१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लिखु तामाकोसीका पूर्वअध्यक्षलाई ६ महिना कैद

विशेष अदालतले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनाले भ्रष्टाचार गरेको ठहर्‍याएको छ। 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राईको इजलासले मुद्दामा आंशिक ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ चैत १७ मा भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। मुद्दामा आरोपित २२ जनालाई भने अदालतले सफाइ दिएको छ। पालिकाका पूर्वअध्यक्ष खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार रुपैयाँ जरिवाना तोकिएको छ।  

त्यसैगरी तल्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंको हकमा जनही तीन महिना कैद र ६३ लाख १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ। लेखापाल दुर्गाबहादुर तामाङ र नर्खे लामालाई जनही तीन महिना कैद र ३१ लाख ५५ हजार रुपैयाँ जरिवाना ठहर भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

सोही मुद्दामा पाइक कन्स्ट्रक्सन प्रालि सञ्चालक अमृतबहादुर तामाङलाई तीन महिना कैद, ४२ लाख ३५ हजार रूपैयाँ जरिवाना तोकिएको छ। तामाङबाट बिगो रकम असुल्न पनि भनिएको छ।

पालिकाको बिजुलीकोट, नागदह, दुरागाउँमा विद्युतीकरण गर्न सामान खरिद गर्ने निर्णय भएको थियो। पालिकाका तत्कालीन अध्यक्ष खड्कासहितको मिलेमतोमा खरिद समिति नबनाई, टेन्डर सूचना जारी नगरी र आफूअनुकूल उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। आव २०७४/७५ र २०७५/७६ मा लिखु तामाकोसी गाउँपालिकाका केन्द्रीय प्रसारण लाइनवरपरका बस्ती र केही वडामा विद्युतीकरण गर्दा कार्यक्षमता नभएका उपभोक्ता समितिसँग सम्झौता गरिएको अख्तियारको दाबी थियो।  

प्रकाशित: १४ चैत्र २०८० ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App