६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

चिमटीका अग्निपीडितलाई राहतमा ‘ग्यास चुलो र सिलिण्डर’

तस्बिर : मिथिलेश/ नागरिक

जिल्ला उद्योग वाणिज्य संघ लहानले सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ।

संघको नेतृत्वमा ५१ अग्नि पीडित परिवारलाई ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको अध्यक्ष विकास सारडाले जानकारी दिए।

गत मंगलबार दिउँसो भएको आगलागीमा थातबास जलेर बिचल्लीमा परेका अग्नि पीडितहरूको खाना पकाउने ग्यास सिलिण्डर र चुलो पाएपछि मुहार उज्यालिएको थियो।

‘राहतमा पाएको चामल र दाल उमालेर खाने साधन थिएन, अग्निपीडित रामदेव यादवले भने, ‘ग्यास चुलो र सिलिण्डर पाएपछि राहत मिल्यो। अब सुक्खा चिउरा र चाउचाउ खानुपर्ने बाध्यता दूर भयो।’

महदेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले खाना पकाउने साधन पाउँदा बल्ल राहतको अनुभव भएको सुनाए। उनले भने ‘चिउरा, चाउचाउ बाँड्ने धेरै आउँछन्। चामल, दाल बाँड्ने पनि आइरहेका छन्। तर, अग्निपीडितलाई आवश्यक पर्ने मुख्य पकाउने साधन दिने कोही आएका थिएनन्। खाना पकाउने साधन पाउँदा ठूलो राहत भयो।’

उनले गाँसको बन्दोबस्त लगभग भएको बताउँदै अब बसोबासका लागि घर, टहरा निर्माणतर्फ पहल सुरु गर्न बताए।

जिल्ला उद्योग वाणिज्य संघ लहानका सचिव प्रदीप गुप्ताले अग्नि पीडितलाई राहत वितरणमा सहयोग गर्ने आस्था नेपाल र हेल्पिङ ह्यान्ड्सका पदाधिकारीहरुलाई धन्यवाद दिए।

आगलागी विपद्मा पीडितलाई राहत उपलब्ध गराएर परोपकार र मानवता प्रदर्शन गर्ने सम्पूर्णप्रति महदेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादवले आभार व्यक्त गरिन्। यादवले दुःखको अवस्थामा सबैलाई साथमा रहेर सहयोग गर्न आग्रह गरिन्।

वाणिज्य संघका अध्यक्ष सारडाले दैवी विपत्तिबाट जोगिन सुरक्षित जीवनशैली अपनाउन सुझाए। पीडितका लागि सबैले मिलेर राहतको कामलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए। 

सप्तरीको मुकाम राजविराजबाट झन्डै ७ किलोमिटर दूरीको यो गाउँमा मंगलबार आगलागी भएको थियो।

स्थानीय शत्रुधन यादवको गोठबाट सुरु भएको आगलागी केही बेरमै पूरै गाउँमा फैलियो। बाँस तथा माटोका ढाँचामाथि फुस, जस्ता र खपडाका छाना भएका घरहरूमा बेगले चलेको हावाले आगो फैलाएको थियो।

प्रहरीका अनुसार यहाँका २ सय ८० घर टहरा,  गोठ र भुसघर जलेर नष्ट भएका छन्।

प्रकाशित: २३ वैशाख २०८१ १९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App