६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

‘हरित सर’को किरण

पोलियोका कारण सुर्खेतको वीरेन्द्रनगरका किरण सापकोटा कहिल्यै आफ्नो खुट्टामा उभिएर हिँड्न सकेनन्। हिँड्ने उमेरमा पनि खुट्टा नचलेपछि उनका आमाबुवाले चेकजाँच गराउन अस्पताल पुर्‍याए। चिकित्सकले पोलियोका कारण किरण हिँड्न नसक्ने बताए। ‘पोलियोका कारण मेरो कम्मरमुनिको भाग चल्दैन,’ ३३ वर्षीय किरणले भने, ‘नजिकै जानु परे छडीको सहायता लिन्छु, टाढा जाँदा स्कुटर चलाउँछु।’

यिनै किरण अहिले नेपालमा मात्रै होइन, भारतका विद्यालयमा हरित अभियान चलाइरहेका छन्। सापकोटा व्यक्तिगत खर्चमा विद्यालयमा बिरुवा रोप्छन्, बगैँचा बनाउँछन् र सरसफाइ अभियान चलाउँछन्। सापकोटाले सात वर्षदेखि ‘ग्रीन एण्ड क्लिन स्कुल’ अभियान चलाइरहेका छन्। यही अभियानले वर्षामा झारपातले ढाकिने र हिउँदमा उजाड देखिने विद्यालयहरू अहिले हराभरा बनेका छन्।  

उनी स्कुले बालबालिकालाई बिरूवाले दिने फाइदा, वातावरणको महत्त्व, पर्यावरण सफा राख्नेबारे शिक्षा पनि दिन्छन्। उनलाई पहिल्यैदेखि वातावरणमा चासो थियो। २०७१ सालमा पोखरामा स्नातक पढ्दै गर्दा फेवातालको अतिक्रमण जोगाउन खबरदारी गरेका थिए उनले। ‘फेवातालको अतिक्रमण मलाई चित्त बुझेको थिएन, मैले पर्चा, पाम्प्लेट बनाएर फेवाताल हाम्रो सम्पदा हो, यसको अतिक्रमण रोकौं भनेर सानो अभियान चलाएँ,’ उनले भने।

पोखराबाट सुर्खेत फर्किएपछि उनी एकपटक वीरेन्द्रनगरको एउटा स्कुलमा पुगेका थिए। त्यतिबेला उनी नेपाल रेडक्रस सोसाइटीमा आबद्ध थिए। रेडक्रसले आयोजना गरेको दन्त शिविरमा सहभागी हुन त्यो विद्यालयमा जाँदा देखिएको दृश्यले उनलाई ‘हरित विद्यालय’ अभियान चलाउन प्रेरणा दियो।

विद्यालयमा पढिरहेकी एक छात्राको एउटा खुट्टा थिएन। ती छात्रा टन्टलापुर घाममा बसिरहेकी थिइन्। विद्यालयमा छहारी दिन रूखबिरूवा थिएनन्। स्कुल हाताभित्रको वातावरण सुक्खा थियो। उनले त्यही बेला आफूले विश्वविद्यालयबाट पाएको छात्रवृत्तिबाट केही रकम ती छात्रालाई सहयोग गर्ने घोषणा गरे। र, त्यहीँबाट हरित तथा सफा विद्यालय अभियान चलाउने सोच पनि बनाए। ‘त्यो दृश्यले मलाई पोल्यो।

२०३० सालमा स्थापना भएको विद्यालयमा बिरूवा देखिएन,’ किरणले भने, ‘त्यतिबेला मलाई राज्यले शैक्षिक पूर्वाधारतर्फ लगानी गरे पनि समुदाय र वातावरणप्रति उत्तरदायित्व नभएको महसुस गरायो।’

उनी सरकारी विद्यालयमा देखिएको दुरावस्थाले बिरुवा रोप्न र बगैँचा बनाउन प्रेरित गरेको बताउँछन्।

‘सरकारी विद्यालय परिसर गाईबस्तु चराउने र दुव्र्यशनीहरूको अखडा बन्न थाले,’ उनले भने, ‘त्यो देखेपछि बिरुवा रोप्ने र बगैँचा बनाउने अभियानको सुरुवात गरेको हुँ।’

एउटा विद्यालयमा बगैँचा बनाउन कम्तीमा ३५,००० रुपैयाँ खर्च लाग्ने गरेको उनी बताउँछन्। उनको काममा शिक्षक, विद्यार्थी र साथीहरूले सघाइरहेका छन्। बिरुवा लगाउने र बगैँचा बनाउने भन्दा त्यसको संरक्षण गर्न निकै मुस्किल हुने गरेको उनको अनुभव छ।

‘लगाएका विरुवा र संरक्षण गर्नका लागि राखिएका जालीहरू चोरी हुन्छन्,’ उनले भने, ‘स्कुलमा कतिपय शिक्षकले किन दुःख गर्नु हुन्छ बिरुवा चोरी हुन्छ र मेहनत खेर जान्छ भन्नुहुन्छ, तर मनले मान्दैन। जतिपटक चोरी हुन्छ, त्यतिपल्ट बिरुवा रोपिहाल्छु।’

हालसम्म ९५ सामुदायिक विद्यालयलाई उनले बगैँचा बनाएर हरभरा बनाउन सघाएका छन्। उनको यो अभियान सुर्खेतमा मात्रै सीमित छैन्। कर्णाली, सुदूरपश्चिम प्रदेश हुँदै अहिले भारतमा पनि हरित र स्वच्छ विद्यालय अभियान सुरु गरेका छन्।

उनलाई ओहोरदोहोर गर्न असहज भए पनि अभियान चलाउन र त्यसको ‘फ्लोअप’ गर्न दुर्गम विद्यालयहरूमा पनि पुग्छन्। ‘विद्यालय पुगेर त्यहाँको खाली भागमा विभिन्न प्रजातिका बिरूवा रोप्छु। अहिलेसम्म विभिन्न प्रजातिका छ हजार बिरूवा रोपिसकेँ, त्यसको फाइदाबारे बालबालिकालाई जानकारी पनि गराउँछु,’ उनले भने, ‘संरक्षणको जिम्मा पनि विद्यार्थीलाई नै दिन्छु।’

बिरूवा संरक्षण गर्नका लागि अभियान सञ्चालन भएका विद्यालयमा विद्यार्थीको सहभागितामा ‘ग्रीन क्लब’ गठन गर्छन्। यसमा शिक्षकहरू संरक्षक बस्छन्। अभिभावकले विद्यार्थीले गरेका गतिविधिहरूको अनुगमन गर्छन्। बढ्दो जलवायु परिवर्तनको समस्याबारे पढ्दै गरेका बालबालिकालाई विद्यालयबाटै सिकाउन सकियो भने भोलि उनीहरूले यसमा काम गर्ने उनको बुझाइ छ।

आफ्नी स्वर्गीय आमाले बचत गरेको रकमबाट प्राप्त हुने बैंकको ब्याजबाट आफूले विद्यालयहरूलाई हराभरा चलाउने अभियान चलाएको उनी बताउँछन्। बिरुवादेखि संरक्षणको लागि तारजाली, इँट्टा र बाँस उनले आफैँ किन्ने गरेका छन्। बिरुवालाई पानी हाल्न, गोडमेल गर्न र मल हाल्न पनि उनी आफैँ जाने गर्छन्। महिनैपिच्छे बिरुवा किनेर लगाउन खर्च नपुग्ने भएपछि सापकोटाले घरमै बिरुवा उत्पादन गर्न थालेका छन्।

सात वर्षअघि उनले आमा गुमाए। आमाले आफ्नो नाममा स्थानीय एक सहकारी संस्थामा राखिदिएको झन्डै १० लाख रुपैयाँको ब्याजबाट गर्ने कार्यमा श्रीमती, बुवा र दाइहरूले पनि सघाइरहेका छन्। बोटबिरुवा, बगैँचा र फूलबारीले विद्यालयमा हरितमैत्री वातावरण निर्माण हुने र त्यसले बालबालिकाको सिकाइलाई सहयोग गर्ने उनी बताउँछन्।

 सुरूसुरूमा यो अभियान चलाउँदा उनलाई विद्यालयहरूले सहयोग गरेका थिएनन्। त्यसैले आमाले आफ्नो भविष्यका लागि जम्मा गरिदिएको रकम चलाएका हुन्। ‘आमाले मेरो भविष्यका लागि राखिदिएको पैसा फजुल खर्च गरेँ जस्तो पनि महसुस भएको थियो,’ किरणले भने, ‘अहिले विद्यालयमा बिरूवा हुर्केको देख्दा खुसी लागेको छ।’

विद्यालयहरूमा संरचना र जनशक्ति नहुँदा बिरूवा संरक्षण गर्न समस्या भएको उनले बताए। ‘युवाहरूले राति वा बिदाको समयमा स्कुललाई सार्वजनिक संरचनाका रूपमा प्रयोग गर्ने अवस्था छ। उनीहरूले बिरूवा उखेलेर फालेको पनि देखियो,’ किरणले भने, ‘एउटा स्कुलमा त मैले १४ पटक धूपीको बिरूवा रोपेँ, राति मानिसले उखलेर फालिदिने, त्यहाँका शिक्षकले मलाई खबर गर्ने र म गएर फेरि रोप्ने चलिरह्यो।’ बिरूवा रोपेर मात्र हुँदैन, त्यसको संरक्षण महत्वपूर्ण भएकाले हुर्काउने जिम्मा पनि लिनुपर्ने किरण बताउँछन्।

किरणले सुर्खेतको वीरेन्द्रनगरबाट सुरु गरेको यो अभियान अहिले भारतसम्म पुगेको छ। केही महिनाअघि उनी उत्तर प्रदेशको अयोध्यामा रहेको उ.प्रा. अयोध्या माविमा पुगेर ग्रीन विद्यालय अभियान सुरु गरे। ‘अब ग्रीन विद्यालय अभियानलाई विश्वसँग जोड्नका लागि ग्रीन वर्ल्डको कल्पना गरेको छु,’ उनले भने, ‘त्यसको सुरुवात भारतबाट भएको छ।’

 नेपाल हुँदै यो अभियान भारत पुर्‍याउन उनले ठूलै संघर्ष गर्नुपर्‍यो। नेपालमा आफैँले उत्पादन गरेका विरुवाहरू उनले दिन पाएनन्। सुरुमा विद्यालय खोज्नै समस्या पर्‍यो। नेपालसँग सीमा जोडिएको भारतीय बजार रुपैडिहामा उनका एक साथी थिए। तिनैमार्फत उनी अयोध्यासम्म पुगे। त्यसअघि विद्यालयका प्रधानाध्यापकसँग सामाजिक सञ्जालमार्फत आफ्नो अभियानका बारेमा जानकारी गराए।

‘मेरो अभियानका बारेमा विद्यालयलाई जानकारी गराउँदा सुरुमा उहाँहरूले अप्ठ्यारो मानेजस्तो गर्नु भएको थियो,’ उनले भने, ‘पछि भने उहाँहरूले उल्लेख्य सहयोग गर्नुभयो ।’

उनले अयोध्यामा ५० वटा विरुवा रोपे। नेपालबाट उनले घरमै हुर्काएको स्वामीको एक विरुवा लगेका थिए। गुलमोहर, धुपी, अशोकका विरुवाहरू त्यहीँ किनेर रोपे। नेपालमा जस्तै विरुवा रोपेपछि जलवायू परिवर्तन, रुख–विरुवाको महत्वलगायतका विषयमा कक्षा लिए। ग्रीन क्लब गठन गरे।

उत्तर प्रदेशबाट सुरु भएको उनको यात्रा अहिले राजस्थान पुगेको छ। राजस्थानको जयपुरस्थित महात्मा गान्धी सरकारी विद्यालयमा भर्खरै आफ्नो अभियानको सुरुवात गरेका छन्। अब उनी भारत हुँदै विश्वका अरु देशहरूमा पनि यो अभियान सञ्चालन गर्ने तयारीमा छन्।

किरणलाई स्कुले विद्यार्थीहरूले ‘हरित सर’ भनेर चिन्छन्। देश हुँदै विदेश पुगेको उनको अभियानको पहिलो चुनौती विरुवाहरूको संरक्षण नै हो। ‘स्कुलहरूले आफ्नो हाताभित्रको खाली क्षेत्र संरचना बनाउने जग्गाको रूपमा मात्र सोचेका हुँदा रहेछन्, लगाएको बिरूवा हुर्किन्छन्, त्यहीँ फेरि भवन बनाइदिँदा रहेछन्,’ उनले भने, ‘दुःख गरेर हुर्काएका विरुवा संरचना बनाउने नाममा काटिदाको पीडा मैले शब्दमा कसरी व्यक्त गरुँ?’ 

धेरै विरुवालाई जीवन दिएका उनी विरुवाजस्तै मौन छन्। आफूले गरेको कामको प्रचार उनी गर्दैनन्। ‘विरुवा मौन छ, अक्सिजन दिन्छ, मेरो स्वभाव पनि त्यस्तै छ, म पनि विरुवा जस्तै मौन हुन्छु,’ उनले भने।

अहिलेसम्म आमाले जम्मा गरिदिएको पैसाबाट अभियान चलाए पनि सकिएपछि खर्च कसरी जुटाउने भन्ने उनको अर्को पीर हो। किरणले अहिलेसम्म यो अभियानका लागि भनेर कुनै संस्था दर्ता गरेका छैनन्। संस्थामा हुने सहयोगले आफू लोभमा पर्ने चिन्ताले दर्ता नगरेको उनी बताउँछन्। ‘हरित सर’ विद्यालयमा विरुवा रोप्ने र बगैँचा बनाउने मात्रै काम गर्दैनन्, सडक सुरक्षामा खबरदारी गर्न पनि सक्रिय छन्।

२०७३ सालदेखि सडक सुरक्षा अभियान चलाइरहेका उनले सुर्खेतका सडकमा जेब्राक्रसिङका लागि व्यक्तिगत रूपमा खबरदारी उनैले सुरू गरेका थिए। सडक सुरक्षामा जोडिनुमा एउटा घटना किरणसँग जोडिएको छ।

उनी प्लस–टु पढ्न काठमाडौं गएका थिए। एक दिन पुतलीसडकमा भएका बेला एउटा बालकले जथाभावी सडक पार गरे। बालकलाई उनकी आमाले समातेर एक थप्पड हानिन्। त्यसपछि किरणलाई देखाउँदै भनिछन्, जेब्राक्रसिङबाट बाटो नकाट्दा गाडीले हानेर तँ पनि त्यो मान्छे जस्तै होलास्।

त्यो सुनेर किरणको मन पोल्यो। ‘म त त्यसरी अपांगता भएको थिइनँ, मलाई मनमा पीडा भयो,’ उनले भने,’ त्यसपछि मैले जेब्राक्रसिङको बारेमा धेरै सोचेँ। सुरूमा दिल्लीबाट रङ ल्याएर सुर्खेतको सडकमा लाइन बनाएँ, त्यो मेटियो। २०७६ सालमा फेरि वीरेन्द्रचोकमै अर्को लाइन बनाएँ र बीचमा प्रश्नवाचक चिह्न बनाइदिएँ।’

प्रकाशित: १३ वैशाख २०८१ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App