२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोराको अपराधमा बाबुआमालाई पनि जेल

अमेरिकाको मिचिगनस्थित अक्सफोर्ड विद्यालयमा चार विद्यार्थीको ज्यान जाने गरी भएको गोली हान्ने बालकका अभिभावकलाई पनि त्यहाँको एक अदालतले १० देखि १५ वर्षसम्मको जेल सजाय सुनाएको छ।  

अभिभावकले थोरै मात्र ध्यान दिएको भए ती कलिला विद्यार्थीको ज्यान जोगिने थियो भन्दै अदालतले अभिभावकीय भूमिकामा गरिएको सानो गल्तीको सजायस्वरूप उनीहरूलाई जेल चलान गर्न आदेश दिएको हो। सजाय पाउनेमा सन् २०२१ मा विद्यालयमा गोली चलाउने बालकका मातापिता जेनिफर र जेम्स क्रम्बले छन्।  

आफ्नो सुरक्षाका लागि ती अभिभावकले बन्दुक खरिद गरेको भए पनि सन्तानको पहुँचमा पुग्न दिएको गल्तीस्वरूप उनीहरूलाई सजाय सुनाइएको अदालतले जनाएको छ।

१५ वर्षको उमेरमा इथानले गोली हानी आफ्ना साथीहरूको हत्या गरेका थिए। उनलाई अदालतले जन्मकैद सजाय सुनाएको छ। हाल उनी १७ वर्ष पुगेका छन्। इथानका बुबाआमालाई बेग्लाबेग्लै मुद्दा दर्ता गरिएको थियो र बेग्लाबेग्लै सुनुवाइ भएको थियो।  

इथानकी हजुरआमाको देहान्त भएको, मिल्ने साथीले पनि त्यही बेला विद्यालय छाडेका कारण आफू निकै दुःखी रहने गरेको उनले घटनापछि काउन्सिलरलाई बताएका थिए। भिडियो गेम बनाउने उद्देश्यले वास्तविकता कस्तो हुँदोरहेछ भनी जान्नका लागि मात्र गोली हानेको उनले बताएका थिए। 

इथानका बुबाले गोलीकाण्डको ठीक चार दिनअघि बन्दुक किनेर ल्याएका थिए। नौ मिमिको सिग साउर मोडलको बन्दुक हात पर्नेबित्तिकै इथानले झोलामा राखेका थिए। आफूहरू काममा जाने भएकाले इथान घरैमा बस्नुभन्दा स्कुल जानु ठीक रहेको भन्दै बुबा जेम्सले छोरालाई स्कुल पठाएका थिए।

घरमै बसेको खण्डमा अरू नै केही उपद्रो गर्ला भन्ने चिन्ताका कारण स्कुल पठाउँदा त्यस्तो दुर्घटना भएको थियो। छोराले झोलामा लुकाएर बन्दुक लगेको वा नलगेको जाँच नगर्दा यस्तो दुर्घटना हुन पुगेको थियो। यस घटनामा अभिभावकको गल्ती रहेको अदालतको निर्णय छ।

गोली लागेर स्कुलका ताते मायर, हाना सेन्ट जुलियाना, जस्टिन सिलिङ र मेडिसन बाल्विनको तत्कालै मृत्यु भएको थियो। गोली लागेर अन्य सातजना घाइते भएका थिए।

इथानका बाबुले बन्दुक लक गर्ने १० सेकेन्डको काम नगर्दा र लापरबाही गरेको हुनाले ती कलिला बालबालिकाको ज्यान गएको भन्दै अदालतले उनीसमेतलाई जेल सजाय सुनाएको हो। घटनामा इथानकी आमा जेनिफरको कुनै हात नभए पनि उनलाई १० वर्षे सजाय तोकिएको छ।

यसप्रति उनकी वकिल मारियल लेहम्यानले अदालतमै असन्तुष्टि व्यक्त गरेकी छन्। अदालतको यो निर्णयबाट भविष्यमा धेरै निर्दोष बाबुआमाले गम्भीर परिस्थिति भोग्नुपर्नेसमेत उनले बताइन्। –एजेन्सी

प्रकाशित: २९ चैत्र २०८० ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App