पर्खौं माया एक रात, अग्राख कतै पलाउँछ कि,
करुणाले हाम्रो प्रीति, दुबोसरी फैलाउँछ कि।
हराए पनि, कराए पनि, दुनियाँसँग डराए पनि,
पिरती हाम्रो अडेकै छ अरूले मन नपराए पनि।
पर्खौं माया एक रात, अग्राख कतै पलाउँछ कि,
निष्ठुरीका आँखाभित्र, कतै आँसु टलपल्याउँछ कि।
असिना पानी दर्के पनि, अति नै घाम चर्के पनि,
विश्वासमा हामी टिकेकै छौं, धरती नै थर्के पनि।
पर्खौं माया एक रात, अग्राख कतै पलाउँछ कि,
आफन्तको अहंकारलाई धातु सरी गलाउँछ कि।
आशा पनि, भरोसा पनि, पिरतीको नशा पनि,
वर पनि, पर पनि, जताततै पिरतीको घर पनि।
पर्खौं माया एक रात, अग्राख कतै पलाउँछ कि,
छ कि कतै जूनकिरी, अँध्यारामा चम्काउँछ कि।
प्रकाशित: ३ माघ २०८२ १३:४७ शनिबार





