२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

शव मात्र भेटिए पनि हुन्थ्यो

रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे। घरीघरी रुखको छेउमा आउँदै घाँटीमा भिरेको पछ्यौराले आँसु पुछिरहन्थे।

छोराको खोजीमा तीन दिनअघि नारायणगढ–मुग्लिन सडकअन्तर्गतको सिमलताल आएका चौधरीलाई छोरा जीवितै होला भन्ने आशा मर्दै गएको छ । ‘तीन दिन भइसक्यो, जिउँदो छ भन्ने  के आशा राख्नु र ?’ उनले भने।

उनले थपे, ‘शव मात्र फेला पार्न पाए पनि हुन्थ्यो।’ चौधरीका माइला छोरा बेपत्ता भएका हुन्। उनका छोरा किशोर चौधरी बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सका चालकसमेत हुन्। अन्तिमपटक असार २६ गते छोरासँग कुरा गरेका चौधरीले फेरि बोल्न पाइएला भनेर आशा मार्न थालेका छन्।

सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिए पनि यसबाट उनी सन्तुष्ट छैनन्। ‘खोज्ने काममा केही चहलपहल छैन। हामीलाई त्यहाँ जान दिइएको छैन,’ उनले भने, ‘छेउछेउमा मात्र खोज्छ, अरूतिर जाँदैन।’ उनी गाडी लाइनमा लागेको दुई दशक बित्यो। यही व्यवसायबाट चार जनाको परिवार धानिँदै आएको थियो।

हेटौंडाका राजेश केसीको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस २७ जना यात्रु बोकेर शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो। आफ्ना माइला भाइलाई यात्रु लिएर काठमाडौं पठाए पनि गाटी गन्तव्यमा पुग्न सकेन। बिचमै सिमलताल पहिरोले गाडीलाई त्रिशूलीमा घचेट्यो । भाइको खोजीमा आएका राजनको पछिल्लो तीन दिन त्रिशुली र नारायणी किनार डुल्दै बितेको छ। कतै शव भेटियो भन्ने सुन्दा उनी भरतपुर अस्पताल दौडिहाल्छन् तर भाइ फेला परेका छैनन्। उनलाई पनि भाइ जीवित होला भन्ने आशा मर्दै गएको छ।

‘शव मात्र फेला पार्न पाए पनि हुन्थ्यो भन्ने हिसाबले बसेका छौं । खोजीकार्य अझ तीव्र पार्न त्रिशूली नदीको बहावले दिएको छैन,’ उनले भने, ‘लास मात्र भए पनि लिएर जान पाइयो भने त्यही नै सन्तोषजक हुन्थ्यो।’

जीवित नभए पनि छिटो खोजिदिन गृहसचिवलाई अनुरोधसमेत गरे। खोजीकार्य जति ढिलो यो झन् समस्या हुने उनको भनाइ छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतको सिमलतालमा पहिरोले त्रिशूलीमा दुईवटा बस बगाएको तीन दिन पुगिसक्यो। आफन्तको पर्खाइमा त्रिशूली किनारमा बसिरहेकाको मन अत्तालिएको छ। भाइलाई खोज्न आएका रौतहटका मोहन दास निराश छन्। भाइ भेटिने/नभेटिने कुनै अत्तोपत्तो छैन। ‘बाँसको लट्ठीले घोचेका छन्। नारायणीको वेगलाई त्यसले के पत्ता लाग्नु र?’ उनले भने।

शुक्रबार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु थिए। टिकट चलान र सम्पर्कमा आएका आफन्तको भनाइका आधारमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। शुक्रबारदेखि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी सहितको गोताखोर टोलीले बसको खोजीकार्य जारी राखेको छ।

प्रकाशित: ३१ असार २०८१ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App