१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ आजदेखि ललितपुरमा

ललितपुरमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा आयोजना हुने मेलाको आज बिहान ११ बजे शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्नेछिन्।

मेलाको बारेमा जानकारी दिँदै श्रम मन्त्रालयका उप सचिव एवम् बागमती प्रदेशको श्रमाधान रोजगार मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोशेढुंगा साबित हुने बताए।

‘स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने।

मेलाले रोजगारी मात्रै हैन रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्ने विषयमा पनि जानकारी दिने उनले बताए।

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले दैनिक बिदेसिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्त्वपूर्ण भएको बताए।

‘नेपालमा रोजगारी नपाएर बिदेसिनु पर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्राउनु पर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,’ उनले भने।

मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल सहितको उपस्थिति रहनेछ। मेला बुधबारसम्म सञ्चालन हुनेछ। मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहनेछ बताइएको छ।

प्रकाशित: २९ जेष्ठ २०८१ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App