२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

एमडिएच र एभरेस्टको ४ उत्पादन बिक्रीमा नेपालले लगायो रोक

भारतमा उत्पादित दुईवटा मसलाका ४ वटा उत्पादनमाथि नेपालले रोक लगाएको छ। भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले एमडिएचको मिक्स मसला, साम्बर मसला, मद्रास करी मसला र एभरेस्टाके फिस मसला बिक्री र प्रयोगमा रोक लगाइएको बताइन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा यी दुई मसालका ती उत्पादनमा किटनाशक एथलिन अक्साइड पाइएको आशङ्कामा रोक लगाइएको बताइन्।

उनले भनिन्, ‘एमडिएच र एभरेस्टको ती चार उत्पादनमा एथलिन अक्साइडबारे अन्तर्राष्ट्रिय स्तरमा जाँच भइरहेको र हामी पनि परीक्षण गर्ने तयारीमा छौं। परीक्षणको नतिजा नआएसम्म ती मसलाका चार उत्पादनको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको हो। तर, तीनै मसलाका अन्य उत्पादनमा भने त्यस्तो कुनै जानकारी आएको छैन। त्यसकारण सबैमा रोक लगाइएको होइन। केहीमा मात्रै रोक लगाइएको हो।’

यसअघि हङकङ र सिङ्गापुरले एमडिएच र एभरेस्टको मसालामाथि प्रतिबन्ध लगाइसकेको छ भने बेलायतमा पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।

विश्वका विभिन्न मुलुकमा निर्यात हुने यी मसालमा पाइएको भनिएको एथलिन अक्साइडको सेवनले तत्कालै स्वास्थ्यमा असर नदेखिएपनि लामो समयसम्म यसको सेवन गर्नाले क्यान्सरको जोखिम बढ्दै जान्छ।  

के हो एथलिन अक्साइड?

एथलिन अक्साइड रङ्गहिन ग्यास हो। भारतको नेशनल क्यान्सर इन्स्टिच्यूटका अनुसार यस ग्यासको प्रयोग एथलिन ग्लाइकोल जस्ता रासायन बनाउनमा गरिन्छ। त्यसबाहेक यसको प्रयोग टेक्सटाइल, डिर्जेन्ट, फोम, औषधि लगायतमा पनि गर्ने गरिन्छ। साथै अस्पतालमा यसको प्रयोग सर्जिकल उपकरण सफा गर्नलाई गरिन्छ।

भारतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले एथलिन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनमा विभाजन गरिएको छ। जसले मानिसमा क्यान्सर गराउने पर्याप्त प्रमाणहरू दिएको छ।

जो मानिसहरू यसको नियमित सम्पर्कमा रहन्छ उनीहरूमा आँखा, छाला, नाक, घाँटी र फोक्सोमा जलन हुन सक्छ।

अमेरिकाको इन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सीका अनुसार एथलिन अक्साइडको सम्पर्कमा आउँदा त्यसले महिलामा लिम्फाइड क्यान्सर र स्तन क्यान्सरको खतरा बढाउँछ।

प्रकाशित: ४ जेष्ठ २०८१ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App