७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्तपत्ति खुल्दैनन् वन डढेलो लगाउने व्यक्ति

गण्डकीमा योवर्ष मात्र १२ सय ५० हेक्टर क्षेत्रफल जलिसक्यो

पोखरा–११ काहुँमा हालैमात्र लागेको आगो। तस्बिरः नागरिक

एकमहिना अघि पोखराको काँहुडाँडामा भीषण आगलागी भयो। बेलुकीको समयमा भिरालो क्षेत्रमा लागेको डढेलोले पोखरालाई नै त्रसित बनायो। पूर्णरुपमा आगो नियन्त्रण गर्न झन्डै चौबिस घण्टा लाग्यो।  

काहुँडाडाँमा आगलागी भईरहँदा पोखरा–२५ को हेम्जा नजिकैको वन क्षेत्रमा पाँचदिनदेखि लागेको आगो निभेको थिएन। आगलागीले हेम्जामा पनि ठूलो क्षेत्रफल वनजंगल नोक्सान भयो। त्यसयता पोखरा भित्रै र आसपासका धेरै डाँडाकाँडा आगलागीको चपेटामा परे। यतिसम्मकी आगलागीले गर्दा निस्केको धुँवाले गर्दा होटलमा बास बसेका पाहुना समेत बसाई सरेका थिए।  

कास्की मात्र नभई गण्डकी प्रदेशका ११ जिल्ला मध्ये हिमालपारिको जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा आगलागी भएको प्रदेश वन निर्देशनालयले बताएको छ। निर्देशनालयका अनुसार चैत मसान्तसम्मको तथ्यांक अनुसार योवर्ष गण्डकीको झन्डै १२ सय ५० हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ। सबैगरि १७० ठाउँमा आगलागी भएको निर्देशनालयले बताएको छ।  

आगलागी भएका जिल्ला मध्ये सबैभन्दा बढी म्याग्दी (३८२ हेक्टर) र कास्की (३५९ हेक्टर) मा वनक्षेत्र ध्वस्त भएको थियो। सबैभन्दा कम मनाङमा भएको थियो। त्यत्ति धेरै ठाउँमा ठूलो क्षेत्रफल ध्वस्त बनाउने गरि आगलागी भएपनि त्यो आगो कसले लगायो भन्ने बारे भने अहिलेसम्म पहिचान हुन सकेको छैन। आगलागीले ठूलो वन क्षेत्र नोक्सान भएपनि त्यो आगो कसले लगाएको हो भन्ने समेत पहिचान हुन नसकेको निर्देशनाले बताएको छ।

गण्डकी प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ भन्छन, ‘आगलागीले ठूलो वनक्षेत्र ध्वस्त भएपनि त्यो आगो कसले लगाएको हो भन्ने बारे खुलाउँनै सकस छ। योवर्ष ठूलो वनक्षेत्र ध्वस्त हुँदा पनि आगजनी गर्ने व्यक्ति वा समूह पहिचान भएन।’ उनका अनुसार आगलागी गर्ने व्यक्ति पहिचान गर्न सहज छैन। हत्तपत्ति पक्राउ पनि परेका हुँदैनन।

‘एकथरी मान्छेले जानिबुझि नै आगो लगाउँछन। आगो लगाउने ती मान्छेका बारेमा कोही खुल्दैनन्,’ उनले भने, ‘वनमा आगो झोस्ने व्यक्तिबारे गाउँलेलाई थाहा पनि हुन्छ। तर, गाउँलेले बताउँदैनन् किनकी त्यो व्यक्ति त्यही गाउँकै छिमेकी हुन्छ।’ मान्छे पहिचान भएपछि कारवाहीमा पर्ने डरले बताउन नखोज्ने उनले बताए। ‘रातीको समयमा कसले आगो लगायो भनेर पहिचान गर्न हामीलाई पनि हम्मेहम्मे पर्ने गरेको छ,’ उनले भने।

उनका अनुसार अहिले जे जति ठाउँमा आगलागी भएको छ, त्यो सबै स्थानीयले नै लगाएका हुन। तर, उनीहरु खुल्न चाहँदैनन। ‘मान्छेले जानजान आगो लगाएका हुन। त्यसमा स्थानीयबासि नै बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘जानजान आगो लगाएको देखिएको छ। त्यसैले आगलागी हुन नदिन स्थानीय नै सचेत हुनुपर्छ।’ वनमा आगो लगाउने करिब सतप्रतिशत व्यक्ति नै स्थानीय हुने भएपनि कारवाहीमा पर्ने डरले आगो लगाउने व्यक्ति खुल्न नचाहँदा समस्या थपिएको उनले बताए। ‘त्यही भएर पक्राउ पर्ने पनि कम हुने गरेका छन,’ उनले भने।

‘बाँदर आउँछ भनेर आगो लगाउने व्यक्ति पनि हाम्रै समाजमा छन। बालि भित्र्याएपछि फागुन महिनादेखि आगो लगाउने सुरु गर्छन। खरबारीमा घाँस पलाउँछ भनेर पनि लगाउँछन। केही सचेत छन तर, कतिपय सिकेर पनि नजाने झै गर्छन,’ उनले भने। उनका अनुसार सामुदायिक वनकै पदािधकारीले पनि अगाो लगाउँछन तर, गाउँलेले नभनेसम्म पक्राउ पर्दैनन।

‘रातीको समयमा आगो लगाउने भएकोले कसले लगायो भन्ने थाहा पाउन पनि मुस्किल हुन्छ। अपराधको रुपमा गाउँलेले हेर्दैनन। यो अपरोध हो भन्नेमा गाउँलेहरु सिरियस छैनन,’ उनले भने। उनका अनुसार नेपालमा प्राकृतिक रुपमा आगो खासै लाग्दैन। त्यही भएर मान्छेले नै लगाउने हुन। ‘आगो नै लगाउनुपर्ने अवस्था आएमा माघमा लगाउँदा ठिक हुन्छ। चैतमा त हावाहुरीले जोखिम थप्छ। सकेसम्म आगो लगाउने नै होइन, तर बाध्यात्मक अवस्था रहेमा माघमा ठिक हुन्छ,’ उनले भने।  

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी अध्यक्ष कालिदाश सुवेदीका अनुसार जग्गाधनी स्वयंले पनि जंगलमा आगो लगाउँछन। किनभने छेउको जंगलमा आगो लगायो भने वर्षासँगै खरानी बगेर खेतबारीमा आउने र त्यसले माटो मलिलो हुने र खेतीपाती फस्टाउँने सोचले पनि आगजनीका घटना हुने गर्छन। त्यस्तै लुकेर चुरोट–गाँजा खानेको हेलचेक्रयाँइले आगो लाग्ने गरेको छ। वन्यजन्तुबाट आत्तिएका बासिन्दाले आगो लगाएर वनक्षेत्र खालि बनाउन खोज्दा पनि आगजनीका घटना बढेको उनले बताए। नियमित जसो वनको झाडी क्षेत्र सफाई हुन छाड्दा छेउछाउँमा आगो लाग्नासाथ भीषण आकार लिने उनले बताए।  

‘पहिलाजस्तो पानी पर्ने क्रम रोकिएको छ र जमिन सुक्खा हुँदै जाँदा आगो लागेर भीषण आकार लिएको हो,’ उनले भने। त्यसबाहेक आगजनी गर्ने व्यक्ति पहिचान नहुने र कारवाहीमा नपर्दा पनि घटना बढिरहेको उनले बताए । ‘गाउँले भाई वा दाइ पक्राउ पर्छ भन्ने डरले आगो लगाउने व्यक्ति पहिचान गर्न गाउँलेले असहयोग गर्छन। त्यसबाहेक राजनीतिक कारणले पनि मेरो र तेरो भन्ने सोचाइले गर्दा व्यक्ति पहिचानमा समस्या छ,’ उनले भने, ‘वनमा आगजनी पनि अपराध हो भन्ने बुझ्नुपर्छ। गहिरिएर अनुसन्धान नहुँदा पनि मनोवल बढेको हो।’  

वन पैदावारलाई उपभोक्ता गर्न नपाउँदा स्वयं उपभोक्ता समुह नै वनलाई माया गर्न छाडदा यो अवस्था बढेको उनले बताए। वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।  

प्रकाशित: ५ वैशाख २०८१ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App