१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोशी प्रदेशले सुरु गर्‍यो विपद् व्यवस्थापन पोर्टल

संघ सरकारले दिँदै आएको विपद्को पूर्व सूचना कोशी प्रदेश सरकारले पनि दिने भएको छ। प्रदेशवासीलाई विपद्को पूर्व सूचना दिने उद्देश्यले निर्माण गरिएको विपद् व्यवस्थापन पोर्टल सोमबारदेखि सुरु गरिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालययले निर्माण र सञ्चालन गर्ने पोर्टलको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा उद्घाटन गरे। पोर्टलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्रलगायत सबै प्रकारका विपद्को पूर्व सूचना पोर्टलमार्फत दिइने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले उच्च जोखिममा रहेका स्थानहरूको पहिचान गरी त्यस्ता क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न र त्यसमार्फत नागरिकलाई विपद्को पूर्व सूचना प्रवाह गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशनसमेत दिए। कार्कीले प्रदेश सरकार प्रविधिमैत्री बन्दै जाने भएकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्थासमेत गर्ने स्पष्ट पारे।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जहाँ विपद् त्यहाँ कोशी सरकार भन्ने नाराअनुसार साधन र स्रोतले भ्याएसम्म प्रदेश सरकारले उद्धार राहतलगायतका काम गरिरहेको बताए। विपद्का घटना भएपछि उद्धार र राहतमा खट्ने मात्र नभई जोखिमको पूर्व सूचना दिई नागरिकको जीउधनको रक्षा गर्ने उद्देश्यले नै सरकारले पोर्टलको निर्माण गरेको अधिकारीले स्पष्ट पारे।

एक लाख लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्व सूचना दिनुका साथै प्रहरी, एम्बुलेन्सलगायत आकस्मिक सेवाका लागि फोन गर्न सकिने सुविधासमेत उपलब्ध छ। पोर्टलमा नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रक्रियागत अवस्थामा आधिकारिक भिडियो सम्बोधन, न्युज फिडलगायतका सुविधा रहेका छन्।

प्रकाशित: २५ असार २०८१ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App