२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

पराजयपछि झाँक्रीले सम्झिइन कांग्रेस नेतृ, कांग्रेसमा आउन कार्यकर्ताको आह्वान

तस्बिर : रामकुमारी झाँक्रीको फेसबुक पेजबाट

नेकपा (एकीकृत समाजवादी)को बुधबार सम्पन्न पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएको चर्चा राजनीतिक बृत्तको चुलीमा छ । नेकपा एमालेमा विद्रोह गर्दै नयाँ पार्टी खोल्दा अध्यक्ष माधवकुमार नेपालको हात समात्दै मैदानमा ओर्लिएकी झाँक्री त्यतिबेला पनि चर्चाको शिखरमा थिइन् ।

अहिले शीर्ष नेताकै अनिच्छाले उनलाई हराइएको चर्चा राजनीतिक पण्डितहरूले गरिरहेका छन् । उनको हारसँग अनेक टिकाटिप्पणी पनि चलिरहेका छन् । कतिपयले पछिल्लो समय झाँक्री एमाले नेतासँग निकट भएको र विद्रोहको औचित्य पुष्टि गर्न नसके एकीकरणमा जानुपर्ने धारणा राखिरहेका कारण नेकपा एसका केन्द्रीय सदस्यले उनलाई नरुचाएका कारण पराजित भएको भन्ने टिप्पणी पनि गरिरहेका छन् ।

यस विषयमा स्वयम् झाँक्रीले भने अहिलेसम्म मुख खोलेकी छैनन् । बरु बुधबार साँझ नै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै निर्वाचित पदाधिकारीलाई वधाई दिँदै आफूलाई सहयोग गर्नेलाई धन्यवाद दिएकी छन् ।  

यसैबीचमा बिहीबार सामाजिक सञ्जाल(फेसबुक)मा झाँक्रीले एक पुरानो तस्बिर साथ देखिएकी छन् । जसमा उनले नेपाली कांग्रेसकी एक नेतृसँगको तस्बिर राखेकी छन् । उनी कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा हुन् । खतिवडासँगको तस्बिर राख्दै झाँक्रीले अग्रेजी लिपीमा ‘मिस यू हजुर’ भनेर लेखेकी छन् ।

जसको जवाफमा कांग्रेस नेतृ खतिवडाले साँझ भेट्ने वाचा गरेकी छन् । उनले ‘आज बेलुका उच्चस्तरीय वार्ता हुन्छ हजुर’ भनेकी छन् ।

दुबैजना मिल्ने साथी भएकाले यस्तो अभिव्यक्ति आएको निकटस्थहरूले जनाएका छन् ।तर, यो तस्बिरसहितको पोस्टमा कांग्रेस कार्यकर्ताले झाँक्रीलाई आफ्नो पार्टीमा आउन आग्रह नै गरिरहेका छन् ।  

सन्तोष पौडेल नामक व्यक्तिले झाँक्रीलाई राजनीतिक नेतृत्व लिएको देख्ने रहर रहेको बताउँदै लेखेका छन्, ‘तपाई लोकतान्त्रिक समाजवाद धारको व्यक्ति कम्युनिस्ट नीतिले अगाडि जान सक्नुहुन्न । खुट्टा तान्ने धेरैछन ।’

गणेशमान शाहले कांग्रेस नेतृ खतिवडालाई नै आग्रह गरेर ‘दिज्यु उहाँको राजनीतिक योगदान र क्षमताको उच्च मूल्याकंन हुने गरि पार्टीमा प्रवेश गराउनु प¥यो । उहाँलाई हार्दिक स्वागत छ’, भनेर लेखेका छन् ।  

कमेन्ट गर्नेहरूमध्ये अधिकांश कांग्रेस कार्यकर्ता र शुभेच्छुक देखिन्छन् । केही एमालेका कार्यकर्ता पनि छन्, जसले झाँक्रीलाई एमालेमा फर्कन सुझाव दिएका छन् । झाँक्रीको हारमा सहानुभूति देखाउनेहरू पनि कमेन्टमा देखिन्छन् ।

प्रकाशित: १३ भाद्र २०८१ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App