सामान्य अर्थमा ज्योतिष ग्रहहरूको गणित हो। आकाशमा रहेका ग्रहहरूको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो। ग्रहले पदार्थमा पर्ने प्रभावको सम्बन्धलाई ज्योतिषीहरूले मसिनो गरी अध्ययन गर्छन् र प्रभावको विश्लेषण गर्छन्।
त्यसका लागि नौ ग्रह, १२ राशि र २७ नक्षत्रहरूको आधार लिने गरिन्छ। यिनै २७ नक्षत्रले सिर्जना गरेको ३६० डिग्रीको अक्षांशमा ग्रह र राशिको अधिपत्य रहन्छ। नक्षत्र, ग्रह र राशिको विशेषता, ग्रहहरूको अवस्था र प्रभावको आधारमा भविष्य बताउने काम ज्योतिषीको हो।
ग्रहहरूले उत्पन्न गर्ने प्रभावको पूर्व जानकारी राख्ने हुनाले ज्योतिष केवल भविष्य बताउने मात्र नभई भविष्यको मार्गनिर्देशक पनि हो। मानव जीवनलाई सही मार्गनिर्देश गर्ने कार्यमा ज्योतिषीहरूको अहम् भूमिका रहन्छ।
हाम्रो समाजमा आफ्नो जन्मकुण्डली देखाएर भविष्य जान्ने चलन छ। जन्मका आधारमा आफूले ल्याएको कुरा परिवर्तन हुँदैन भन्ने मनस्थितिका कारण भविष्य कस्तो होला भनेर जान्न चाहन्छ मान्छे।
वास्तवमा जन्मकुण्डली जीवनको मार्गनिर्देश हो र सोहीअनुसार कर्म गर्नुपर्छ भन्ने कमैलाई थाहा छ। ग्रहहरूले मानिसको जीवनमा उसको कर्मको खाका बनाइदिएको हुन्छ। धर्म, अर्थ, काम, मोक्षको स्पष्ट मार्गनिर्देश गरिएको हुन्छ।
जन्मकुण्डलीमा सम्बन्धित जातक धर्म, अर्थ, काम र मोक्षमध्ये कुन क्षेत्रका अधुरा कार्य सम्पन्न गर्न आएको हो भन्ने स्पष्ट हुन्छ। तर, व्यक्तिले आफ्नो कार्मिक लक्ष्यमा भन्दा सामाजिक आधारमा आफ्नो लक्ष्य तय गर्न चाहन्छ। जीवनमा सकारात्मकता ल्याउन कार्मिक सुधार महत्वपूर्ण पक्ष हो।
यद्यपि मानिस जीवनको लक्ष्य भौतिक उचाइ मात्र ठान्छ। त्यसैले ज्योतिषीले मानिसको जीवनलाई सफल र सार्थक बनाउन उसको कार्मिक प्रारब्धका आधारमा लक्ष्य निर्धारण गरिदिनुपर्छ।
मानिस जन्मँदा आकाशमा भएका ग्रहहरूको चित्र उसको जन्मकुण्डली हो। जन्मँदाको अवस्थाको एउटा विशेष प्रभाव रहन्छ तर प्रतिफलमा उनीहरूको तात्कालिक स्थिति बढी महत्वपूर्ण हुन्छ। ग्रहहरूको गति निश्चित नियममा हुन्छ।
कुन समयमा कुन ग्रह कहाँ हुन्छ र त्यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा ज्योतिष शास्त्रमा स्पष्ट छ। ग्रहहरूको प्रभाव फरकफरक व्यक्ति या पदार्थमा फरकफरक हुन्छ। त्यही फरकफरक प्रभाव सम्बन्धित व्यक्तिमा कस्तो हुनसक्छ भन्ने सूक्ष्म अध्ययनका लागि व्यक्तिको जन्म समयका ग्रहहरूको अवस्था र तात्कालिक अवस्थाबाट निष्कर्ष निकालिन्छ।
जन्मकालीन ग्रहहरूको राशि, नक्षत्र, अंश र हाल ग्रहहरूको राशि, नक्षत्र र अंशका आधारमा दैनिक, मासिक या वार्षिक फल या प्रभाव जान्न सकिन्छ।
मानिसको जन्मकालीन ग्रहहरूको अवस्थाका आधारमा अहिलेको अवस्था कस्तो छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ। जीवनका घटना, आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक अवस्थाको चित्रण गर्न सकिन्छ।
त्यसका लागि ज्योतिष शास्त्रमा नौ ग्रहको प्रभाव फरकफरक तर आफ्नो निजी गुण र धर्मका आधारमा निश्चित गरिएको छ। ग्रहको गुण र धर्म निश्चित हुन्छ तर उसको जन्मकालीन अवस्था र तात्कालिक अवस्थाको प्रभाव निरन्तर बदलिइरहन्छ।
जन्मकालीन समयका ग्रहहरूले निश्चित लक्ष्य र उद्देश्य तय गरेका हुन्छन्। उक्त लक्ष्य र उद्देश्यका लागि तत्कालीन ग्रहहरूको अवस्था विशेष प्रभावकारी हुन्छ। ग्रहहरूले तय गरेको लक्ष्य र तात्कालिक गोचरका बीचमा मानिसको मानसिकता र कर्म थपिन पुग्छ।
ग्रहहरूको लक्ष्य र मानिसको लक्ष्यबीच तालमेल भएमा सफलता मिल्दै जान्छ भने विपरीत भएमा असफलता मिल्छ। त्यसैले ग्रहहरूले तय गरेको लक्ष्यअनुसार व्यक्तिले आफ्नो कर्म गरोस् भनेर नै ज्योतिषलाई आँखा भनिएको हो। आँखाको प्रयोग लक्ष्यसम्म पुग्नका गरिन्छ।
त्यसैले हरेक मानिसले ज्योतिषीय लक्ष्य र जीवनको लक्ष्यबीच सामञ्जस्यता मिलाउन ज्योतिषीय परामर्श लिइरहनुपर्छ।
जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह र तिनले सिर्जना गर्ने प्रभावका विषयमा सामान्य जानकारी राख्नु सबैका लागि लाभदायी हुन्छ। ज्योतिष शास्त्रमा प्रयोगमा आउने नौ ग्रहहरू सूर्य, चन्द्रमा, मङ्गल, बुध, शुक्र, वृहस्पति, शनि, राहु र केतु हुन्।
यी ग्रहहरूको फरकफरक र नितान्त निजी स्वभाव र प्रभाव हुन्छ। ग्रहहरूमा सबैभन्दा पहिलो सूर्य हो। यसले व्यक्तिको आत्माको प्रतिनिधित्व गर्छ। उसमा आत्मविश्वास कस्तो छ ? स्वाभिमान वा आत्म–सम्मान कस्तो छ ? हड्डी कति मजबुत छ भन्ने जनाउँछ।
यसबाटै उसको पिताको अवस्था कस्तो छ। जन्मस्थान कस्तो छ। आत्मामा शुद्धता छ छैन हेर्न सकिन्छ। अग्नि तत्वको कारक ग्रह भएकाले व्यक्तिको ऊर्जा मापन यसै ग्रहबाट गर्न सकिन्छ। यो ग्रहहरूको राजा भएकाले व्यक्तिमा नेतृत्व क्षमता कस्तो छ भन्ने ज्ञात गर्न सकिन्छ।
मनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह चन्द्रमा हो। यो ग्रहले भावनात्मक कुरालाई प्रतिनिधित्व गर्छ। व्यक्तिको मानसिक अवस्थालाई उसको चन्द्रमाको अवस्थाले स्पष्ट पार्छ। चन्द्रमा जलसँग सम्बन्धित ग्रह हो।
मानिसको शरीरमा पनि अधिक जल तत्व हुने हुनाले चन्द्रमाको अवस्थाका आधारमा शरीर र मनको अवस्था मापन गर्न सकिन्छ। यसले माता, सुख, मन, मनस्थितिको ज्ञात गराउँछ। चन्द्रमा मनको कारक भएको कारण व्यक्तिको मनमा उत्पन्न हुने भाव र त्यसबाट सिर्जना हुने कर्मको प्रकृति पनि थाहा पाउन सकिन्छ।
मङ्गललाई व्यक्तिको साहसको अवस्थामा हेरिन्छ। यो ग्रह अग्निकारक ग्रह हो। यसले ऊर्जा र शक्तिको प्रतिनिधित्व गर्छ। व्यक्तिमा साहस कति छ ? शक्ति र ऊर्जा कति छ ? लडाईं या झगडामा कति शक्ति खर्च गर्छ। निडर छ वा डरपोक छ यसैबाट ज्ञात हुन्छ।
त्यस्तै बृहस्पति ग्रहले धर्म र भाग्यको प्रतिनिधित्व गर्छ। यसले सन्तान, धन, धर्म, अध्यात्म जस्ता विषयमा आफ्नो अवस्थाअनुसारको फल प्रदान गर्छ। शुभ बृहस्पतिले भाग्यवान बनाउँछ भने अशुभ वृहस्पतिले कूल परम्परामा नकारात्मकता ल्याई व्यक्तिलाई विभिन्न समस्यासँग लड्न बाध्य बनाउँछ। जसको वृहस्पति राम्रो छ उसको सर्वत्र शुभ बनाउँछ। ज्ञानको कारक भएको व्यक्तिमा कति ज्ञान छ भन्ने यसैबाट ज्ञात हुन्छ।
अर्को ग्रह बुध हो। शिक्षाको मालिक बुध बुद्धिको कारक ग्रह हो। सञ्चारको कारक ग्रहको रूपमा बुधलाई लिइन्छ। बुधको अवस्थालाई हेरेर व्यक्तिमा जनसम्पर्कको अवस्था कस्तो छ भन्ने आँकलन गर्न सकिन्छ।
कुनै पनि सूचनाको सञ्चार, गोपनीयता, सूचना–सङ्कलन तथा सूचनाको उपयोग कस्तो हुन सक्ला भन्ने अनुमान लगाउन सकिन्छ। यो ग्रह व्यापारको कारक पनि हो। यसले व्यक्ति व्यापारमा सफल हुन्छ हुँदैन भन्ने ज्ञात गर्न सकिन्छ।
शुक्र ग्रह समृद्धि र सम्पन्नताको ग्रह हो। यसले व्यक्तिको जीवनमा सम्पन्नता कस्तो रहन्छ भन्ने थाहा लाग्छ। सम्पत्ति, सम्पन्नता, खुशीको स्रोत शुक्र ग्रहको अवस्थाबाट ज्ञात गर्न सकिन्छ।
हरेकको जीवनमा खुशीको आधार धन सम्पत्ति हो भने साथमा खुशी र आनन्दित जीवनका लागि प्रेम आवश्यक हुन्छ। अर्थको विषय शुक्रलाई जोडेर हेरिन्छ। यदि अर्थ राम्रो छ भने उसको जोश, जाँगर र ऊर्जा पनि सकारात्मक हुन्छ।
शुक्र मनोरञ्जनको कारक पनि भएकाले व्यक्तिमा कत्तिको रमाइलोपना छ भन्ने पनि यसैबाट ज्ञात हुन्छ। समृद्धि, खुशी, आनन्द, मनोरञ्जन, सौन्दर्य, जोश, वीर्य, पुरुषको दाम्पत्य जीवन यी सबै कुरा शुक्रको कब्जामा छ।
न्यायको कारक ग्रह शनि हो। यसले नीतिनियम र अनुशासनको प्रतिनिधित्व गर्छ। व्यक्ति कति अनुशासित छ भन्ने कुरा शनिको अवस्थाबाट थाहा हुन्छ। यसले कर्मको प्रतिनिधित्व गर्छ। व्यक्ति कति मिहेनत गर्छ, नियमको पालना गर्छ या गर्दैन, अल्छी छ या छैन, आयु कस्तो छ जस्ता विषयमा शनिको अवस्थाले स्पष्ट पार्छ।
राहु ग्रह आकस्मिताको कारण हो। कुनै पनि आकस्मिक रूपमा हुने सकारात्मक या नकारात्मक घटनाको कारक राहु हो। यो परिवर्तनको स्रोत हो। यसले व्यक्तिलाई विद्रोही बनाउँछ। अधिक सफलता या अधिक असफलताको कारक पनि राहु हो।
केतु ग्रह व्यक्तिको आन्तरिक अवस्था हो। यसले व्यक्तिभित्रको चेतको प्रतिनिधित्व गर्छ। कसैलाई महायोगी, साधु बनाउनेसम्मको काम केतुले गर्न सक्छ। पुनर्जन्म या मोक्ष केतुको अवस्थाले बताउँछ। राहु र केतु दुवै छाया ग्रह हुन्। यिनको आफ्नो भौतिक स्वरूप छैन।
यसरी ग्रहहरूको विशेषता, जिम्मेवारी र कारकत्वको आधारमा व्यक्तिको जीवनको मार्गदर्शन मिलाउँदै कर्ममा सम्बन्धित ग्रहको उपयोग गराउनुपर्छ। ज्योतिषीय परामर्शमा ग्रहहरूको कारकत्वलाई जीवनका विभिन्न चरणमा दशा, अन्तरदशाका आधारमा प्रयोग गराउन मार्ग दर्शन गर्ने काम ज्योतिषीको हो। –रासस
प्रकाशित: २८ चैत्र २०८० ०८:२७ बुधबार





