राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले पार्टी सभापति रवि लामिछानेले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आफू ओझेलमा परेको नभई उच्च राजनीतिक संस्कार देखाएको टिप्पणी गरेका छन्।
बुधबार ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै बमले बालेनको बढ्दो लोकप्रियता देखेर रवि लामिछानेमा डाह जागेको भन्ने हल्लाको खण्डन गरे। बरु, रवि लामिछाने नै बालेनलाई अघि सार्ने मुख्य योजनाकार र संगठनको कमान्डर रहेको उनले दाबी गरे।
बमले पार्टीभित्रको आन्तरिक छलफलबारे बताउँदै रवि लामिछाने पदका लागि मरिहत्ते गर्ने नेता नभएको जिकिर गरे।
उनले भने, ‘रवि दाइले नै डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूलाई कन्भिन्स गर्नुभएको हो। देशलाई निकास दिन र युवाहरूको भावना समेट्न बालेनजी वा कुलमानजी जस्तो व्यक्ति आउँदा म बाधक बन्दिनँ, बरु त्याग गर्न तयार छु भनेर उहाँले नै बाटो खोलिदिनुभएको हो।’
उनले थपे ‘बालेनजी ‘फेस अफ द मुभमेन्ट’ हुनुहुन्छ भने रवि दाइ संगठनको कमान्डर हुनुहुन्छ,’ बमले भने, ‘एउटाले माहोल बनाउने र अर्कोले संगठन चलाउने तालमेल मिलेको छ, यहाँ डाहको गुन्जायस छैन।’
प्रकाशित: १४ माघ २०८२ २०:०४ बुधबार





