२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

अफ्रिकाबाट उत्पत्ति हुन्छ नेपालमा हुने वर्षा

अहिले देशभरि मनसुन सक्रिय छ। मौसमविद्का अनुसार अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायु वर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ। उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायु हरेक वर्ष नेपालसम्म आइपुग्छ। मदागस्करनजिकै टापुमा उच्च चापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्को भनाइ छ। त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर बंगालको खाडी हुँदै नेपाल आइपुग्छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशभरका करिब दुई सय वटा स्टेसनबाट आएका सूचना र स्याटेलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ। यसैगरी विविध नमुना अध्ययनबाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको मौसमविद्हरूको भनाइ छ। नेपालमा वर्षायाम सामान्यतया हरेक वर्ष  जुन १ मा सुरु भएर सेप्टेम्बर अन्तिमसम्म रहन्छ। मौसमविद्का अनुसार केही वर्षयता वर्षायाम सकिने दिन पर सर्दै गएको छ।

आइतबारसम्म वर्षा हुने

मौसमविद्हरूले काठमाडौं उपत्यकामा आइतबारदेखि मौसममा हल्का सुधार हुने र पश्चिमी क्षेत्रमा सोमबारदेखि सुधार हुने अनुमान गरेका छन्। ‘काठमाडौं उपत्यकामा आइतबार मौसममा केही सुधारको सम्भावना छ तर पश्चिमी क्षेत्रमा भने सोमबारदेखि मात्र सुधार हुन्छ,’ वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उपत्यकामा हल्कादेखि मध्यम वर्षा आइतबार पनि हुने सम्भावना छ तर शनिबारको जस्तो आइतबार लगातार वर्षा हुने सम्भावना कम छ।’ उनका अनुसार अहिले देशभर मनसुनको प्रभाव सक्रिय अवस्थामा छ। ‘अहिले मनसुनी न्यून चापीय प्रणाली देशभर सक्रिय भएको छ। त्यसको प्रभाव देशभरि फैलिएको छ,’ उनले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म पहाडी क्षेत्रमा भूक्षय तथा पहिरोको र सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको बताएको छ। त्यस्तै ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले शनिबार जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा आइतबारसम्म देशभर साधारणदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै कोसी, मधेस, बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा देशैभरि वर्षा भएको छ। सबैभन्दा बढी वर्षा घोराहीमा भएको छ। घोराहीमा पछिल्लो चौबिस घण्टामा २८५ दशमलव ५ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।

यसैगरी पोखरामा २२८ मिलिलिटर वर्षा भएको छ। पछिल्लो चौबिस घन्टामा काठमाडौंमा ९२ दशमलव २ मिलिलिटर वर्षा भएको छ।

यसैगरी नेपालगन्जमा २३ दशमलव ५ मिलिलिटर वर्षा भएको छ। पछिल्लो चौबिस घण्टामा सबैभन्दा कम वर्षा जुम्लामा भएको बताइएको छ। जुम्लामा ६ मिलिलिटर मात्र वर्षा भएको छ।

प्रकाशित: २३ असार २०८१ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App