२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्साइडर ट्रेडिङ आरोपी त्रितालद्वारा राजीनामा

नागरिक प्रभाव

अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आफू सञ्चालक रहेका दुवै कम्पनीबाट राजीनामा दिएका छन्। पत्नी सीता घिमिरे त्रितालका नामबाट इन्साइडर ट्रेडिङ गरेको खुलेपछि उनले बिहीबार अपी पावर कम्पनी र इन्हवा हाइड्रोपावरको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका हुन्।

सञ्चालक समितिका रहेका बेला पत्नी सीताका नामबाट इन्साइडर ट्रेडिङ गरेर उनले धितोपत्र ऐन र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को उल्लंघन गरेको समाचार नागरिक दैनिकले प्रकाशन गरेको थियो। अपी पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बिहीबार दिउँसो त्रितालले राजीनामा दिएको पुष्टि गरे।

‘उहाँले दुवै कम्पनीबाट दिनुभएको  राजीनामा कम्पनीको बोर्ड बैठकले स्वीकृत गरेको छ,’ कार्यकारी सञ्चालक न्यौपानेले भने। उनले यो विषयमा छानबिन सुरु गरिएको र कम्पनीमा रहेका कुनै पनि व्यक्तिले गलत काम गरेको भेटिए ऐननियमअनुसार कारबाही गरिने पनि बताए। ‘हामी संस्थागत सुशासनमा प्रतिबद्ध छौं। आमागी दिनमा यस्ता किसिमका गलत कार्य नहोस् भन्नेमा हामी सजग छौं,’ अपी पावरका कार्यकारी सञ्चालकले भने।

यसैगरी त्रितालले नाबालिका छोरीका नाममा पनि कारोबार गरेको नेपाल स्टक एक्सचेन्ज स्रोतले जनाएको छ। यो विषयमा धितोपत्र बोर्डले पनि छानबिन सुरु गरेको जनाइएको छ। नागरिक दैनिकमा प्रकाशित समाचारलाई आधार मानेर बोर्डले अनुसन्धान सुरु गरेको हो। ‘आज छापा माध्यममा आएको समाचारलाई नोटिसमा लिएर बोर्डले अनुसन्धान सुरु गरेको छ,’ बोर्ड स्रोतले भन्यो।

उनले २०७७ कात्तिक २५ गतेबाट पत्नी सीताको नामबाट ४८ नम्बरको सेयर ब्रोकर कम्पनीबाट कारोबार सुरु गरेका थिए। स्रोतले उपलब्ध गराएको कागजातअनुसार २०७८ कात्तिक २ गतेसम्म उनले ९६ पटक कारोबार गरेका थिए। सो अवधिमा त्रितालले पत्नी सीताका नामबाट ११ हजार ६०० कित्ता सेयर खरिद गरेका थिए।

खरिद गर्दा उनको ३७ लाख ८७ हजार ९३० रूपैयाँ लगानी भएको देखिएको छ। त्यसपछि उनले ३१ हजार ६२६ कित्ता सेयर बिक्री गरेका थिए। जसबाट १ करोड २१ लाख ६६ हजार ७०८ रुपैयाँ नाफा कमाएको स्रोतले उपलब्ध गराएको कागजातबाट खुलेको छ। जबकि अपी पावर कम्पनीले तत्कालीन समयमा कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी थियो।

प्राप्त विवरणअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने सूचना बाहिर आएपछि इन्साइडर ट्रेडिङ गरेको स्रोतको दाबी छ। ‘उनले कारोबार गरेको समयमा सेयरमा निकै उतारचढाव आएको देखिन्छ,’ स्रोतले भन्यो। उनले त्यतिबेला पत्नीका नामबाट प्रतिकित्ता ५२७ रुपैयाँसम्म कारोबार गरेको देखिन्छ।

कम्पनीले हकप्रद निष्कासनका लागि २०७८ चैतमा १४ गते सेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो। यसअनुसार २०७८ चैत १३ सम्म नेप्सेमा कारोबार भई कायम त्यस कम्पनीका सेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिने प्रावधान थियो। त्यसअघि नै उनले इन्साइडर ट्रेडिङ गरेर कात्तिकमा कारोबार टुंग्याएको देखिन्छ। चैत २५ देखि सर्वसाधारणले हकप्रद सेयर लिएका थिए।

कारोबार गरेको अस्वीकार गरे पनि सप्रमाण समाचार प्रकाशित भएपछि त्रितालले राजीनामा दिएका हुन्। उनीबाट धितोपत्र ऐन र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को सिधै उल्लंघन भएको देखिन्छ। धितोपत्र ऐनको परिच्छेद ९ को दफा ९१ देखि दफा १०० सम्म यसबारे उल्लेख गरिएको छ, जसमा कानुनले इन्साइडर ट्रेडिङको व्याख्या र कानुनी प्रावधानबारे तोकेको छ। त्यसैगरी धितोपत्रसम्बन्धी ऐन २०६३ को परिच्छेद ९ मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ पनि गरिएको छ।

त्यसैगरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा परिवार वा सदस्य वा सोसँग सम्बन्धित व्यक्तिका नाममा सेयर खरिदबिक्री गर्न नपाइने उल्लेख छ। ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाका नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न–गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन,’ सो नियमावली दफा ३८ को १ (क) मा सो कुरा उल्लेख।

प्रकाशित: ४ जेष्ठ २०८१ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App