३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अत्यधिक गर्मीले मजदुर मारमा

नेपालगन्जमा ज्यालादारी काम गर्ने राम डगौरा तीन दिनदेखि ज्वरो र रुखाघोकीले थलिएका छन्। दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने उनी थलिएपछि घरको आम्दानी शून्य छ।

त्यही ज्यालाबाट उनले पाँचजनाको परिवार पालनपोषण गर्छन्। अबको चार/पाँच दिनसम्म उनी काममा नफर्किने हो भने परिवार चलाउनै हम्मेहम्मे हुने उनको भनाइ छ

‘घरमा अरु आम्दानीको स्रोत छैन,’ उनले भने, ‘म मात्रै कमाउने हो। आफैँ बिरामी भएपछि अहिले बचेको केही रकमले घर खर्च चलाएको छुँ।’

उनीजस्तै निर्मला परियारको अवस्था पनि उस्तै छ। अत्यधिक गर्मीका कारण उनी पनि काम गर्न कोठाबाट बाहिर निस्किन सकेकी छैनिन्। उनीहरु मात्र होइन, नेपालगन्जमा अत्यधिक गर्मी हुँदा सबैभन्दा ठूलो मारमा श्रमिक तथा मजदुरहरु परेका छन्।

नेपालगन्जमा आठ/दश दिनदेखि ‘लु’ सुरु भएको छ। दिउँसोमा हिँड्डुल गर्न नसक्ने गरी तातो हावा ‘लु’ लागेपछि उनीहरु काममा निस्किन समस्या छ। निस्केका कतिपयहरु बिरामी भएर थलिएका छन्।

अत्यधिक गर्मी हुँदा ज्यालादारी काम गर्न समस्या भएको रामलखन चौधरीले बताए। ‘दिउँसो गर्मीले काम गर्न निक्कै समस्या छ,’ उनी भन्छन्, ‘के गर्ने बाध्यताले काम नगरि हुँदैन।’ बिरामी भएपछि मात्र काम रोकिने भन्दै उनले भने, ‘जति गर्मी भए पनि काममा त जानै पर्‍यो। काम नहुँदा त परिवार चलाउनै गाह्रो हुन्छ।’

नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मी हुँदा अस्पतालमा बिरामीहरुको संख्या पनि बढ्दै गएको छ। सामान्यमा झाडापखालासमेत देखिएको छ।

भेरी अस्पतालमा दैनिक आठ/१० जना झाडापखालाका बिरामी भेरी अस्पतालमा आउने गरेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी संकेतकुमार रिसालले जनाए।

‘पहिलाका भन्दा अहिले बिरामीको संख्या बढ्दो छ,’ उनले भने, ‘जसमध्ये केही झाडापखालाका बिरामीसमेत देखिएका छन्।’ झाडापखाला प्रकोपका रुपमा भने नदेखिएको उनको भनाइ छ।

गर्मी बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण नेपालगन्जलगायत कोहलपुरलगायतका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ।

प्रकाशित: १९ वैशाख २०८१ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App