१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पानी पिउन घण्टौँ लाइनमा !

<br>

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल बनेकाे छ। स्थानीयको घरमा इनार छ तर पानी छैन। रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ।

पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले 'बोरिङ' गरेर पानी वितरण गरेपछि स्थानीयले केही राहत पाएका छन्।

माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन। मण्डलीले  भने ४० मिटरकाे गहिराइबाटै पानी निकालेको छ।

पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको सोही टोलकी स्थानीय भगवती कुमारी थापाले बताइन्। 

“पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च सहयोगी बनेको छ”, थापाले भनिन्, “इनारको कालो र रातो पानी खानुपर्थ्यो। करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौँ। खाने, नुहाउने, लुगा धुने, शौचालय जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले सुविधा दिएको छ।”

उनका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाइनमा बस्छन्। लाइनमा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ।

स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको सुनाए। “यसअघि मान्छेहरु कसरी बाँच्या थिए, थाहा छैन। अहिले प्यास मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ,” उनले भने।

वडा नं-३ देखि ४ सम्मका एक हजार भन्दा बढी घरधुरीले चर्चकै खानेपानीको सुविधा लिएको खत्रीले जानकारी दिए।

कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताइन्। 

उनले आफ्नाे अनुभव सुनाइन्, “म घर भाडामा बसेर बालबच्चा पढाइरहेकी छु। सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ।”

माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले खानेपानी समस्या समाधान गर्न सरकारले नसकेको जिकिर गरे‍।

“पानी, जिन्दगानी हो। प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ। खानेपानी, विद्युत्, सडकको समस्या दुर्गम भन्दा कम छैन”, उनी भन्छन्, “सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्न समेत समस्या छ।”

ती समस्याका विषय वडा हुँदै नगरपालिकासम्म राखे पनि कुनै सुनुवाइ नभएको उनले गुनासो छ।

प्रकाशित: ११ असार २०८१ २३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App