१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

राजधानीका ट्राफिकले पानी र शौचालय मागेरै काम चलाउँछन्

ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन। ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ। मुख छोपेरै बस्न सम्भव छैन। त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनी बताउछन्। ‘देख्नका लागि मात्रै सुरक्षित छौँ’, उनी भन्छन्।

नयाँबानेश्वरको व्यस्त चोकमा ट्राफिक व्यवस्थापन गर्न ‘पिक आवर’ समयमा हम्मेहम्मे छ। गोविन्दका अनुसार बिहान र बेलुका सवारीको चापले पानी खाने समेत फुर्सद हुँदैन। तिर्खाएर रन्थनिँदा कहिलेकाहीँ पानीकै अभाव हुन्छ। आँखामा चस्मा त छ, छिनछिनमै धुलोले भरिन्छ। उनी ट्राफिक व्यवस्थापन गर्दा घरी चस्माको धुलो पुछ्छन् त घरी धुलाम्मे लुगा टक्टक्याउँछन्। बिहान सफा लगाएको कपडा बेलुका मैलो भइसकेकाे हुन्छ।

उपत्यकाभित्रका मुख्य चोकमा खटिएका ट्राफिक प्रहरीका आ–आफ्नै कथा र व्यथा छन्। धुलो, धुँवासित जुध्नुका साथै सर्वसाधारणका दुर्व्यवहार पनि खेप्नुपर्छ।

थापाथलीमा खटिएकी ट्राफिक प्रहरी अन्जु नेपालीका अनुसार सिट्ठी, हात दुवैको सहायताले नियम विपरीत चलेका सवारी साधन रोक्दा चालकले अटेर गर्ने गरेको अनुभव सुनाइन्। 

‘सवारी रोकिहाले पनि दोहोरोतेहोरो कुरा गरेर झगडा गर्न खोज्छन्’, मञ्जु थप्छिन्, ‘तर पुरुष ट्राफिकसँग यस्तो अटेरी कम हुन्छ।’ ट्राफिक महिला भएकै कारण उनले पेसागत रुपमा सहनुपर्ने पीडा थुप्रै छन्।

घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन। कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउँछिन्। थापाथली चोकमा कार्यरत उनले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ। ‘कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ’, उनले बताइन्, ‘सधैँभरि अरूको शौचालयमा जाँदा निकै असजिलो महसुस हुन्छ।’

सेनिटरी प्याड फेरेर कहाँ फाल्ने ? उनले यस्ता स–साना तर स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महिला ट्राफिकका समस्या रहेको सुनाइन्। शौचालयकै झन्झटले पानी पर्याप्त खान नसकिने उनले गुनासाे गरिन्।

थापाथलीमै कार्यरत ट्राफिक वर्षा थारु गर्भवती छिन्। उनी तीन महिनाको गर्भसहित उत्साहका साथ ट्राफिक सेवा दिरहेकी छिन्। गर्भ बढ्दै गएपछि उनलाई काममा खटिन अलिक चुनौती थपिँदै गएको बताउँछिन्। केही साताअघि मात्रै चोकमा ड्युटीमा कार्यरत वर्षालाई रिङ्गटा लाग्यो। उभिएर चर्को घाममा काम गर्दा उनको शरीर थामिएन। ‘रिङ्गटा लागेर भुईंमा थचक्कै बसेछु,’ उनी भन्छिन्, ‘केहीबेरमा होस आयो,अनि कामतिर लागेँ।’ ट्राफिकको दायित्वमा फुर्सद भन्ने शब्द नै नरहेको उनी बताउँछिन्।

खाने पानी बोकेर ल्याउने सवारीसँग पानी माग्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। सार्वजनिक शौचालय नहुँदा शौच गर्न झन्झट खेप्नुपर्ने उनीहरुको अर्को समस्या हो। शौचालयको अभावले पेटभरि पानी खान नसकिने ट्राफिक प्रहरी बताउँछन्। ‘चर्को घामले तिर्खा लाग्छ, पानी खाए शौचालय खोज्ने सास्ती’, थारु  भन्छिन्।

ट्राफिक प्रहरीको सहयोगी कसरी बन्ने ?  

यातायात व्यवस्थापनमा सेवा दिइरहेका प्रहरीले सर्वसाधारणबाटै सहयोग अपेक्षा गर्छन्। सर्वसाधारण र सवारी चालकले ट्राफिक नियम पालना गरिदिए कठिनाइ हट्ने ट्राफिक प्रहरी गोविन्दराज पन्त बताउँछन्।

उनका अनुसार सर्वसाधारणले सकेसम्म आकासेपुल, जेब्राक्रसिङ् प्रयोग गर्नु भए, सवारी चालकले सचेत भएर सवारी चलाए ट्राफिकको आधै झन्झट सुल्झिन्छ।

त्यस्तै, धुवाँ र धुलो उड्ने औद्योगिक क्षेत्र व्यवस्थित गर्नु, जीर्ण सडक मर्मत गर्नु, ट्राफिक लाइटको व्यापक प्रयोग गर्न सकिए ट्राफिक प्रहरीका दुःख निकै कम हुने एसपी विश्वराज खड्काले बताए। ‘ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउन जरुरी छ, ‘ट्राफिक लाइटको प्रयोग गर्ने, पुराना सवारी थन्काउने र ट्राफिक चेतना दिनसके हामी यति धेरै जोखिम उठाउनु पर्दैन।’

संविधानको धारा, ३० मा मौलिक हकका रुपमा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक’ को व्यवस्था छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार मानिसको मृत्यु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा उपत्यकामा गरेको अध्ययनमा यहाँको धुलोमा हानिकारक कण रहेको फेला पारेको थियो। ट्राफिकको स्वास्थ्य परीक्षणमा पछिल्लो समय प्रदूषणकै कारण ट्राफिक प्रहरीमा छाला चिलाउने र उच्च रक्तचापको समस्या बढ्दै गएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हाल उपत्यकाभित्र एक हजार सात सय ९७ जना ट्राफिक प्रहरी कार्यरत छन्। तीमध्ये पुरुष एक हजार पाँच सय ८४ र महिला दुई सय १३ छन्। ट्राफिक महिला सङ्ख्यामध्ये पाँचजना गर्भवती अवस्थामा छन्। गर्भवती ट्राफिक महिलाको स्वास्थ्यमा कार्यालय सचेत रहेको एसपी खड्काले सुनाए।

प्रहरीको नियमित जाँच गर्नसक्ने अवस्था नभए पनि आवश्यकताका आधारमा स्वास्थ्य जाँच हुन्छ। सामान्य जाँच गर्दा सामान्य असर देखिन्छ तर ट्राफिकको स्वास्थ्य प्रभाव दीर्घकालीन रुपमा पर्ने एसपी खड्क बताउँछन्।

उनका अनुसार ट्राफिक महिलाप्रति अझै संवेदनशील क्षेत्र रहेको छ। गर्भवती ट्राफिक महिलाले सेवा प्रदान गर्दै स्वास्थ्य सन्तान जन्माउने वातावरण दिन चुनौती छ। भएको स्रोत र साधनबाट गर्भवती ट्राफिक महिलामैत्री परीक्षण गर्ने व्यवस्था मिलाएको उनी बताउँछन्। 

‘गर्भवती महिला ट्राफिकको प्रसूतिसम्बन्धी जाँच गर्ने व्यवस्था मिलाएका छौँ’, उनी भन्छन्।

चर्को प्रदूषणले ट्राफिक प्रहरीको स्वास्थ्यमा समस्या आइरहेको उनी सुनाउँछन्। धुलो र धुवाँका कारण ट्राफिक प्रहरीको आँखा पाक्ने, चिलाउने र छाती दुख्नेजस्ता समस्या उत्पन्न भएका छन्। पछिल्लो समय छालाको एलर्जी र उच्च रक्तचाप समेत देखिने गरेको उनले सुनाए। सरकारले मास्क, चस्मा, पञ्जाजस्ता स्वास्थ्य सुरक्षाका साधन उपलब्ध गराए पनि ट्राफिक प्रहरीलाई प्रदूषणबाट बच्न कठिन छ।

कार्यालय स्थानमा अझै पनि पूर्णरुपमा सकरात्मक विभेदको सिद्धान्त लागू नभएको अधिकारर्मी बताउँछन्। अधिकारकर्मी मोहना अन्सारी गर्भवती हुनु सामान्य कुरा नभएको बताइन्। यस्तो बेला मानसिक र शारीरिक रुपमा असर पर्छ। जुनसुकै काम कागजको महिला जो गर्भवती हुन्, उनीप्रति कार्यालयले सहज बनाउनुपर्ने उनले सुनाइन्।

‘उनी प्रहरी मात्रै होइन, गर्भवती महिला पनि हुन भनेर संवेदनशीलता अपनाउनु पर्छ’,अन्सारी भन्छिन्, ‘कहिलेकाहीँ मानवीय दृष्टिकोणले संरक्षण गर्न नीति नै हुनुपर्छ।’ अन्सारीले गर्भवती प्रहरीको स्वास्थ्य ख्याल गर्दै लैङ्गिक नीति बनाउनुपर्ने बताइन्।

वातावरणविज्ञ डा. केदार रिजालका अनुसार ट्राफिक प्रहरीले ध्वनि र वायु प्रदूषणको असर भोग्नुपरेको छ। वायुमा पाइने पिएम २.५ माइक्रोग्राम अत्यन्त हानिकारक हुन्छ। यो अति सूक्ष्म कण हुन्। जुन नाक, मुखको माध्यमबाट सिधै फोक्सोमा पुग्छन्। फोक्सोमार्फत रगतमा मिसिएर छातीसम्बन्धी अनेक रोग देखा पर्न सक्छ।

डा. रिजालले ट्राफिक प्रहरीले घन्टौँ चर्को ध्वनिको सामना गर्दै काम गर्नुपर्ने हुँदा उनीहरुको श्रवण क्षमता र मानसिकतामा समेत असर पर्न सक्ने बताए। ‘चर्को ध्वनिले मानसिक तनाब बढी ल्याउछ’, उनी भन्छन्, ‘अनावश्यक हर्न बजाउने प्रवृत्तिको पीडा ट्राफिक प्रहरीले सहनु परेको छ। उनीहरुको स्वास्थ्यकै लागि भएपनि सवारी चालक सचेत भइदिनुपर्छ।’

त्यस्तै, ध्वनि प्रदूषणले खासगरी गर्भवती महिला ट्राफिक प्रहरीमा बढी असर पर्न सक्ने उनी बताउँछन्। त्यसाे त गर्भवती अवस्था संवेदनशील विषय हो। चर्को हल्ला र धुलोमा घन्टौँ खटिनुपर्दा गर्भवती महिला अरूको तुलनामा धेरै प्रभावित हुने सम्भावना रहन्छ। सुरक्षा अपनाएर ड्युटी पूरा गर्न सकिने उनी बताए।

-मधु शाही / रासस

प्रकाशित: २८ चैत्र २०८० १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App