विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्। विस्फोटक पदार्थ अभावमा निर्माणाधीन सडक, सुरुङमार्ग र जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ।
सबैभन्दा बढी जलविद्युत् आयोजनाका सुरुङमार्ग, टनेल बनाउन आवश्यक पर्ने विस्फोटक पदार्थ अभाव हुँदा ती आयोजनाको निर्माण प्रभावित हुन थालेको ऊर्जा प्रवर्धकहरूको भनाइ छ। भारतले दुई महिनादेखि विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको उनीहरू बताउँछन्।
विस्फोटक पदार्थ आयात रोकिँदा चार दर्जन बढी जलविद्युत् आयोजनाको काम प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले बताए।
उनका अनुसार विस्फोटक पदार्थ आयातमा काठमाडौंस्थित भारतीय दूतावासले स्वीकृति नदिएकाले निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ।
‘विस्फोटक पदार्थ किन्न आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) नवीकरण गर्न भारतीय दूतावास आनाकानी गरिरहेको छ। जसका कारण नेपालका निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘अहिले नै चार दर्जन बढी जलविद्युत् आयोजनाको निर्माण रोकिन पुगेको छ।’
काम रोकिँदा जलविद्युत् आयोजनाको समय र लागतसमेत बढ्ने देखिएको छ। भारतले विस्फोटक पदार्थ ल्याउन नदिँदा जलविद्युत् आयोजना निर्माण एकदेखि ६ वर्षसम्म धकेलिने अवस्था देखिएको कार्कीले बताए।
‘भारतले एकपटक मात्रै विस्फोटक पदार्थ आयात रोक्दा आयोजनाको लागत बढ्नुका साथै ६ महिनादेखि एक वर्षसम्म पर धकेलिन्छ,’ उनले भने, ‘त्यो अवस्था अहिले सिर्जना भएको छ।’
विस्फोटक पदार्थ अभाव हुन थालेपछि लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाको काम रोकिने अवस्था आएको छ।
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले पनि विस्फोटक पदार्थ नपाउँदा निर्माण कार्य प्रभावित भएको जनाएको छ। तीबाहेक निर्माणाधीन साना तथा ठुला क्षमताका जलविद्युत् आयोजना प्रभावित हुन थालेको इप्पानले जनाएको छ।
निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा सुरुङ तथा टनेल खन्न विस्फोटक पदार्थ चाहिन्छ। सडक विभागअन्तर्गतका कतिपय सडकखण्ड निर्माणमा पनि विस्फोटक पदार्थको अभाव हुन थालेको निर्माण व्यवसायी बताउँछन्।
‘विस्फोटक पदार्थ अभावले धेरैजसो हाइड्रोपावर प्रोजेक्टलाई समस्या परेको देखिन्छ,’ नेपाल निर्माण व्यवसायी महासंघ नेपालका अध्यक्ष रवि सिंहले भने, ‘सडकअन्तर्गतका आयोजनामा पनि यो समस्या नहोला भन्न सकिन्न।’
कतिपय ठुला रणनीतिक महत्वका सडक सञ्जाल र सुरुङमार्ग बनाउन विस्फोटक पदार्थको अभाव रहेको विभागले जनाएको छ। भारतले विस्फोटक पदार्थ रोकेको यो पहिलोपटक भने होइन। विगतमा पनि भारतले विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको थियो। विकासे आयोजना निर्माणका लागि विस्फोटक पदार्थ भारतबाटै आयात गर्नुपर्छ।
यसअघि नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा पनि भारतले विस्फोटक पदार्थ रोक्दा निर्माण कार्य प्रभावित हुन पुगेको थियो। नेपाली सेनाले नेपालमा दैनिक १० टन विस्फोटक पदार्थ उत्पादन गरिरहेको जनाएको छ। नागढुंगा सुरुङमार्ग आयोजनामा पनि सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न प्रस्ताव गरे पनि जापानी कम्पनीले परीक्षण गर्नुपर्नेलगायत कारण देखाएर मानेको थिएन।
भारतले नेपालमा आफ्नै पुँजी, स्रोत र जनशक्तिमा प्रयोग हुने आयोजनाहरूलाई प्राथमिकतामा राख्ने गरेको छ। अर्थात् नेपालमा चिनियाँ कम्पनी र लगानीमा निर्माण भएका कतिपय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीसमेत भारतले किन्न आनाकानी गर्दै आएको छ।
नेपालका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ लगानी छ। नयाँ सरकार परिवर्तनपछि नेपालमा चिनियाँ प्रभुत्व बढ्न थालेको भन्दै भारतले विभिन्न बहाना बनाएर विस्फोटक पदार्थलगायतमा कडाइ गर्न थालेको विज्ञहरू बताउँछन्।
भारतबाट नेपालमा विस्फोटक पदार्थ ल्याउन भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिनुपर्छ। प्रत्येक ६ महिनामा एनओसी नवीकरण गरेपछि मात्र विस्फोटक पदार्थ आयात गर्न पाइन्छ। तर नवीकरण गर्ने अवधि सकिएको दुई-तीन महिना हुँदासम्म भारतीय दूतावासले एनओसी दिएको छैन।
प्रकाशित: २५ वैशाख २०८१ ०६:४६ मंगलबार