२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कतारलाई उपहार: ‘खगेन्द्रप्रसाद' र ‘रुद्रकली', दुवै जङ्गली रोनाल्डोका सन्तान

नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो। 

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आज नेपाल आउन लागेका छन्। यी हात्ती औपचारिक रुपमा उनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार, सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो। 

‘सरकार र कतार बिचभएको एक किसिमको सम्झौता अनुसार यहाँका दुई वटा हात्ती कतार पठाउने तयारीमा छौँ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले भने, ‘कतार सरकारले चाहेको समयमा लैजाने गरी व्यवस्थापन भएको छ। यही दिन लैजाने भन्ने अझै यकिन छैन।’ 

हात्ती लैजानका लागि करिब एक वर्षदेखि तयारी थालिएको थियो। कतारका प्राविधिक यहाँ आएर हात्तीको अवस्थाबारे बुझेर गएको उनले बताए। ‘हात्ती लैजानका लागि कतारका प्राविधिक नेपाल आएर जानुभएको छ। हाम्रा प्राविधिक पनि कतार पुगेर त्यहाँको अवस्था बुझ्ने काम भएको छ,’ पुनले भने, ‘नेपाली प्राविधिकबाट कतारमा हात्तीको लागि उपयुक्त वातावरण भएको सुझाव प्राप्त भएको छ।’ उनले यहाँबाट लैजाने दुईवटै हात्तीको स्वास्थ्य रिपोर्ट कतार पठाएको बताए। 

यहाँबाट पठाउन लागिएका हात्ती जङ्गली हात्ती रोनाल्डोका क्रस हुन्। २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा खगेन्द्रप्रसाद जन्मिएको थियो। पाँच वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्। खगेन्द्र मलीको तौल अहिले एक हजार एक सय ९० केजी रहेको छ। कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको हो। खगेन्द्र  हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र मध्येको एक हो। खगेन्द्रले पर्यटकहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेका छन्।

नेपाल सरकारले कतारका राजाको नेपाल भ्रमणको क्रममा दुईवटा हात्ती उपहार दिने निर्णय गरेसँगै खगेन्द्रको कतार यात्रा निश्चित भएको हो। कतार पठाउन लागिएको अर्को पोथी हात्ती रुद्रकली साढे पाँच वर्ष पुगेकी छ। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भइसकेको छ।  त्यसले गर्दा उनलाई कुनै समस्या नहोस् भनेर कम्तीमा दुई जनाले रेखदेख गर्दै आइरहेका छन्। अहिले उसको तौल एक हजार दुई सय केजी रहेको छ। 

पूजाकलीको पाँच सन्तानमध्येको सबैभन्दा कान्छी रुद्रकलीको दिनचर्या पनि खगेन्द्रको जस्तै छ। खगेन्द्र र रुद्रकली दुवै स्वस्थ छन्। इमानदार, स्वस्थ र विदेशमा पनि सहज रूपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार स्वरूप पठाउन लागिएको हो। यी दुवै हात्ती गत वर्ष तालिम लिनेमध्येका उत्कृष्ट हुन्। उनीहरूलाई कतार लैजानका लागि कम्तीमा ९ जना प्राविधिक आवश्यक पर्ने निकुञ्जले जनाएको छ। कतार सरकारले कार्गो प्रयोग गरेर लैजाने तयारी गरेको पुनले बताए। 

नेपाल सरकारले हात्तीसँगै उनीहरूलाई रेखदेख गर्दै आइरहेका माहुतेहरूलाई पनिसँगै कतार पठाउने तयारी गरेको छ। हालसम्म विभिन्न देशहरूलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ। हालसम्म सबैभन्दा धेरै २६ वटा गैँडा उपहार दिइएको छ। 

प्रकाशित: ११ वैशाख २०८१ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App