२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दूधको भुक्तानी नपाउँदा किसानलाई गाई–भैंसी पाल्न कठिन

सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाई–भैंसी पाल्न कठिन भएको बताएका छन्।

गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब ८२ करोड भुक्तानी नपाउँदा गाई–भैंसी पाल्न कठिन भएको किसानले बताएका हुन्। भरतपुर महानगरपालिका– १३ चम्फानगरका होमनाथ सुवेदी दूध बेचेको पैसा भुक्तानी नपाएपछि गाई–भैंसीलाई के खुवाउने भन्ने समस्या उत्पन्न भएको बताउँछन्।

स्थानीय उज्ज्वल दुग्ध उत्पादक संस्थाका अध्यक्षसमेत रहेका सुवेदीले आफू मात्र नभई संस्थामा आबद्ध सबैजसो किसान समस्यामा परेको बताए।

‘विगत ६ महिनादेखि यहाँका विभिन्न डेरीले करोडौं रकम भुक्तानी नगर्दा किसानलाई दानासमेत दिन सकेका छैनौं। त्यसैले हामी समस्यामा छौं’, सुवेदीले भने।

उनका अनुसार सो संस्थाले स्थानीय सुजल डेरीसँग ९५ लाख र अन्य संस्थासँग गरी एक करोड ५० हजारभन्दा बढी रकम भुक्तानी लिन बाँकी छ। ती संस्थाले नियमित दूध लिइरहे पनि पैसा दिन आनाकानी गरिरहेका छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले चितवन दूधमा आत्मनिर्भर भए पनि दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसान निराश भएको बताए।

अहिले जिल्लामा रहेका दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डिडिसी) र सुजल डेरीलगायत संस्थासँग  ८२ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको र अन्तिमपटक चैत २१ सम्म भुक्तानी दिने गरी भएको सहमतिसमेत कार्यान्वयन नहुँदा गाईभैँसीपालक किसान पेसाबाट पलायन हुने अवस्था आएको उनको भनाइ छ।

‘किसानले बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ। अब चाँडै बक्यौता भुक्तानी नदिने हो भने धेरै किसान पेसाबाटै पलायन हुनेछन्। त्यसैले सहमति कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु’, बगालले भने।

चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ भने दैनिक एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ।

अहिले दूध नउठ्ने समस्या हटे पनि भुक्तानी नपाउने समस्या बढ्दै गएकाले तत्काल समस्या समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने स्थानीय किसानको आग्रह छ। –रासस

प्रकाशित: १० वैशाख २०८१ १७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App