७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

धनलाल बुढाकाे गाई–भैंसीपालन। तस्बिर : नागरिक।

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

हिजोआज बुढा दुध मात्रै बेच्दैनन्, गोबर मल बेचेर तीन लाख रुपैयाँ हात पारिसकेका छन्। गाईभैंसीको गोबर बेचेर वार्षिक चार लाख रुपैयाँ कमाउँछन्। गोबर बेचेर साउन महिनायता तीन लाख आम्दानी भइसकेको छ।

दुई हजार हजार बोरा मल बिक्री भइसकेको बुढा बताउँछन्। बुढाले पाकेको गोबर मल प्रति बोरा एक सय ५० रुपैयाँमा बिक्री गर्छन्। धन्नलालको गोठबाट चन्दननाथ नगरपालिका १ देखि १० वडाभित्रका किसान मल लैजान्छन्। गाईभैंसीको मलमुत्र बेचेर पनि राम्रै आम्दानी भएकोमा उनकी पत्नी रजनाले खुसी व्यक्त गरिन्।

‘कृषकका लागि यो राम्रो अवसर हो। यसले राम्रो कमाइ दिइरहेको छ,’ बुढा भन्छन्, ‘मल खोज्न किसान गोठमै आउँछन्।’ गहुँत भने आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको उनी बताउँछन् । उनी भन्छन्, ‘भैंसीको गोबर बेचिन्छ। गहुँत भने आफ्नै खेतबारीमा प्रयोग गर्छु।’

मकै तथा धान खेती गर्दै आएका किसानसँग अन्न र मल साटासाट गरेको बुढाले बताए। खेतीबाली धेरै लगाउने कृषकले पनि गोठेमल किनेरै लैजाने गरेको उनको भनाइ छ। घर–घरमा चौपाया पाल्ने चलन घट्दै गएसँगै करेसाबारीकै लागि पनि जैविक मल किन्ने बढेको बुढा बताउँछन्।

व्यावसायिक स्याउ, धान खेती र अर्गानिक तरकारी खेती गर्ने कृषकले टाढाटाढाबाट पनि प्राङ्गारिक मल किनेर प्रयोग गर्दै आएका छन्। उनी भन्छन्, ‘आलु रोप्ने बेला, गहुँ छर्ने र मकै रोप्ने सिजनमा मलको बढी माग हुन्छ।’

बुढा दैनिक ४५ लिटर दूध बजारमा बेच्न लैजान्छन्। प्रतिलिटर सय रुपैयाँका दरले दूध बिक्री गर्दा एक दिनमा उनको कमाइ चार–पाँच सय रुपैयाँ हुन्छ। गाईपालनले आफूलाई रोजीरोटीसँगै इज्जत, प्रतिष्ठा र आत्मसम्मान दिइरहेको उनी बताउँछन्।

गाईपालन गरेर बुढाले सदरमुकाम खलंगामा घरसमेत बनाएका छन्। एसईई उत्तीर्ण भएपछि उनले पोखरामा हस्पिटालिटी म्यानेजमेन्ट पढे। ‘तर मेरो ध्यान जागिरतिर गएन। धेरैले विदेश जाने सल्लाह दिए’, उनले भने, ‘मलाई त गाउँमै फर्किएर गाई पाल्ने इच्छा जाग्यो र घर फर्किएँ।’

उनले सुरुमा चारवटा उन्नत जातका जर्सी गाईबाट व्यवसाय सुरु गरेका हुन्। बुटवलबाट प्रतिगाई १ लाख १० हजार रुपैयाँ तिरेर जुम्ला पुर्‍याएको उनको भनाइ छ। अन्य किसानलाई पनि व्यावसायिक बनाउन उत्प्रेरणा दिँदै आएको उनले बताए।

‘दूध बिक्रीमा कुनै समस्या छैन। झन्डै ८० प्रतिशत ग्राहकको घरमै दूध पुर्‍याइदिन्छु’, उनले भने, ‘बाँकी २० प्रतिशतजति दूध डेरीले खरिद गरिरहेको छ।’

उनका अनुसार सबै खर्च कटाएर महिनामा कम्तीमा १ लाख ५० हजार रुपैयाँ बचत हुन्छ। ‘नेपालगन्जबाट दाना ल्याउँछौं । २५ रोपनी जग्गा भाडामा लिएर घाँसखेती पनि गरिरहेका छौं’, रजनाले बताइन्।

गाईका लागि बाहिरबाट दाना ल्याउनुपर्दा ढुवानीमा समस्या रहेको बुढाले बताए। उनका अनुसार कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट अहिलेसम्म अनुदान पाएको छैन।

प्रकाशित: २५ वैशाख २०८१ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App