२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धारापानी आगलागी : शनिबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीमा शनिबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा सकस भएको छ।

अत्यधिक हावाहुरी, दमकल छिर्ने बाटो अभाव, प्रशस्त पानी नहुनु, एकैपटक धेरै स्थानमा आगलागी हुनु आदि कारणले आगलागी नियन्त्रण गर्न सकस भएको हो।

भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा लागेको आगो नियन्त्रण बाहिर जान थालेको छ। शनिबार दिउँसो भूमिकास्थान– ३ को रातामाता जंगलबाट लागेको आगो रातामाटा, जाबुनडाँडा, बाँझाखर्क र भूमिकास्थान– ४ को फलामखिल्लीलगायतका बस्तीमा पस्दा ३० घर–गोठ, केही पशु चौपाया, किराना पसल र एउटा मोटरसाइकल जलेर नष्ट भएका छन्।

आगलागीमा परेर शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घर–गोठ, वसन्त मल्ल ठकुरीको घर–गोठ, विष्णु जिएमको किराना पसल, गंगबहादुरको घर, दुर्गा विकको घर, पुर्णप्रसाद भुसालको गोठ–मोटरसाइकल, भूपलाल भुसालको गोठ–भैंसी, झविलाल भुसालको घर, खिमप्रसाद भुसालको घर, तिलक भुसालको घर जलेर नष्ट भएका छन्।

यस्तै ईश्वरी भुसालको घर, काशिराम भुसालको घर, गंगा भुसालको गोठ, रामजी भुसालको घर–गोठ, कृष्ण ओलीको घर–गोठ–भैंसी, डोलप्रसाद भुसालको गोठ, भगवती थापाको घर–गोठ र पिताम्बर भुसालको गोठ जलेको प्रहरीले जनाएको छ।

हिजो दिउँसोदेखि नै आगो निभाउनका लागि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीय प्रयासरत रहे पनि आगो अझै सम्म नियन्त्रणमा आउन नसकेको नगर प्रमुख झविलाल थापाले जानकारी दिए। प्रमुख थापा भन्छन्, ‘जिल्लाका सबै संयन्त्र परिचालित छन् तर पनि आगलागी अझै नियन्त्रणमा आएको छैन।’

मानवीय क्षति नभएपनी दर्जनौं घरहरुमा आगलागी हुँदा  विष्णु जिएमको किराना पसल, पुर्ण प्रसाद भुसालको मोटरसाइकल, भुपलाल भुसाल र कृष्ण ओलीका एक–एक भैंसी जलेका छन्।  त्यहाँ रहेका पशुचौपाया तथा अन्य सामानहरु जलेर नष्ट भएको धारापानी प्रहरी चौकी धारापानीले जनाएको छ।

भुमिकास्थान बाहेक अर्घाखाँचीको शितगंगा नगरपालिकाको गोल्डुङ भन्ने स्थानमा आगलागी हुँदा एक घर–गोठ जलेर नष्ट भएको छ।

यस्तै पाणिनी गाउँपालिकाको खुलौले भन्ने स्थानमा एक घर–गोठ जलेको छ। जिल्लाका आधा दर्जन क्षेत्रमा आगलागी भइरहेको विवरणहरु प्राप्त छन्।

प्रकाशित: ९ वैशाख २०८१ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App