२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङलिङमा

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङलिङमा हुने भएका छन् । फुङलिङ जिल्लाभरमै सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो । 

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा अहिले ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र कायम भएका छन् । २०७९ को निर्वाचनपछि ताप्लेजुङमा ५ मतदान स्थल थप भएका छन् । श्रेष्ठका अनुसार फुङलिङ नगरपालिकामा २१,फक्ताङलुङ गाउँपालिकामा १७ र सिरिजङ्गा गाउँपालिकामा १६ मतदान केन्द्र कायम भएका छन् । 

यस्तै पाथीभरा याङवरक गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा १३–१३ वटा,आठराई त्रिबेणी गाउँपालिका,मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा समान १२–१२ वटा र मेरिङदेन गाउँपालिकामा ११ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ताप्लेजुङमा ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला गरी कुल ९० हजार ३ सय २७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल(विपिन)ले जानकारी दिए ।

यी हुन् सबैभन्दा बढी र कम मतदाता भएका तीन–तीन वटा वडा

जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा सबैभन्दा बढी मतदाता भएको वडा फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा हो । हाङदेवमा २ हजार ८ सय ५५ मतदाता देखिएका छन् । 

पाथीभरा याङवरक गाउँपालिका वडा नं १ नाङखोल्याङमा २ हजार ५ सय ९९ र आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा २ हजार ५ सय ७६ मतदाता कायम भएका छन् । यस्तै सबैभन्दा कम मतदाता फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा ३ सय ५५ जना रहेका छन् । 

त्यसपछिको कम मतदाता सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलामा ५ सय ३ जना र सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा ६ सय ५१ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित: १४ पुस २०८२ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App