१० भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

जंगलबाट बेवारिसे भेटिएका वृद्धको उद्धार

बेवारिसे अवस्थामा मोरङ बेलबारी चारकोसे झाडीमा फेला परेका वृद्धको उद्धार गरिएको छ।

वन हेरालुहरुले मंगलबार बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका वृद्धको उद्धार गरेका हुन्।

उद्धार गरिएका वृद्ध ७० वर्षीय जामुनलाल झांगड रहेको मोरङ प्रहरीले जनाएको छ। वृद्ध झाँगड कसरी बीच जंगलमा आइपुगे भन्ने यकिनसाथ भन्न नसकेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार उद्धार गरिएका वृद्धले भनेको आफ्नो नामसमेत त्यही हो भन्ने यकिन छैन। वनका पदाधिकारीले प्रहरीलाई वृद्ध जंगलको बीच भागमा फेला परेको खबर गरेको बताउँदै, एसपी कार्कीले भने, ‘तत्काल प्रहरी त्यहाँ पुगेर साझेदारी वनका पदाधिकारीसँगको समन्वयमा वृद्धलाई बेलाबारी नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनको अहिले अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।’

अस्पतालमा उपचार गराइरहेका वृद्धले भनेको आफ्नो वतनका वडाध्यक्ष र गाउँ टोलमा प्रहरी गएर फोटो देखाएर सोधखोज गरेको बताउँदै, एसपी कार्कीले भने, ‘त्यस क्षेत्रका टोल–टोलमा प्रहरी फोटो लिएर गई सोधखोज गर्दा कसैले पनि यहाँको हो भन्न सकेका छैन। वन क्षेत्र नजिक रहेको बाहुनीतिर पहिले वृद्ध विभिन्न व्यक्तिका घरमा काम सहयोग गर्ने र त्यहीँ खाने बस्ने गर्ने गरेको खुले पनि वास्तविक घर कहाँ, परिवारको अवस्था बोरे केही खुल्न सकेको छैन। वृद्धले भनेका सबै स्थानमा प्रहरी परिचालन गरी परिवार पत्ता लगाउने काम भइरहेको छ’

बेलबारीका स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वृद्धको परिवार खोजतलासका लागि खोजतलास ब्युरो, सबै प्रदेश र सबै प्रहरी युनिटमा फोटोसहित खोजी कार्य गर्नका लागि पत्र पठाएका छौ, एसपी कार्कीले भने।

उनका अनुसार कसले, कहाँबाट, कसरी वन क्षेत्रको बीच भागमा ल्याएर छाडे भन्ने अनुसन्धान थालेको बताए। ४ दिन अघि जंगलमा छोराबुहारीले ल्याएर छाडिएको वृद्धले बताएको बताउँदै, वन समितिका अध्यक्ष दिनेश गिरीले भने, ‘त्यहाँबाट उद्धार गरेर वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ।

वन क्षेत्र निगरानीमा गएका साथीहरूले भेटेपछि खबर गरेका थिए। वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्दैनन्।’

प्रकाशित: १ श्रावण २०८१ २०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App