२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर

प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ। विश्रामपुर गाउँपालिका– ४ बलिरामपुरका सुरेन्द्र साह भनिने मुकेश साह कलवार चार दिनमै थुनामुक्त भएका हुन्।

अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको प्याज नियन्त्रणमा लिने क्रममा चैत २२ गते विश्रामपुर गाउँपालिकाको खुदिया टोलमा प्रहरीमाथि कलवारले आक्रमण गराएका थिए। भारतबाट कलवारको समूहले ठूलो परिमाणमा अवैध रूपमा प्याज भित्र्याएका थिए।

सीमा आसपासका गाउँमा ठूलो परिमाणमा प्याज भित्रिएको थाहा पाएपछि जिल्लाबाट त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी चौकी मुसहर्वा र इलाका प्रहरी कार्यालय प्रसौनीलाई निर्देशन दिएको थियो। जिल्लाबाट निर्देशन आएपछि इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट प्रहरी टोली खुदिया टोलमा खटेको थियो।

प्याज नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्कर समूहले आक्रमण गरी बरामत प्याजलाई लुट्न सुरु गरेका थिए। तस्करहरूको आक्रमणमा इलाका प्रहरी कार्यालय प्रसौनीका सहायक प्रहरी निरीक्षक सुनिलकुमार पसवानका साथसाथै दर्जनभन्दा बढी प्रहरीलाई चोट लागेर घाइते भएका थिए।

प्रहरीमाथि आक्रमण गरिएपछि प्रहरीलाई सुरक्षा दिन सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थाल पुगेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन भएको देखेर तस्कर समूह प्याज लिएर भारततर्फ भाग्न खोज्दा उनीहरूबाट २० बोरा जति प्याज सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए।

प्याज लिएर भागेको र सुरक्षाकर्मीमाथि पनि आक्रमण भएपछि तस्करी गराउने सुरेन्द्र साह भनिने मुकेश साह कलवारलाई पक्राउ गरेर जिल्लामा बुझाएको प्रहरी चौकी मुसहर्वाका इन्चार्ज प्रहरी नायव निरक्षक शिवजीप्रसाद यादवले बताएका छन्। तर उनी समातिएको चार दिनमै थुनामुक्त भएका छन्। यसको कारण आफूले थाहा नपाएको शिवजी प्रसादले बताए।

सर्वसाधारणलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर प्रहरीले कम्तीमा पनि २२ दिन थुनामा राख्ने गरेको भए पनि तस्करको आर्थिक प्रभावमा परेर उनलाई चार दिनमै थुना मुक्त गरेको आरोप प्रमहरीमाथि लागेको छ। प्रहरीमाथि आक्रमण गरेर घाइते बनाएको आरोपमा कलवारमाथि जिल्ला प्रहरी कार्यालयले अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर नियन्त्रणमा राखेको थियो।

कलवारलाई नियन्त्रणमा राख्ने बाराका तत्कालीन प्रहरी प्रमुख सुरेशकुमार काफ्ले सरुवा भएर गत चैत २५ गते आइतबार गएको र नयाँ प्रहरी प्रमुख महेन्द्र खड्का जिल्लामा हाजिर नभएको अवस्थामा चैत २६ गते कलवार छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङ र मुद्दा शाखा प्रमुख अर्का प्रहरी निरीक्षक जट्टाशंकर यादव कलवारको आर्थिक प्रभावमा परेर चार दिनमै मुद्दा टुंगाएर फाइल बुझाउँदा प्रहरीमाथि आक्रमण गराउने कलवार थुनामुक्त भएको आरोप छ।

जिल्ला सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालय बारामा बुझाइएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराले कलवारलाई सात हजार पाँच सय धरौटी रकममा चैत २६ गते छोडेको जिल्ला प्रशासन कार्यालय बाराका मुद्दा शाखाले जनाएको छ।

कलवार छुटेर गएपछि गाउँघरमा आफूले प्रहरीमाथि आक्रमण गराएर आफ्नो लाखौं रूपैयाको प्याज नियन्त्रण गर्न नदिएको र एक लाख ५० हजार खर्च गरेर छुटेर पनि आएको भन्दै धाक लगाउँदै हिँडेको स्थानीयले बताएका छन्।

कलवार थुनामा परेपछि उनलाई पक्राउ गरेर जिल्ला बुझाएका प्रहरी चौकी मुसहर्वाका इन्चार्ज शिवजीलाई तस्कर समूहले छोडाउन दबाब दिँदा शिवजीले नै जिल्ला प्रहरी कार्यालय बारामा रहेका प्रहरी निरीक्षक गुरुङ र यादवलाई पहल गरेर छोडाएको जिल्ला प्रहरी कार्यालय बारा स्रोतले बताएको छ।

कलवार थुना मुक्त भएर गएपछि चैत २७ गते ९ बजे देखि ११ बजेसम्म प्रहरी चौकी मुसहर्वामा मदिरा पार्टीसमेत गरिएको प्रहरी चौकी मुसहर्वाका प्रहरीबीच चर्चाको विषय बनेको छ।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले तस्करीको समान नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि आक्रमण गराउने व्यक्ति चार दिनै छुटेको घटनालाई आफूले आन्तरिक रूपमै छानबिन गरिरहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी अधिकारीले यस घटनामा आर्थिक लाभ लिएर कलवारलाई छोडेको भेटिए त्यसमा संलग्न रहेकालाई कारबाही गरिने खड्काले बताए।

प्रकाशित: २ वैशाख २०८१ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App