१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मकैमा अमेरिकी फौजी किराको प्रकोप

इच्छा कामना गाउँपालिका –७ स्थित भालुमाराका हरिराम गुरुङले १२ कठ्ठा जग्गामा मकै खेती गरेका छन्। तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो।

‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन। पन्ध्र सय बढीको औषधि(विषादी) लिएर हाल्दा पनि उस्तै छ,’ उनले भने ‘गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ।’ सात जनाको परिवार रहेको गुरुङको प्रमुख पेसा कृषि हो। आफुले लगाएको खेतीपातीमा रोग लाग्दा लगानी समेत नउठ्ने उनले बताए। ‘मकै छर्दादेखि थन्काउँदासम्म ५० हजार रुपैयाँ लाग्छ, अहिले मकै छर्दा र गोड्दा ३५ हजार रुपैयाँ लाइसक्यो । मकै हुने नहुने थाहा छैन’–उनले भने।

किराको प्रकोप हट्छ कि भनेर फिराडोन, थाइमेड लगायत गरी चार पटक मकैमा विषादी हालिसकेका छन्। त्यसले नभएपछि उनी गाउँपालिकाले सिफारिस गरेको विषादी प्रयोग गर्न सोचमा छन्। उनको जस्तै पीडा ६६ वर्षीय प्रेम बहादुर प्रजा, रामबहादुर गुरुङ लगायत इच्छा कामना गाउँपालिकाका सबै किसानको छ। किसानहरू आफ्नो बाली कसरी जोगाउने भन्ने अन्योलमा छन्। ‘रोग नलाग्दा खान पुग्थ्यो। यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ। रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ प्रेम बहादुर चेपाङले भने ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ? हामीलाई उपचारको खाँचो छ।’

अमेरिकी फौजी किराको प्रकोपले इच्छाकामनाका किसानहरू प्रताडित भएका छन्। मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन्। गतबर्ष खडेरीले मकै सुकेर किसान पीडित भएका थिए।

मकै राम्रो उत्पादन हुने इच्छाकामनाको खेतबारी, भालुमारा, तमिन, पामडाँडा लगायतका सात वटै वडामा फौजी किरा देखिएको गाउँपालिकाका कृषि अधिकृत अशिष त्रिपाठीले जानकारी दिए। फौजी किरा देखिएपछि गाउँपालिकाले उपचार विधि सहित विषादी निःशुल्क प्रदान गर्न थालिएको उनले बताए। ‘हामीले इच्छा कामना वडा नम्बर २ को तमिन र पामडाँडा ७ नम्बर वडाको खेतबारी भालुमारामा विषादी वितरण गरिसेका छौँ। ६ नम्बर वडामा भोलि र पर्सि गर्दै छौँ,’उनले भने, ‘विषादीको समुचित प्रयोग सहित जैविक विषादीको प्रयोगका विषयमा समेत हामीले जानकारी दिएका छौँ।’

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो। यो राति चर्न मन पराउँछ। अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको थियो। सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किट विज्ञ बताउँछन्। 

फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ। मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ। यसलाई विषादीको प्रयोग गरेर नै हटाउनुपर्ने कृषि अधिकृत त्रिपाठीले जानकारी दिए। चितवन जिल्लामा वार्षिक २६ हजार मेट्रिकटनको हाराहारीमा मकै उत्पादन हुने गरेको छ। जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जातका मकै लगाइँदै आएको छ। 

प्रकाशित: १३ जेष्ठ २०८१ १७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App