अघिल्लो साता ‘जीवनबुटी’ यार्सागुम्बा खोज्न डोल्पाको पाटन पुगेका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३ स्थित धो–टास्की क्षेत्रमा पर्ने तिनजङ खोला पाटन पुगेका बेला नलगाढ नगरपालिकाका ४३ वर्षीय सिंहलाई लेक लागेको थियो। पछि उपचारका लागि दुनैतर्फ ल्याउने क्रममा जेठ १६ गते काइके गाउँपालिकाको लैनी क्षेत्रमा उनको बाटामै मृत्यु भयो। जीवनबुटी खोज्न गएकी जुम्लाको गुठीचौर गाउँपालिका–३ की २४ वर्षीया आङ्बु बुढाले पनि डोल्पाको पाटनमा ज्यान गुमाइन्। से–फोक्सुन्डो गाउँपालिका–८ स्थित फुलवार पाटनमा लेक लागेर बेहोस भएकी बुढाको उपचारका लागि स्वास्थ्य चौकी ल्याउने क्रममा जेठ ४ गते मृत्यु भएको थियो।
जुम्लाकै गुठीचौर गाउँपालिका–१ की १७ वर्षीया किशोरी मनकली रोकायको पनि यो वर्ष यार्सा पाटनमै मृत्यु भयो। जीवनबुटी खोज्न डोल्पाको से–फोक्सुन्डो–५ काङ्ला पाटन पुगेकी रोकायालाई लेक लागेपछि से–फोक्सुन्डो स्वास्थ्य चौकी पुर्याउने क्रममा गत वैशाखको अन्तिम साता मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले यसपालि डोल्पाको यार्सा पाटनमा तीन जनाको मृत्यु हुनुका साथै ११ जना बिरामी परेका छन्। बिरामी पर्नेमा तीन जना विदेशी नागरिक पनि छन्। ‘बिरामीहरूलाई यार्सा पाटनबाट उद्धार गरेर सदरमुकाम दुनै ल्याएका छौं,’ डिएसपी गिरीले भने।
उनले सञ्चारको अभाव, कठिन भूगोललगायत कारणले गर्दा लेक लागेका बिरामीहरूको उद्धारमा ढिलाइ हुने गरेको बताए। ‘पाटनहरूमा फोनले काम गर्दैन, बिरामी हुँदा समयमै जानकारी पनि हुँदैन,’ उनले भने, ‘समयमै उद्धार नहुँदा जीवनबुटी खोज्न गएकाहरूले नै आफ्नो जीवन गुमाइरहेका छन्।’
यो वर्ष मात्रै होइन, हरेक वर्ष जीवनबुटी खोज्न यार्सा पाटन जानेहरूले ज्यान गुमाइराखेका छन्। डोल्पाका पाटनमा मात्रै चार वर्षको अवधिमा १८ जनाको मृत्यु भएको प्रहरीसँग तथ्यांक छ।
डोल्पाको काइके गाउँपालिकाकी ४० वर्षीया कान्छी विकले यार्सा संकलनकै क्रममा अघिल्लो वर्षको जेठ १७ गते छोरी जन्माइन्। अत्यधिक चिसोका कारण तीन दिनपछि नवजात शिशुको मृत्यु भयो। व्यासऋषि सामुदायिक वनको पाटनमा यार्सा खोज्दै गर्दा उनले बालिकालाई जन्म दिएकी थिइन्।
रुकुम पश्चिमको आठबिस नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाही स्थानीय विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए। जन्डिसले थलिएपछि उनले जागिर छाडे। गाउँलेसँगै उनी यार्सा टिप्न डोल्पाको थागे पाटन पुगेका थिए। ‘पाँच छोराछोरीको पढाइ खर्च र घर खर्च टार्न बिरामी अवस्थामै उनी पाटन गएका थिए,’ आफन्त प्रेमा मल्लले भनिन्, ‘न यार्सा आयो न ज्यान रह्यो।’
छोराछोरी र आफन्तले शाहीको शव पनि देख्न पाएनन्। ‘पाटनबाट बोकेर ल्याउँदा चार–पाँच दिन लाग्ने भएकाले उनको उतै सद्गत गरिएको थियो। घरमा ११ वर्षीय छोरा गणेश किरिया बसेका छन्,’ उनले भनिन्, ‘यार्साको यात्रा जोखिमपूर्ण हुँदो रहेछ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २०७९ देखि हालसम्म डोल्पामा १८ जनाको मृत्यु हुनुका साथै ५२ जना बिरामी परेका छन्। यो अवधिमा मुगुका पाटनमा १० जनाले ज्यान गुमाउँदा २१ जना लेक लागेर बिरामी परेका छन्। जुम्लामा दुई जनाले ज्यान गुमाएका छन्। डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा पाटन खुला गरिएसँगै दर्जनौं पाटनमा अस्थायी मानवबस्ती बसेका छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न जिल्लाभरका मानिसहरू ज्यानकै जोखिम मोलेर हिमाली पाटनमा भरिएका छन्। डोल्पाका तीन दर्जनभन्दा बढी पाटनमा अहिले हजारौं यार्सा संकलक पुगेका छन्।
डोल्पासँगै कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य भागबाट समेत मानिसहरू यार्सा संकलनका लागि पाटन पुगेका छन्। विशेष गरी रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, जुम्ला, सल्यान, दैलेख, अछाम, बाजुरा, हुम्ला र मुगुबाट ठुलो संख्यामा यार्सा संकलकहरू डोल्पाका पाटनमा भेला भएका छन्। पाटनहरूमा स्कुले बालबालिका, दुधेबालक च्यापेका महिला, युवादेखि वृद्धवृद्धासम्म पुगेका छन्।
झन्डै एक महिनाको कमाइले वर्षभरिको घरखर्च धान्न सकिने आशामा अधिकांश परिवार घरमा ताला लगाएर पाटनमै बसाइँ सरेका छन्। एउटाकै हजारौं रुपैयाँ पर्ने भएकाले मानिसहरू भिर, हिमपहिरो र कठ्यांग्रिँदो चिसोलाई बेवास्ता गर्दै पाटनमा रातदिन यार्सा खोजिरहेका छन्। ‘घुँडासम्म धसिने हिउँ, भिरालो भूगोल र अस्थिर मौसमका बिच बुके पाटनदेखि चिनाराङ्सी, रातामाटा र पोकेपानीसम्म संकलकहरूको भिड लागेको छ,’ यार्सा पाटनमा रहेका स्थानीय पत्रकार विष्णुप्रसाद देवकोटाले भने, ‘बाहिरबाट हेर्दा पाटन जति रमाइलो देखिन्छ, यहाँको बास्तविकता धेरै कठिन छ, ज्यानको बाजी थापेर बालबालिकादेखि वृद्धवृद्धाहरू जीवनबुटी खोजिरहेका छन्।’ डोल्पाका यार्सा पाइने पाटन जेठ १० गतेदेखि खुलाइएका हुन्।
से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका निमित्त प्रमुख संरक्षण अधिकृत विज्ञान सेन ओलीका अनुसार झन्डै पाँच हजारभन्दा बढी मानिस पाटनमा छन्। ‘पाटन प्रवेशका लागि १६ स्थान तोकिएका छन्,’ उनले भने, ‘ती ठाउँबाट पाँच हजारभन्दा बढी मानिस पाटन प्रवेश गरेका छन्।’
संरक्षण अधिकृतका अनुसार यो वर्ष अहिलेसम्म राजस्व संकलनबाट झन्डै एक करोड रुपैयाँ उठेको छ। अघिल्लो वर्षमा भने एक करोड ९३ लाख राजस्व संकलन भएको थियो। निकुञ्जले मध्यवर्ती क्षेत्रका हकमा पाँच सय र जिल्लाका स्थानीयलाई दुई हजार र जिल्लाबाहिरका हकमा तीन हजार राजस्व शुल्क लिने गरेको छ।
निकुञ्जका अलावा स्थानीय तहले पनि राजस्व लिने गरेका छन्। मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले गाउँपालिकाले यो वर्ष यार्सा संकलकबाट २८ लाख राजस्व संकलन गरेको बताए। मुगुका पाटनमा पनि यो वर्ष पाँच हजारदेखि सात हजारको हाराहारीमा यार्सा संकलनका लागि गएका छन्। मुगुमा अघिल्लो वर्ष ३२ लाख राजस्व संकलन भएको थियो भने यो वर्ष हालसम्म २८ लाख राजस्व संकलन भएको प्रहरीको भनाइ छ।
प्रकाशित: ३ असार २०८३ ०८:१० बुधबार


-600x400.jpg)


