अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार असामान्य कदम चाल्दै इरान सरकारलाई धन्यवाद दिएका छन्। ह्वाइट हाउसबाट निवास जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानले ८०० भन्दा बढी व्यक्तिको मृत्युदण्ड रद्द गर्यो, र उनीहरूले यसलाई रद्द गरेकोमा धेरै सम्मान छ।’
उनले आफ्नो सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘इरानी नेतृत्वले सबै मृत्युदण्ड (जुन ८०० भन्दा बढी थिए) रद्द गरेकोमा म धेरै सम्मान गर्छु। धन्यवाद!’ ट्रम्पले यो कुरा तब गरेका हुन् जब केही दिनअघि उनले इरानमा विरोध प्रदर्शनका क्रममा ठूलो हत्या भए अमेरिकाले सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। अब इरानले मृत्युदण्ड स्थगित गरेपछि सैन्य हस्तक्षेपको सम्भावना कम भएको र यसले ठूलो प्रभाव पारेको ट्रम्पले बताए।
यो बयानले अमेरिका र इरानबिचको तनाव केही कम हुने संकेत गरेको छ, यद्यपि इरानमा प्रदर्शन जारी छ। डिसेम्बर २०२५ अन्त्यतिर महँगीविरुद्ध सुरु भएको आन्दोलन अहिले सर्वोच्च नेता अली खामेनीविरोधी बनेको छ। प्रदर्शनकारीहरूले चार दशकपछि राजतन्त्र फर्काउन माग गर्दै निर्वासित युवराज रेजा पहलवीको पक्षमा नारा लगाइरहेका छन्। पहलवीले नै प्रदर्शनकारीहरूलाई सडकमा उत्रन आह्वान गरेका थिए। उनी छिट्टै तेहरान फर्कने बताउँछन्।
खामेनी शासनले विरोध दबाउन दमन बढाएको छ। मानव अधिकार समूहहरूका अनुसार प्रदर्शनमा कम्तीमा २४ सयदेखि १२ हजारसम्म प्रदर्शनकारी मारिएका छन्। सरकारी पक्षबाट पनि सयौं सुरक्षाकर्मी मारिएका छन्। दशौं हजार मानिस पक्राउ परेका छन्। इरानमा इन्टरनेट र फोन सेवा पूर्ण रूपमा बन्द छ, जसले दमनलाई लुकाउन सहयोग गरिरहेको छ। अमेरिकी सहयोगी कतार, ओमान र साउदी अरेबियाजस्ता देशहरूले ट्रम्पलाई आक्रमण नगर्न सल्लाह दिइरहेका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: ३ माघ २०८२ १४:०५ शनिबार





