१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह

काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।

समारोहमा नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरिने छ। टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने उक्त विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहने छ।

समारोहमा शो जम्प, ड्रिल राइड, गु्रप टेण्ट पेगिङ, क्रस टेण्ट पेगिङ, लान्स हिट प्याक, लान्स, पिक र क्रिज, भल्टिङ र हर्ष ह्याण्डलिङ, सिक्स बार (लेडिज) र रेनफ्री जम्प, डग शो र हेङ्गेरियन पोष्ट प्रस्तुत गरिनुका साथै साइकल दौड, म्युजिकल राइड र क्रस कन्ट्री जम्पसमेत सो अवसरमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

मानिस र घोडाबीचको सम्बन्ध आदिमकालदेखि नै अन्योन्याश्रित रहँदै आएको मानिन्छ। महाभारतलगायत ठूला युद्धमा घोडाको प्रयोग गरेर युद्ध लडेको इतिहास पाइन्छ।

नेपालमा घोडेजात्रालाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर मनाउँदै आइएको छ। घोडेजात्राका अवसरमा घोडाको कौशल एवम् रोमाञ्जक खेल प्रस्तुत गरिने गरिन्छ।

टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारे पनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ।

सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ।

सोही घटनाको सम्झनामा काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ।

जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: २६ चैत्र २०८० ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App