१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरजग्गामा बढ्दै महिलाको स्वामित्व

समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनका कारण उनीहरूको स्तरोन्नति हुँदै गएको छ। नेपालमा पछिल्लो समय बनेका कानुन तथा नीतिनियम महिलामैत्री भएकै कारण घरजग्गामा पनि उनीहरूको स्वामित्व बढ्दै गएको छ। विगतमा पुरुषको नाममा मात्र घरजग्गाको स्वामित्व हुन्थ्यो। पछिल्लो समय महिलाका नाममा पनि घरजग्गा पास गर्न थालिएको छ। सुरक्षाका हिसाबले पनि महिलाका नाममा घरजग्गा राख्ने सोचको विकास हु“दै गएको छ। घरजग्गामा महिलाको स्वामित्व अझै न्यून रहे पनि यो क्रम दिनानुदिन बढ्दो छ।  

२०५८ सालको जनगणनाको तथ्यांकअनुसार आफ्नो नाममा घरको स्वामित्व भएका महिलाको संख्या ०.९ प्रतिशत मात्र थियो। यो संख्या २० वर्षको अवधिमा अर्थात् २०७८ सालको जनगणनासम्म आइपुग्दा २.३ प्रतिशत पुगेको छ। सोही अनुपातमा जग्गामा स्वामित्व भएका महिलाको संख्या र अनुपात पनि वृद्धि भएको तथ्यांक छ। अझै करिब तीन चौथाई (७४.६ प्रतिशत) परिवारमा महिलाको घर र जग्गा दुवैमा स्वामित्व नभएको तथ्य जनगणना २०७८ ले देखाएको राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ) का निर्देशक एवं जनसंख्या शाखा प्रमुख ढुण्डीराज लामिछानेले बताए।

विगतका तीनवटा जनगणनामा परिवारमा महिलाका नाममा घर र जग्गाको स्वामित्व स्थिति हेर्दा २०५८ सालमा घरमा मात्र स्वामित्व भएका महिलाको संख्या ०.९ प्रतिशत थियो। दुई दशकको अवधिमा यो अवस्था फेरिएको छ। २०७८ सालको जनगणनाअनुसार घरमा मात्र स्वामित्व रहेका महिला २.३ प्रतिशत र जग्गामा मात्र स्वामित्व भएका महिला ९.७ प्रतिशत छन्। २०६८ सालको जनगणनामा जग्गामा स्वामित्व भएका महिलाको संख्या ९ प्रतिशत थियो। यो संख्या २०५८ सालमा ६.२ प्रतिशत थियो।

२०५८ सालमा घर र जग्गा दुवैमा स्वामित्व भएका महिलाको संख्या ४.७ प्रतिशत रहेकोमा २०६८ मा आउँदा यो संख्या बढेर १०.७१ प्रतिशत पुग्यो। २०७८ सालको जनगणनासम्म आइपुग्दा घर र जग्गा दुवैमा स्वामित्व हुने महिलाको संख्या ११.८ प्रतिशत पुगेको छ। तीन दशकको अवधिमा परिवारको संख्यामा ठुलो वृद्धि भएको छ। घरजग्गामा स्वामित्व हुने महिलाको संख्या करिब एक चौथाई मात्र पुगेको छ। २०५८ सालमा देशभरि परिवारको संख्या ४१ लाख ४७ हजार ३७४ रहेकोमा २०६८ मा ५४ लाख २३ हजार २९७ पुगेको थियो। २०७८ सालमा आएर परिवारको संख्या ६६ लाख ६० हजार ८४१ पुगेको छ। महिलाको स्वामित्वमा केही नभएका परिवारको संख्या २०५८ सालमा ८८.९ प्रतिशत थियो भने २०६८ सालमा ७९.५ प्रतिशतमा झरेको थियो।

‘जनगणना २०७८ ले अझै तीन चौथाइ अर्थात् ७४.६ प्रतिशत महिलाको स्वामित्व घर र जग्गा दुवैमा नभएको देखाएको छ। विगतमा परिवारले महिलाका नाममा घर र जग्गा नराख्ने सोच थियो। हाल त्यो सोचमा परिवर्तन आएको छ, जुन सकारात्मक पक्ष हो,’ निर्देशक लामिछानेले भने, ‘सरकारले २०५८ सालमा घरजग्गा महिलाका नाममा पास गराए कर छुट दिने भनी गरेको निर्णयले पनि सकारात्मक भूमिका खेलेको छ। छोरीलाई पनि सम्पत्ति दिने कानुनी व्यवस्थाले पनि महिलाको सम्पत्तिमा पहुँच पुर्‍याएको अध्ययनले देखाएको छ।’ उनले समाजमा महिलालाई हेर्ने सकारात्मक दृष्टिकोण, महिलामैत्री कानुनी आधार र सम्पत्तिको सुरक्षाको दृष्टिकोणले महिलाको घर र जग्गामा स्वामित्व वृद्धि हँुदै गएको बताए। यसैगरी घर, जग्गा वा दुवैमा पहुँच भएका महिलाको संख्या २०५८ सालमा ११.८ प्रतिशत, २०६८ सालमा १९.७ प्रतिशत र २०७८ सालमा २३.८ प्रतिशत देखिन्छ।

जनगणना २०७८ ले जिल्लाअनुसार महिलामा घर र जग्गाको स्वामित्वसम्बन्धी नतिजा पनि उपलब्ध गराएको छ। तुलनात्मक रूपमा महिलामा घर र जग्गाको स्वामित्व राम्रो भएका तीन जिल्ला क्रमशः मोरङ (१८.७ प्रतिशत), नवलपरासी पूर्व (१८.२ प्रतिशत) र झापा (१७.६ प्रतिशत) रहेका छन्। यसैगरी घर र जग्गा महिलाको स्वामित्व र पहुँच अति न्यून भएका तीन जिल्लामा क्रमशः कालिकोट (१.९ प्रतिशत), बाजुरा (२.२ प्रतिशत) र हुम्ला (२.२ प्रतिशत) हुन्।

घरमुली महिला रहेका परिवार मधेसमा कम

२०५८ सालको जनगणनाअनुसार घरमुली महिला रहेका परिवार करिब १५ प्रतिशत थिए। यो अनुपात पछिल्ला दुई जनगणनामा क्रमशः बढ्दै गएको छ। उक्त अवस्था २०६८ सालमा एक चौथाइभन्दा माथि २५.७ प्रतिशत र २०७८ मा करिब एक तिहाइ ३१.५ प्रतिशत भएको पाइएको छ। घरमुलीको जिम्मेवारीमा भएका महिलाको उमेरगत संरचना हेर्दा जनगणना २०७८ सालमा सबैभन्दा बढी २९ प्रतिशत ३० देखि ३९ वर्ष उमेर समूहका छन् भने पुरुषमा सबैभन्दा बढी २३.७ प्रतिशत महिला ४० देखि ४९ वर्ष उमेर समूहका छन्।  

प्रदेशअनुसार घरमुली सबैभन्दा बढी गण्डकीमा ४१ प्रतिशत रहेको छ। त्यसपछि लुम्बिनी ३५.५ प्रतिशत र सुदूरपश्चिममा ३५ प्रतिशत छन्। मधेस प्रदेशमा महिला घरमुलीको संख्या सबैभन्दा कम २१.७ प्रतिशत देखिएको छ। यस्तो तथ्यांकबाट मधेस प्रदेशमा छोरीभन्दा छोरालाई बढी प्राथमिकता दिने गरेको प्रस्ट हुन्छ। घरको संरचना र बनोटअनुसार तुलनात्मक हिसाबले राष्ट्रिय औसतभन्दा बढी पक्की घरमा बस्ने एक तिहाई परिवारमा महिला घरमुली भएको देखिन्छ भने कच्ची घरमा बसोबास गर्ने परिवारमा महिला घरमुलीको संख्या (२३.७ प्रतिशत) पक्की र अर्धपक्की घरमा बस्ने कम देखिन्छ।

प्रकाशित: १४ चैत्र २०८० ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App