी हुने थिएँ। त्यहाँ पराजित भएकै कारण यो भएको होइन।’

पार्टी समायोजन कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले समायोजन प्रक्रियाबाट आएका सबैलाई उचित जिम्मेवारी प्रदान गर्ने बताए।

‘नदी बग्दै गर्दा भँगालो छुट्नु स्वाभाविक हो,’ उनले भने, ‘छुटेपछि फेरि भेट भएको छ। अब आएका साथीहरूलाई उचित जिम्मेवारी प्रदान हुन्छ।’ गठबन्धन सरकारको नेतृत्व गरिरहेको र देश निर्माणको अभिभारा एमालेको काँधमा रहेको उनले सुनाए।

‘अहिले विभिन्न समस्याहरू उठिरहेका छन्, तिनीहरूको समाधान गर्ने जिम्मा एमालेकै काँधमा छ,’ उनी भन्छन्, ‘आगामी चुनावमा एकल बहुमतको सरकार बनाउने गरी काम गर्ने र अहिलेका सबै समस्या समाधान गर्ने जिम्मा एमालेको हो।’

पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज मनकुमारी केसीले हिजो एउटै पार्टीमा काम गरेको र अब पनि एकै ठाउँ काम गर्ने सङ्कल्प गरिएको बताइन्। एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले वामपन्थी एकताका लागि बागलुङले राष्ट्रिय सन्देश दिएको बताए।

प्रकाशित: १३ भाद्र २०८१ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App