१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

विपद् प्रतिकार्यमा खटिन रेडक्रसकर्मीलाई अनुरोध

नेपाल रेडक्रस सोसाइटीले  देशभर भइरहेको बाढी पहिरोलगायतका विपदमा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ।

यस वर्ष विगतका वर्षभन्दा वर्षाको सम्भावना उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। रेडक्रसले देशैभरका आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाई समुदायमा विपद्का कारण आइपर्न सक्ने विषम परिस्थितिको आँकलन गरी पूर्वतयारीसहित प्रतिकार्यका लागि तयार रहन आग्रह गरेको हो।

रेडक्रसका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रभावित जिल्लामा उद्धार तथा सहायताका सामग्री वितरणमा संलग्न हुनसमेत सोसाइटीका प्रदेश, जिल्ला र उपशाखा सबैमा अनुरोध गर्नुभएको छ। ‘प्रभावित समुदायलाई समयमै आवश्यक सहायता उपलब्ध गराउनेतर्पm रेडक्रस उद्धत रहेको सबैमा जानकारी गराउँदछौँ। विपद् पूर्वतयारीसहित विपद्पश्चात् गरिने उद्धार एवं सहायता सामग्री वितरणमा हामी सबैको ध्यान जानुपर्ने र यस वर्ष मनसुन केही बढी क्रियाशील हुने मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सबैलाई सजग रहन अनुरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष नेपालले विज्ञप्तिमार्फत नै समुदायमा सेवा गरी विपद् उत्थानशील समुदाय निर्माण गर्ने रेडक्रसजस्तो परोपकारी संस्थालाई सरकारका सम्बद्ध मन्त्रालय तथा विभाग, प्रदेश र स्थानीय सरकार तथा दातृ निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गरेका छन्।

विसं २०२० साल भदौ १९ गते ‘नेपाल रेडक्रस सोसाइटी’ को स्थापना भएको हो। हाल रेडक्रसको सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय छन्। छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलको साङ्गठनिक स्वरूपबाट समुदायमा सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित: १२ असार २०८१ १८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App