१२ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

सिमलताल दुर्घटना: कार्यदललाई दिए स्थानीयले सुझाव

चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलको वस्तुस्थिति बुझेर फर्किएको छ । बुधबार बिहान गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलको टोलीले स्थानीय, राजनीतिक दल, यातायात व्यवसायी र सुरक्षा निकायका प्रमुखहरूबाट सुझाव संकलन गरेर फर्किएको हो ।

उनीहरुले बिहान पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका थिए । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासंग सुझाव लिएको थियो । घटनाको अध्ययन गर्न चितवन आएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका छन् ।

‘यहाँका सुरक्षा निकायले सक्दो प्रयास गरेका छन् । तर, पानीमा खोज्ने प्रविधि यहाँ देखिएन,’ नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले भने ‘विपद्मा आवश्यक प्रविधि खरिद गर्न किन लागिएन ।’ उनले कार्यदल गठन नै ढिलो भएकोमा समेत असन्तुष्ट व्यक्त गरे । 

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले भारी वर्षा भएको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएर दुर्घटना न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने बताए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कृष्णप्रसाद भुसालले बर्सात सुरु भएसँगै सडकमा भएका नाली र कल्भर्टहरू सफा गर्न सुझाव दिए ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले सडकको भौगोलिक बनावटका कारण पटक पटक समस्या हुने गरेको बताए । २० किलोमिटर सडक ज्यादै जोखिम रहेको उनको भनाई छ । 

‘अहिले पहिरो गएको सिमलतालमा यसअघि हामीले पहिरोको जोखिम क्षेत्र मानेका थिएनौँ । त्यस्तै कालिखोला पनि जोखिम क्षेत्र थिएन । अहिले पहिरो गइरहेको छ,’ पौडेलले भने ‘अहिले गएको क्षेत्रमा पनि आठ ठाउँमा ड्याम बाँधिएको छ । स्थलगत रुपमा हेर्दा करिब नौ सय मिटर माथिबाट पहिरो खसेको देखिन्छ ।’ उनले यस सडक खण्ड ज्यादै जोखिम भएकाले विकल्प खोज्नुपर्ने बताए । ‘यति ठुलो क्षेत्रफलमा पहिरो रोकथाम गर्न अरबौँ अरब रुपैयाँ खर्च हुन्छ । त्यो सम्भव छैन,’ उनले भने ‘तीन वटा पहिरो रोकथाम गर्न त ५२ करोड रुपैयाँ लाग्ने देखिएको छ । यहाँ २० किलोमिटरभन्दा बढी क्षेत्रमा सम्भव छैन।’

खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले आफूहरूसँग भएको प्रविधिबाट अहिलेसम्म सवारी साधनको अवस्था जानकारी पाउन नसकेको बताए । घटनास्थलबाट घुमाउनेसम्म सवारी साधन नभेटिएको उनले बताए । 

शवहरू घटनास्थलबाट करिब एक सय सात किलोमिटर तलसम्म भेटिएका बताउँदै पौडेलले नदीको भौगोलिक अवस्थाका कारण हाल भएका प्रविधिले काम गर्न नसक्दा अपेक्षाकृत परिणाम दिन नसकिएको उल्लेख गरे । 

कार्यदलले सुझाव संकलन गरेर १० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने कार्यदलका संयोजक सहसचिव छवि रिजालले जानकारी दिए । उनले यसका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरेका छन् । यस्ता घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने घटनास्थलमा पुगेका सहसचिव रिजालले बताए । ‘आगामी दिनहरूमा यस्ता खालका घटनाहरू के गर्दा दोहोरिँदैन, कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि हामी हेर्छौ,’ उनले भने। 

गत असार २८ गते वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। जसमध्ये १८ जनाको शव फेला परेको छ । फेला परेका मध्ये १४ जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । सनाखत हुनेमा चार जना भारतीय नागरिक रहेका छन् । 

प्रकाशित: २ श्रावण २०८१ २०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App