अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वनको काठ बेचबिखन र विभिन्न प्रशासनिक शीर्षकमा करिब ७ लाख १५ हजार ९ सय १६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।
आयोगका अनुसार भेरीगंगा नगरपालिका वडा नं-१३ मा रहेको साजगोठेरी सामुदायिक वनका तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाले आपसी मिलेमतोमा सरकारी र सार्वजनिक सम्पत्तिको बदनियतपूर्ण दुरुपयोग गरेका हुन्।
आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को अवधिमा वनको स्रोत परिचालन गर्दा उनीहरूले व्यापक अनियमितता गरेको अनुसन्धानबाट खुलेको छ।
आयोगको अनुसन्धानले उक्त सामुदायिक वनमा १ हजार क्युबिक फिट काठ कटान गरी ९८१.२४ क्युबिक फिट बिक्री गर्दा न्यूनतम दररेटभन्दा ९५ हजार १ सय १८ रुपैयाँ ८० पैसा कम आम्दानी देखाएको फेला पारेको छ।
आम्दानी कम देखाएर बाँकी रकम पदाधिकारीहरूले व्यक्तिगत लाभमा प्रयोग गरेको आयोगको दाबी छ। त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनमा काठ चिरानी खर्च अस्वाभाविक रूपमा बढी देखाइएको छ।
वास्तविक दररेटभन्दा ३ लाख ६६ हजार ९ सय १६ रुपैयाँ ५ पैसा बढी खर्च भएको विवरण पेस गरी संस्थालाई प्रत्यक्ष हानिनोक्सानी पुर्याइएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पदाधिकारीहरूले वनहेरालुको पारिश्रमिकमा समेत कीर्ते कागजात बनाएको पाइएको छ। लेखापरीक्षण प्रतिवेदनमा वनहेरालुलाई २ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको देखिए पनि वास्तवमा उनीहरूले १ लाख ३० हजार रुपैयाँ मात्र बुझेका थिए। यसरी ९० हजार रुपैयाँको झुट्टा भरपाई बनाएर हिनामिना गरिएको अख्तियारको ठहर छ।
अनियमितताको शृङ्खला यतिमा मात्र सीमित छैन। तत्कालीन अध्यक्ष लोक बहादुर महताराले वनको विधान संशोधन गर्न काठमाडौं जाँदा बिना कुनै ठोस आधार र शीर्षक १ लाख २० हजार रुपैयाँ बुझेको अनुसन्धानमा देखिएको छ।
उक्त रकम के कुन काममा खर्च भयो भन्ने कुनै प्रमाण पेस गर्न नसकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा वनको कार्यालय प्रयोजनका लागि ५२ हजार रुपैयाँ घरभाडा खर्च भएको देखाइएको थियो। तर, अनुसन्धानका क्रममा घरधनीले हालसम्म ८ हजार रुपैयाँ मात्र बुझेको बयान दिएपछि ४४ हजार रुपैयाँको झुट्टा बिल भरपाई खडा गरी रकम निकालिएको पुष्टि भएको छ।
अख्तियारले प्रतिवादीहरू लोक बहादुर महतारा, मान कुमारी पौड्याल र दल बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ७ लाख १५ हजार ९ सय १६ रुपैयाँ ५ पैसा बिगो कायम गरेको छ।
आयोगले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) र (घ) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो समेत असुल उपर गर्न मागदाबी लिएको छ।
प्रकाशित: १ असार २०८३ १६:५० सोमबार





