२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

किन मर्न थाले जगदीशपुर तालका माछा?

जगदीशपुर तालमा मरेका माछा। तालमा पानी सुक्दा त्यहाँ रहेका वनस्पति, बिरुवा तथा विभिन्न प्रजातिका चराचुरुंगीसमेत संकटमा छन्। तस्बिर: नागरिक

कपिलवस्तु नगरपालिका–९ स्थित विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालका माछा मर्न थालेका छन्। नेपालकै दोस्रो पक्षी संरक्षित क्षेत्रसमेत रहेको सो तालमा तापक्रम बढ्नुका साथै माथिल्लो सतहमा लेउ जमेकाले माछा मार्न थालेका हुन्।

स्थानीयका अनुसार तीन दिनयता तालमा माछा मरिरहेका छन्। पानी सुकेपछि अक्सिजन अभावले तालका माछा मर्न थालेका हुन्। उच्च तापक्रम र लेउका कारण पाल्न नपाउँदा माछाहरू तीन दिनयता धमाधम मरिरहेको जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले बताए। ताल सुक्दै जानु र अक्सिजनको कमीले माछा मरेको उनी बताउँछन्।  १३ किलोग्रामसम्मको माछा मरेको उनले बताए।

बाणगंगा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानी सिँचाइ प्रयोजनका लागि छाडेपछि तालमा पानीको मात्रा घटेको छ। ताल सिँचाइ प्रयोजनका लागि चार दशकअघि निर्माण गरिएको थियो। तालमा ३० किलोसम्मका माछा र कछुवा छन्।

पानी सुकेपछि माछा, कछुवासहित जलचर असुरक्षित बनेको अध्यक्ष गुरुङले बताए। ‘पानी सुकेपछि माछा प्याकप्याक मर्न थालेका छन्। माछा बचाउनै मुस्किल परेको छ’, उनले भने। यसबारेमा वन डिभिजन कार्यालय कपिलवस्तु, प्रशासन कार्यालय, बाणगंगा सिँचाइ डिभिजन कार्यालयलगायतका निकायलाई जानकारी गराइएको तर कसैले चासो नलिएको उनले बताए। सिँचाइ प्रयोजनका लागि बनाइएको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको हो। तालको स्वामित्वका विषयमा विवाद भएकाले समस्या आएको स्थानीय बताउँछन्।

सिमसारको नियमअनुसार तालमा पानी सुकाउन पाइँदैन। कृषकहरूको सहजताका लागि तालको पानी नहरमा गत असार १ देखि छाडिएको बाणगंगा सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष मोहन दाहाल शर्माले बताए। ‘ताल सिँचाइका लागि बनाइएको हो, धानका ब्याड राख्नका लागि कृषकको मागअनुसार तालको पानी छाडिएको हो’, उनले भने।

४५ लाख बढी घन मिटर पानी अटाउने तालमा आधाभन्दा कम मात्र पानी छ। तालको पानी सुक्दा जैविक विविधता नष्ट हुन गई ताल सिमसारबाट हट्न सक्ने स्थानीय बताउँछन्। वर्षौंदेखि ताल सफाइ नगरिँदा तालमा फोहर, बालुवा, माटो आदि भरिएका छन्।

बाणगंगा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ईश्वरनाथ पाकवानले सिँचाइ प्रयोजनका लागि बनाइएको तालमा सिमसार र पक्षी संरक्षित क्षेत्रसमेत भएकाले सिँचाइ कार्य अघि बढाउन गाह्रो भएको बताए। उनले तालमा माछाका लागि चाहिने पानी रहेको समेत दाबी गरे।

विश्वमा बर्ड वाचिङ भनेर चिनिने जगदीशपुर जलाशय सिमसार क्षेत्र नेपालकै गौरव हो। यसको संरक्षणका लागि सबै सरकारी निकायबिच तालमेल नहुँदा समस्या बल्झँदै गएको स्थानीय रिन जिसीले बताए।

‘तराईको बढ्दो गर्मी अझ त्यसमाथि पानी सुक्दा तालमा रहेका वनस्पति, बिरुवा, माछा तथा विभिन्न प्रजातिका चराचुरुंगी उच्च संकटमा परिरहेका छन्’, उनले भने। ताल जैविक विविधता, सिमसार र चराका कारण महत्वपूर्ण भएकाले नै स्विट्जरल्यान्डमा रहेको रामसार सचिवालयले रामसार साइटमा सूचीकृत गरेको थियो।

प्रकाशित: ७ असार २०८१ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App