१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुरुङ खनेर कारागारबाट फरार एक भारतीय १४ वर्षपछि पक्राउ

कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए।

भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन्। शिवराज नगरपालिका ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।  

अदालतले उनलाई ६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुलउपर गर्नुपर्ने निर्णय गरेको थियो। २०६६ माघ २ गते उनीसहित ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए।

कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुलसहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवणकुमार मुराउ थिए। त्यस्तै लागुऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए।

सुरुङ खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ खनेर भागेका ८ जना फरार प्रतिवादीमध्ये सबैलाई पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको हो।

एक वर्षमा १ सय २६ फरार प्रतिवादी पक्राउ

प्रहरीले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ, जसबाट १ सय ४७ वर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५ सय ४५ रुपैयाँ जरिवाना असुल हुनेछ। विभिन्न मुद्दामा फरार भएका आरोपी र अदालतबाट सजाय तोकिएकाहरूलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान जारी राखेको छ।

विभिन्न आरोपमा फरार भएका र विशेषतः ठुला अपराधमा संलग्न आफूहरूले निगरानीमा राखेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। फरार प्रतिवादी पक्राउका लागि प्रहरीको विशेष टोली खटाइएको उनले बताए।

प्रकाशित: ८ असार २०८१ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App