२३ पुस २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा नल्याऊ

शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति र अर्का अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको टिप्पणी धेरैका लागि रोचक बन्यो। पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेकै बेला शर्माले उनलाई राजनीतिमा आउन शुभकामना त दिए, सँगसँगै समाजको प्रेरणा बन्न आग्रह पनि गरे। तर उनको आशय प्रस्ट थियो, पूर्वराष्ट्रपति राजनीतिमा नआएकै राम्रो। 

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पुनः राजनीति होमिने चर्चा अलि चर्को गरी सुनिन थालेको छ। माओवादी केन्द्रले आफ्ना बैठकहरूमै पुनलाई सहभागिताको निमन्त्रणा दिएको र यो अध्यक्ष पुष्पकमल दाहालकै इच्छाअनुसार भइरहेको बुझ्न गाह्रो छैन। कतिपयले यसलाई अध्यक्ष दाहालले आफ्नो उत्तराधिकारीमा वर्षमान पुन वा जनार्दन शर्माको संघर्षमा पुन ल्याएर ‘चेक’ चाल चालेको बताइरहेका छन् भने कतिका लागि भने यो एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनः प्रवेशका लागि उक्साहटमा सीमित छ। एमालेमा भण्डारीको पदार्पणसँगै अहिलेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको शक्तिसंघर्ष चर्कने र यसले अन्ततः संसद्को दोस्रो ठुलो दल एमालेलाई कमजोर तुल्याउने माओवादी नेतृत्वले राम्रैसँग आकलन गरेको छ। यो प्रसंगमा अर्कातर्क भने पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुनले दुवै एकसाथ राजनीतिमा फर्कने कुराले दुवै पार्टी नेता–कार्यकर्तालाई उक्साउने काम गरिरहेको छ। अर्थात्, भण्डारी र पुन दुवैले एमाले र माओवादी एकअर्कालाई देखाएर आफ्नो ‘अराजनीतिक यात्रा’लाई राजनीतिक तुल्याउने प्रयत्न गरिरहेका छन्। 

माओवादीभित्र ‘पुन कार्ड’ का रचनाकार स्वयं अध्यक्ष दाहाल भएकाले उनले यसलाई कुन बेला प्रयोग गर्ने र विश्राम दिने भन्ने निश्चित छ। तर भण्डारीको राजनीतिक अभीष्ट र बढ्दो सक्रियताले भने एमालेमा ‘सुस्त आँधी’ ल्याइरहेको नेता, कार्यकर्ताले महसुस गर्न थालेका छन्। स्रोतका अनुसार पहिले मदन भण्डारी फाउन्डेसन र त्यसअन्तर्गतका संस्थाका कार्यक्रम, राष्ट्रिय महत्वका विभिन्न विषय सल्लाह, परामर्श बैठकहरूमा सीमित भण्डारीको पछिल्लो भेटवार्ता अध्यक्ष ओलीसँग असन्तुष्ट नेता–कार्यकर्तासँग बाक्लिन थालेको छ, जहाँ उनी आफू राजनीतिमा फर्कने निर्णयका आयामहरूबारे छलफल थालिरहेकी छन्। ओलीविरुद्ध ‘भण्डारी कार्ड’ खेलेर आफ्नो स्वार्थ सिद्ध गर्न लालायित नेताको एउटा ठुलै जमात त पार्टी संगठनलाई एक हुनबाट बचाउन अब भण्डारी नेतृत्वको विकल्प नरहेको समेत बताउन थालेका छन्। भण्डारीको छत्रछाया भए कोपभाजनमा परेका नेता–कार्यकर्तालाई पनि राहत हुने, नेकपा एससँग पनि एकता गर्न सकिने र समग्रमा वाम एकताले पुनः गति लिनेजस्ता बहस हुन थालेको बताइन्छ। 

त्यसैले हुनुपर्छ, यसअघि यो विषयमा खासै सम्बोधन गर्न आवश्यक नठान्ने एमाले अध्यक्ष ओलीले हालै मात्र प्रस्टसँगै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने लालसामा आफ्नो असहमति प्रकट गरेका छन्। पार्टी महासचिव शंकर पोखरेलले पनि यसलाई अनुचित बताइसकेका छन्। केहीको मतमा त एमालेले भीम रावल, बिन्दा पान्डे र उषाकिरण तिमल्सिनामाथि गरेको कारबाही भण्डारीसँगका छलफलहरूमा सहभागी भएका र हुन सक्नेहरूमाथिको चेतावनी पनि हो। यी र यस्तै विषयलाई लिएर बिहीबार मात्र अध्यक्ष ओली र भण्डारीबीच वार्ता भएको अपुष्ट खबर पनि बाहिरिएको छ। 

भोजपुरको मानेभन्ज्याङबाट तत्कालीन नेकपा मालेको विद्यार्थी राजनीति थालेकी, नेता मदन भण्डारीसँग विवाह गरेकी, भण्डारीको मृत्युपछि २०५० सालको उपनिर्वाचनमा विजयी भएपछि राष्ट्रिय राजनीतिमा आएकी भण्डारी त्यसपछि लगातार पार्टीकी प्रमुख महिला नेत्री बनिन्। दुईपटक त मन्त्री नै भइन्। त्यसपछि ओली नेतृत्वको पार्टीले हो, उनलाई राष्ट्रपतिको निर्वाचनमा प्रत्यासी बनाएको। गाउँमा हुर्किएकी र पछि गृहिणीकै रूपमा सीमित भइसकेकी एक आम नेपाली महिलाका लागि देशकै सर्वोच्च पद हासिल हुनु कुनै चानचुने उपलब्धि होइन, जसलाई भण्डारीले सम्हालेर, सँगालेर राख्नुपर्छ। 

त्यसो त एमालेकी पूर्वउपाध्यक्ष एवं स्थायी कमिटी सदस्यसमेत रहिसकेकी पूर्वराष्ट्रपति भण्डारीलाई फेरि पनि राजनीतिको रहर जाग्नु कुनै ‘अपराध’ होइन। उनले दिएको एउटा अन्तर्वार्तामा ‘ताला लगाएर कोठाभित्र पनि बस्दिनँ र वनवास पनि जाँदिनँ’ भनेर आफ्नो सक्रिय राजनीतिक अभिष्ट प्रकट गरेकै हुन्। तथापि फेरि राजनीतिमा सक्रिय हुन खोज्नु सर्वथा अनुचित, अनैतिक र शक्ति भोकको पराकाष्ठा हो। दुईपटक गरी सात वर्षसम्म राष्ट्रपतिका रूपमा कुनै एक दलको आबद्धता त्यागेर सबैखाले विभिन्नताकी प्रतीकमा बनेकी भण्डारी सर्वमान्य र सर्वस्वीकार्य व्यक्तित्वका रूपमा रहनुपर्छ, जसले मुलुकलाई विभिन्न खाले संकटबाट पार लगाउने नेतृत्वदायी भूमिका खेलोस्। सँगै पहिलो महिला राष्ट्राध्यक्ष बन्न सफल ६३ वर्षीया उनका लागि अबको समय भनेको आफ्नो संघर्ष, पदीय दायित्वबाट प्राप्त अनुभव र ज्ञानलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नतर्फ केन्द्रित हुनुपर्छ। वेस्टमिन्स्टर प्रणालीमा राष्ट्रपति भइसकेपछि राष्ट्रिय राजनीतिमा नफर्कने विश्व राजनीतिको परम्परालाई कायम राख्दै भण्डारीले पनि आफूलाई राजनीतिक नभई सामाजिक र शैक्षिक अभियानमा आफूलाई सक्रिय गराउनुपर्छ। कैयन देशमा राष्ट्रपति र प्रधानमन्त्री पालैपालो भएका घटना छन्। तर, तिनलाई खासै अनुकरणीय उदाहरणका रूपमा लिन सकिँदैन। यस्ता घटना तिनै देशमा भएका छन्, जहाँ अधिनायकवादी चरित्रका नेता जन्मिएका छन्।

एमाले पंक्तिभित्र आरोप छ– पार्टीलाई राष्ट्रिय राजनीतिमा एक हदसम्म सफल बनाउने र समकालीन नेताहरूभन्दा आफूलाई अब्बल नेताका रूपमा स्थापित गरे पनि ओली आफ्ना विरोधीप्रति जहिल्यै निर्मम छन्। त्यसैले एमालेमा यतिखेर लोकतन्त्र छैन, मात्र ओलीतन्त्र छ। पार्टीमा जनताको बहुदलीय जनवाद होइन, केवल ओलीवाद हाबी छ। यति हुँदाहुँदै पनि एमालेजन ओलीको विकल्प खोज्ने भनेको एमालेभित्रकै नेताहरूबाट हो, अलोकतान्त्रिक चरित्रको विरोध गर्ने भनेको थप लोकतान्त्रिक र पारदर्शी राजनीतिक व्यवहारबाट हो, अन्तबाट होइन। अतः हामीले भण्डारी र पुनजस्ता पात्र र प्रवृत्तिलाई उत्प्रेरित गर्नुहुँदैन, जो पार्टी मात्र होइन कालान्तरमा उनीहरूमाथि नै आत्मघाती बनोस्। किनकि, यो कुनै पार्टीको लाभहानिको विषय होइन, यो त भर्खरै संस्थागत बन्ने बाटोतर्फ लम्केको संघीय लोकतान्त्रिक गणतन्त्रमाथिकै प्रहार हो। त्यसैले पनि यतिबेला हामीले ‘यदि’ र ‘तर’लगायत कुनै तर्क–विर्तकमा नअल्झिई हामीले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिहरूको राजनीतिक यात्रालाई निषेध गर्नुपर्छ । 

प्रकाशित: २१ पुस २०८१ ०६:०६ आइतबार

Download Nagarik App
Download Nagarik App