१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले अल जजीरामाथि अघोषित प्रतिबन्ध लगायो

पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा भएको क्षेत्रीय चुनाव र सरकारविरोधी प्रदर्शनबारे समाचार बाहिर ल्याएपछि कतारी प्रसारक अल जजीराको अंग्रेजी वेबसाइट पाकिस्तानमा पहुँचबाहिर भएको छ।

प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा वेबसाइट नखुलेको बताएका छन्। प्रधानमन्त्री शाहबाज शरीफको सरकारले यसबारे औपचारिक घोषणा गरेको छैन भने पाकिस्तान दूरसञ्चार प्राधिकरण वा अल जजीराले पनि आधिकारिक रूपमा पुष्टि गरेका छैनन्। तर पाकिस्तानमा वेबसाइट खुलिरहेको छैन।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले अल जजीरालाई ‘सेलेक्टिभ रिपोर्टिङ’ र ‘येलो जर्नालिजम’ गरेको आरोप लगाएको छ। मन्त्रालयले आफ्नो एक्स ह्यान्डलमा भनेको छ, ‘हामी मुजफ्फराबादमा सेलेक्टिभ मतदान केन्द्रहरूबाट अल जजीराको सेलेक्टिभ रिपोर्टिङबारे जानकार छौं। सेलेक्टिभ व्यक्तिहरूबाट सावधानीपूर्वक सेलेक्टिभ समय र लिपिबद्ध बयानहरूमार्फत च्यानलले एजेके चुनाव र मतदान प्रक्रियालाई गलत रूपमा प्रस्तुत गर्न खोजेको छ।’

मन्त्रालयले थप भन्यो, ‘यस्तो पत्रकारिताले बाह्य अभिनेताहरूको एजेन्डालाई मात्र पुष्टि गर्छ, जसले यस चुनावी अभ्यासलाई अवैध बनाउन र मुजफ्फराबाद तथा एजेकेका जनताको लोकप्रिय इच्छालाई कमजोर पार्न खोजिरहेका छन्।’ साथै, जनताले अराजकता र दबाबलाई अस्वीकार गरेको दाबी गर्दै मन्त्रालयले विदेशी मिडियालाई लाहोर, इस्लामाबाद र कराँची बाहिर रिपोर्ट गर्न पूर्वअनुमति (एनओसी) चाहिने नियम पनि स्मरण गराएको छ।

अल जजीराले मुजफ्फराबादबाट ग्राउन्ड रिपोर्ट प्रसारण गरेको थियो। पत्रकार कमाल हैदरको रिपोर्टमा बजार, पसल र यातायात बन्द रहेको तथा तीन दिनदेखि हडताल चलिरहेको उल्लेख छ। समाचारमा धेरै बासिन्दाले चुनाव बहिष्कार गरेका छन् भनिएको थियो। उनीहरूले जुन महिनादेखि भइरहेका प्रदर्शनमा कम्तीमा ५० देखि ८० जनासम्मको मृत्यु भएको स्थानीय अनुमान उल्लेख गरेका छन्। तर सरकारले आधिकारिक संख्या दिएको छैन। प्रदर्शनकारीहरूले यति धेरै मृत्यु र सुरक्षा बलको कारबाहीपछि चुनाव कसरी निष्पक्ष हुन सक्छ भनेर प्रश्न उठाएका छन्।

रिपोर्टमा मतदान केन्द्रहरूमा कम उपस्थिति, इन्टरनेट अवरोध र जनताको निराशा देखाइएको छ। केही बासिन्दाले आफूहरू मतदान नगर्ने बताएका छन् किनभने यसले दमनलाई समर्थन गरेजस्तो लाग्ने उनीहरूको भनाइ छ। अल जजीराले आफ्ना पछिल्ला रिपोर्टहरूमा प्रदर्शन, बहिष्कार र हिंसाको पृष्ठभूमि विस्तृत रूपमा समेटेको छ।

यो घटना जुन २०२६ देखि चलेका प्रदर्शनसँग जोडिएको छ। संयुक्त आवामी एक्शन कमिटी (जेएएसी) ले १२ वटा आरक्षित सिट (भारत प्रशासित कश्मीरबाट आएका शरणार्थीहरूका लागि, जो अहिले पाकिस्तानका अन्य ठाउँमा बस्छन्) हटाउनुपर्ने माग गरेको थियो। उनीहरूले आर्थिक सहुलियत, भ्रष्टाचार छानबिन र स्थानीय प्रतिनिधित्व बढाउने माग पनि राखेका थिए। सरकारले जेएएसीलाई प्रतिबन्धित संगठनको रूपमा तोकेपछि प्रदर्शन थप तीव्र भयो। सुरक्षा बलसँगको झडपमा दर्जनौंको मृत्यु भएको स्थानीय र अधिकारवादी समूहहरूको दाबी छ भने क्षेत्रमा इन्टरनेट आंशिक रूपमा बन्द छ।

यहाँको चुनाव तीन चरणमा विभाजन गरिएको छ। जुलाई २७ मा मिर्पुर, अगस्ट २ मा मुजफ्फराबाद र शरणार्थी सिट, तथा अगस्ट १० मा पुनच डिभिजनमा मतदान हुने तालिका छ। पाकिस्तान तहरिक-ए-इनसाफ (पीटीआई) ले चुनाव बहिष्कार गरेको छ। केही चरणमा मतदान प्रतिशत करिब ४६ देखि ५३ प्रतिशत रहेको चुनाव आयोगको दाबी रहे पनि आलोचकहरूले भने सरकारी दबाब र कम सहभागिता रहेको बताएका छन्।

प्रकाशित: १९ श्रावण २०८३ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App