सबैखाले आन्दोलन र संंरचनामा सीमान्तकृत तथा विविध समूहको सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि आफ्नै समुदाय र समूहमा दलित यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व शून्य रहेको पाइएको छ। चौतर्फी उत्पीडनमा बाँचिरहेको यो समूहको संरचनागत प्रतिधिनित्व र आत्मसम्मान कतै नभएको सरोकारवालाको भनाइ छ। काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले दलित अल्पसंख्यकको अवस्था दयनीय रहेको औंल्याइएको हो।
तथ्यांकअनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यकको संस्थागत महासंघमा ३१ प्रतिशत ब्राम्हण–क्षेत्री, २३ प्रतिशत जनजाति, ३६ प्रतिशत मधेसी र १० प्रतिशत नेवार छन्। महासंघको कार्यकारी समितिमा ३० प्रतिशत ब्राम्हण–क्षेत्री, २० प्रतिशत मधेसी, १५ प्रतिशत नेवार र ३५ प्रतिशत जनजाति प्रतिनिधित्व रहेको छ। यसमा दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक छैनन्।
त्यसैगरी, दलित अधिकारसँग जोडिएका कुनै पनि संरचनामा दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकको प्रतिनिधित्व नरहेको उनीहरूले बताए। नेपालमा लैङ्गिक तथा यौनिक समूहको आन्दोलन सुरु भएको दुईदशक र दलित अधिकारको आन्दोलनको ७६ वर्ष बितिसक्दा यी दुवै आन्दोलन दुवैले नसमेटेको नेपाल सामरी उत्थान समाजका निर्देशक शिवहरि ज्ञवालीले बताए।
उनका अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यकका मात्र ३९ वटा संस्था छन् भने दलितका सैयौँ संघ संगठन छन्। ‘यी दुवै संघ संगठनमा एकजना पनि दलित यौनिक तथा लैङ्गिक अल्यसंख्यक समावेश छैनन्,’ उनले भने।
अन्य दलित समुदाय र अन्य यौनिक अल्पसंख्यकको भन्दा पृथक र जटिल समस्या झेलिरहेका दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकको समस्या जटिल भएको ज्ञवालीले बताए। उनले लैङ्गिक तथा यौैनिक अल्पसंंख्यक भएकै कारण घरबाट निकाला भएको, रोजगारी, पे्रम र आत्मसम्मानमा जात तगारो बन्ने गरेको बताए।
सर्लाहीकी सुनिता विश्वकर्मा महिला समलिंगी हुन्। उनी गैरदलितसँग प्रेम सम्बन्धमा छिन्। परिवारले स्वीकृति नदिएपछि गाउँ नै छोडेर सहर पसेका उनीहरू अहिले सहरमा डेरामा हुनसक्ने विभेदको डरले थर नै फेरेर बसेका छन्।
दलित भएकै कारण जातीय विभेद भोग्नु परेपछि ट्रान्सजेन्डर मन्जु शाह (परिवर्तित परिचय)ले पनि थर फेरेकी छिन्। थर फेरेपछि उनले अहिले मनोरञ्जन क्षेत्रमा काम पाउन सफल भएकी छिन्। उनी अहिले आफ्नो जात थाहा पाउलान् भन्ने त्रासमा छिन्। स्याङ्जाकी पुनम नेपाली (परिवर्तित परिचय) अन्तरजातीय पे्रममा परेकी हुन्। पे्रमीको परिवारले जातकै कारण स्वीकार्न मानेका छैनन्।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकले नै उनीहरूलाई बोलीचालीमै जातीय विभेद गर्ने गरेको, यौनिक तथा अल्पसंख्यकसँग आएका अवसर नपाएको, तराईमा हुने दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक बढी मात्रामा नटुवाको रूपमा काम गर्ने तर उनीहरूभित्रकै मुख्य व्यक्तिले दासको रूपमा राख्ने र पैसा नदिने गरेको पाइएको छ। दलित लैंगिक तथा यौनिक अल्पसंख्यकले आत्महत्यासमेत गर्ने गरेका छन्।
सामरी उत्थान समाजको अध्ययन सर्वेक्षणअनुसार ८५ प्रतिशतमा आत्महत्याको सोच आउने गरेको र ३९ प्रतिशतमा पटक–पटक आत्महत्याको सोच आएको पाइएको छ। लैङ्गिक तथा यौनिक अल्पसंंख्यकको संघसंस्था र दलित आन्दोलन दुवैको उपेक्षामा पर्नुले नै अहिलेसम्म उनीहरूमाथिको उत्पीडन उस्तै रहेको यसलाई दुवै आन्दोलनले समेटेर लैजान आवश्यक भएको दलित महिला उत्थान केन्द्रकी अध्यक्ष गौरा नेपालीले बताइन्। ‘यस्ता संस्थाले दलित लैङ्गिक यौनिक अल्पसंख्यकलाई समावेश गरेको/नगरेको विषयमा लेखा परीक्षण नै हुनुपर्छ,’ उनले भनिन्।
नेपाल ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले दलित लैङ्गिक तथा यौैनिक अल्पसंख्यकको फरक समस्याबारेमा यो आन्दोलनसमेत पछि मात्र जानकार भएको बताइन्। उनीहरूमाथि भएको उत्पीडिनलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा दलित समुदाय र लैंगिक तथा यौनिक अल्पसंख्यकको अभियानले सँगसँगै सम्बोधन गरेर जानुपर्ने उनले बताइन्। ‘समावेशी र सशक्तीकरण दुवै हिसाबले नीतिगत र कार्यान्वयन रूपमा समावेश गरेर जानुपर्ने देखिन्छ,’ उनले भनिन्।
प्रकाशित: ४ वैशाख २०८१ ०८:१५ मंगलबार