२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसरी हरिनगर घटना: भिडन्तमा २९ जना घाइते, दिनभर तनावग्रस्त

अनिश्चितकालीन कर्फ्यू आदेश

सामूहिक रूपमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि सुनसरीको हनिरगरस्थित रामनगर भुटाहा शुक्रबार तनावग्रस्त बनेको छ। दोहोरो भिडन्त भएको र २९ जना घाइते भएकाले हरिनगर क्षेत्रमा स्थिति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

बिहीबार हरिनगर–३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेको घटनापछि शुक्रबार हरिनगरको भुटाहामा दुई समुदायबीच दोहोरो भिडन्त भएको थियो। जसमा १९ जना प्रहरी र १० जना सर्वसाधारण घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई गोली लागे पनि तिनीहरूको पहिचान भइसकेको छैन।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार १५ जना जनपथ, चारजना सशस्त्र प्रहरी र अन्य सर्वसाधारण घाइते भएका हुन्। उनले दुई जनालाई गोली लागेको जानकारी आए पनि पुष्टि गर्ने काम भइरहेको छ।

दिउँसो १ बजेपछि सुरु भएको तनाव दोहोरो भिडन्तमा परिणत भएको छ। दोहोरो भीडन्तकै क्रममा एक समूहले हरिनगर गाउँपालिका कार्यालयमा आगजनी प्रयास तथा तोडफोड गर्ने क्रममा प्रहरीले गोली चलाउनुपरेको डिएसपी भण्डारीले बताए। ‘गाउँपालिका कार्यालयमा आगजनी र तोडफोड गर्न थालेपछि गोली नै चलाउनु पर्‍यो,’ उनले भने।

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि साँझसम्म ८० राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुगयास छोडेपछि स्थिति शान्त बन्दै गएको छ। स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपालिकासँगै इनरुवा नगरपालिका तथा देवानगञ्ज, भोक्राहा (नरसिंह र कोसी गाउँपालिका) क्षेत्रमा शुक्रबार अपरान्ह ५ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश गरेको छ।

शुक्रबार दिउँसो १२ बजेदेखि हरिनगर र देवानगञ्ज गाउँपालिकाका–१ तथा ७ मा कफ्र्यु लगाए पनि विस्तारै अरू स्थानमा पनि प्रदर्शन हुन थालेपछि थप स्थानमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनायो।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सुरक्षा समितिको आपतकालीन बैठक पनि बसेको छ। दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको अवस्थालाई संयमता अपनाउन पहल गरिदिन सरोकारवालासमक्ष आग्रह गरिएको छ।

 कोसी प्रदेशका तीनवटै सुरक्षा निकायका डिआइजीसमेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रणबाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्ने बताएको छ।

बिहीबार सामूहिक कुटपिटबाट घाइते भएका जीवन मेहताको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। उनको टाउँकोसहित शरीरका विभिन्न भागमा चोटपटक लागेको जीवनका बाबु रामविलाश मेहताले बताए।

रामविलासका अनुसार जीवनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। विराटनगरको एडेनवर्ग कलेज बिबिएस दोस्रो वर्षमा अध्ययनरत मेहतालाई कुटपिट गर्नुको कारण खुल्न सकेको छैन। अर्को समूहले भने आफ्नो समूहको धर्मविरुद्ध धावा बोलेकाले सामूहिक आक्रमण गरेको जनाएको छ।

यसैबीच, नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिने एवं समस्या समाधानका निम्ति आआफ्नो ठाउँबाट हरसम्भव पहल गर्न सम्पूर्णलाई आग्रह गरेको छ। साथै, सम्पूर्ण सञ्चारकर्मीलाई सुरक्षित ढंगले समाचार संकलन गरी आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने गरी समाचार प्रकाशन/प्रसारण गर्न अपिल गरेको छ।

हनिरगर गाउँपालिकाका अध्यक्ष गफार अनसारीले पनि सामाजिक सद्भाव कायम गर्न सम्पूर्णमा अपिल गरेका छन्। नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै घटनाको संवेदनशीलतालाई ध्यानमा राखी सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धार्मिक संस्था, समाजका अगुवालगायत एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता तथा सद्भाव कायम गर्न अपिल गरिएको छ।

प्रकाशित: २४ चैत्र २०८० ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App