२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कुलमान घिसिङले ऐतिहासिक अवसर गुमाए: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व गर्ने ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेका छन्।

बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै बमले रास्वपा सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले प्रधानमन्त्रीको दाबी छोड्न तयार हुँदाहुँदै पनि कुलमान घिसिङले निर्णय लिन नसकेको खुलासा गरेका हुन्।

उनले भने, ‘कुलमान सरले एउटा युगमा आउने अवसर गुमाउनुभयो। त्यो बेला बालेनजी पनि प्रधानमन्त्रीको दौडमा हुनुहुन्न थियो। रवि दाइ र स्वर्णिम दाइ कन्भिन्स भइसकेको अवस्थामा उहाँले निर्णय लिन सक्नुभएन।’

पार्टीभित्र कुलमानलाई ल्याउन आफूले मध्यस्थता गरेको दाबी गर्दै बमले नेतृत्व बाधक नबनेको प्रष्ट पारे। ‘मैले रवि दाइ र स्वर्णिम दाइलाई कन्भिन्स गरेको थिएँ। स्वर्णिम दाइले त म उपाध्यक्ष छोडेर पनि कुलमानजीलाई प्रधानमन्त्री मान्न तयार छु, सार्वजनिक रूपमै बोल्छु भन्नुभएको थियो,’ बमले भने, ‘तर कुलमानजीले अन्तिम समयमा आएर निर्णय लिन सक्नुभएन।’

बमले बालेन शाह र कुलमान घिसिङको कार्यशैलीमा तुलना गर्दै बालेन निर्णायक र कुलमान द्विविधाग्रस्त रहेको टिप्पणी गरे।

‘बालेनजी ‘ब्ल्याक एण्ड ह्वाइट’ हुनुहुन्छ, निर्णय लिइहाल्नुहुन्छ। तर कुलमान सर धेरैको कुरा सुन्नुहुन्छ, धेरै जनासँग सरसल्लाह गर्नुहुन्छ, जसले गर्दा निर्णय प्रक्रिया लम्बियो,’ बमले भने, ‘उहाँसँग जोडिएका केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ र इगोका कारण पनि कुरा बिग्रियो।’

यद्यपि, बमले राजनीतिमा सम्भावनाको ढोका अन्तिम समयसम्म बन्द नहुने भन्दै निर्वाचनको नतिजा नआउँदासम्म कुलमानलगायत स्वतन्त्र अभियानका व्यक्तिहरूसँग सहकार्यको सम्भावना जीवितै रहने बताएका छन्।

प्रकाशित: १४ माघ २०८२ १९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App